10/23/2026, 13:18:28
शुक्रबार, कार्तिक ०७, २०८३

व्यक्तिगत भ्रमणमा कसैले पनि ‘खिचडी नपकाउन’ रवि लामिछानेको अनुरोध

कारागारमा हुँदै नैनीतालस्थित कैँची धाम जाने भाकल गरेको बताउँदै रास्वपा सभापति लामिछाने सपरिवार भारतको धार्मिक तीर्थाटनतर्फ लाग्नुभएको छ।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, कात्तिक ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्ण रूपमा व्यक्तिगत र धार्मिक भएकाले यसलाई राजनीतिक रूपमा नमोड्न आग्रह गर्नुभएको छ।

भारतको तीन दिने भ्रमणका लागि आज बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुग्नुभएका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै व्यक्तिगत भ्रमणमा कसैले पनि ‘खिचडी नपकाउन’ अनुरोध गर्नुभएको हो।

आफू कारागारमा रहँदा नै उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध कैँची धाम जाने भाकल गरेको स्मरण गर्दै उहाँले सोही धार्मिक आस्था र पारिवारिक परम्पराअनुसार यात्रामा निस्किएको प्रष्ट पार्नुभयो। कैंची धाम र कामाख्य मन्दिर नै किन रोज्नुभएको भन्ने प्रश्नमा उहाँले आफ्नो पुरानो भाकल पूरा गर्न मात्रै जान लागेको बताउँदै यसमा कुनै पनि प्रकारको राजनीतिक भेटघाट वा उद्देश्य नरहेको दोहोर्‍याउनुभयो।

धनगढी विमानस्थलमा अवतरणपश्चात् सभापति लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ लाग्नुभएको छ। उहाँ पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत प्रवेश गर्नुहुनेछ। उहाँसँगै यस भ्रमणमा भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल, सांसद दीपक बोहोरा र उहाँकी पत्नी निकितासहितको पारिवारिक टोली सहभागी रहेको छ।

उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रमसहित उहाँ यो तीर्थयात्रामा निस्कनुभएको हो। राजनीतिक व्यस्तताबाट टाढा रहेर गरिएको यो आध्यात्मिक यात्रा पूरा गरेर उहाँ छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

विवरण तथ्य / जानकारी
भ्रमण गर्ने व्यक्ति रवि लामिछाने (सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी)
भ्रमणको प्रकृति व्यक्तिगत, पारिवारिक तथा धार्मिक तीर्थाटन
प्रमुख गन्तव्यहरू

१. कैँची धाम (नैनीताल, उत्तराखण्ड)


२. कामाख्या मन्दिर (गुवाहाटी, आसाम)

प्रवेश नाका गड्डाचौकी, कञ्चनपुर (धनगढी हुँदै)
साथमा रहेका अन्य मन्त्री प्रतिभा रावल, सांसद दीपक बोहोरा र परिवारका सदस्यहरू
मुख्य भनाइ “व्यक्तिगत भ्रमणमा छु, राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु।”