10/25/2026, 11:38:52
आइतबार, कार्तिक ०९, २०८३
*** नेपाल प्रिमियर लिग ***

एनपिएलमा विश्वस्तरीय स्टार खेलाडीहरूको आगमन : डेभिड मिलर, आन्द्रे रसेलदेखि डेबिड वार्नरसम्मको सहभागिताले बढ्यो रौनक

आन्तरिक तथा बाह्य फ्रेन्चाइज टिमहरूले चर्चित अन्तर्राष्ट्रिय क्रिकेट स्टारहरूलाई अनुबन्ध गरेपछि यस वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) थप रोमाञ्चक बन्ने भएको छ।


काठमाडौँ, कात्तिक ८ गते । तेस्रो संस्करणसम्म आइपुग्दा नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै उत्कृष्ट फ्रेन्चाइज लिगमध्ये एक बन्न सफल भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को मान्यता प्राप्त यस प्रतियोगितामा प्रत्येक टिमले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ। प्लेइङ ११ मा चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्ने नियमसँगै यसपालि विगतमा भन्दा नाम चलेका र विश्वचर्चित एक से एक विदेशी खेलाडीहरूले एनपिएल खेल्ने निश्चित भएको छ, जसले घरेलु क्रिकेटको प्रतिस्पर्धात्मकता र आकर्षणलाई नयाँ उचाइमा पुर्याएको छ।

विभिन्न फ्रेन्चाइज टोलीहरूले उत्कृष्ट प्रदर्शनका लागि ठूला नामहरूलाई भित्र्याएका छन्। सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याटर सेरफन रदरफोर्डलाई अनुबन्ध गरेको छ भने विराटनगर किङ्ग्सले विश्वकै खतरनाक अलराउन्डर आन्द्रे रसेललाई टिममा सामेल गरेको छ।

त्यस्तै, कर्णाली याक्सले दक्षिण अफ्रिकाका प्रख्यात फिनिसर डेभिड मिलरका साथै पाकिस्तानका कप्तान साहिबजादा फरहान र हुसैन तलातलाई अनुबन्ध गरेको छ। कर्णालीका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार यस्ता ठूला खेलाडीहरूको सहभागिताले नेपाली क्रिकेटको बजार मात्र नभई नेपालको पर्यटन प्रवर्धनमा समेत ठुलो टेवा पुग्नेछ।

पोखरा एभेन्जर्सले साकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दिनजस्ता बङ्गलादेशी स्टारहरूलाई भित्र्याएको छ भने साविक विजेता लुम्बिनी लायन्सले समिम हुसेनलाई समेटेको छ।

यता, काठमाडौँ गोर्खाजले पनि अस्ट्रेलियाका पूर्वकप्तान डेबिड वार्नरलाई अनुबन्ध गरेर आफ्ना समर्थकहरूलाई थप उत्साही बनाएको छ। यी स्टार खेलाडीहरूको आगमनले आगामी एनपिएल रोमाञ्चक हुने र यसले नेपाली युवा खेलाडीहरूलाई उनीहरूको अनुभवबाट सिक्ने ठूलो अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

फ्रेन्चाइज टिम अनुबन्धित प्रमुख विदेशी खेलाडीहरू
सुदूरपश्चिम रोयल्स सेरफन रदरफोर्ड (वेस्ट इन्डिज)
विराटनगर किङ्ग्स आन्द्रे रसेल (वेस्ट इन्डिज)
कर्णाली याक्स डेभिड मिलर (दक्षिण अफ्रिका), साहिबजादा फरहान, हुसैन तलात (पाकिस्तान), मार्क वाट (स्कटल्यान्ड)
पोखरा एभेन्जर्स साकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन (बङ्गलादेश), धनञ्जय लक्षण, चमिका करुणारत्ने (श्रीलङ्का)
लुम्बिनी लायन्स समिम हुसेन (बङ्गलादेश)
काठमाडौँ गोर्खाज डेबिड वार्नर (अस्ट्रेलिया)