10/26/2026, 13:23:59
सोमबार, कार्तिक १०, २०८३
- सन्दर्भ अन्तर्राष्ट्रिय हिउँचितुवा दिवस -

हिउँचितुवा हामी रहौँला कहाँ हिमालै नरहे ?


– डा. चेतनाथ कणेल

हामी हिमालका बासिन्दाः हाम्रो जीवन, हाम्रो आनीबानी

हामी हिमालमा बस्ने चितुवा अर्थात् हिउँचितुवा । मानिसहरूले हाम्रो नाम राम्रैसँग जुराइदिएका छन् । हामी यो नाममा खुसी छौँ । हामी सामान्य चितुवा होइनौँ, संसारकै अग्ला भूभागमध्येका हिमाली क्षेत्रमा, समुद्र सतहबाट करिब दुई हजार सात सयदेखि पाँच हजार चार सय मिटरसम्मको उचाइमा बस्ने र घुमफिर गर्ने हिमालका सबैभन्दा ठूला र शक्तिशाली प्राणी हौँ । हामीलाई हिमालको कठोर चिसोले खासै सताउँदैन, बरु यही चिसो हाम्रो जीवनको आधार हो । बाक्लो भुत्ला, लामो पुच्छर र चट्टानी पहाडमा सहजै हिँड्न सक्ने हाम्रा बलिया पञ्जा प्रकृतिले हामीलाई दिएका विशेष उपहार हुन् । हाम्रा यी विशेषताले नै हामीलाई हिमालका राजा–रानीको परिचय दिलाएका छन् ।

हाम्रो आहारा पनि हिमाली प्रकृतिसँगै गाँसिएको छ । नाउर, झारल कस्तुरी मृग, हिमाली खरायो, फ्याउ मुसा र विभिन्न साना स्तनधारी जनावर हाम्रा प्रमुख आहार हुन् । हामीले डाँफेजस्ता चराचुरुङ्गी तथा अन्य उपयुक्त सिकार पनि समातेर खान्छौँ । हिउँको नजिकै उम्रिने वनस्पति खाएर बाँच्ने जनावर र त्यस्ता जनावर वा कीरा-फट्याङ्ग्रा खाएर बाँच्ने पक्षीहरू नै हाम्रो आहार–शृङ्खला (फुड चेन) का महत्वपूर्ण हिस्सा हुन् । प्रकृतिको आफ्नै नियम छ, हामी पनि त्यही नियमअनुसार बाँच्छौँ । हामीलाई पर्याप्त प्राकृतिक आहारा उपलब्ध भइरह्यो भने मानिसका गोठतिर झर्नुपर्ने बाध्यता नै पर्दैन । यो कुरा मान्छेहरूले बुझ्नुपर्दछ ।

जब हाम्रा प्राकृतिक आहार घट्छन्, तब के गर्ने ? बाँच्न त हामीलाई पनि पर्छ । कहिलेकाहीँ उच्च पहाडी तथा हिमाली क्षेत्रका किसानले पालेका चौँरी, घोडा, भेडा, कुकुर र बाख्रा हाम्रा सिकार बन्न पुग्छन् । त्यसपछि मानिसहरू अर्थात् किसानहरू हामीसँग रिसाउँछन् । हामीलाई शत्रु ठान्छन् । कतिपयले विष खुवाएर, पासो थापेर वा गोली हानेर मार्छन् । तर हामीले पनि तपाईंहरूलाई एउटा प्रश्न सोध्न मन लागेको छ— हाम्रो प्राकृतिक आहार घटाउने, हाम्रा बासस्थान खुम्च्याउने र हाम्रो जीवनको आधार बिगार्ने काम कसले गरिरहेको छ ? हामीले रोजेर मानिसका गोठमा आक्रमण गरेका हौँ कि परिस्थितिले हामीलाई त्यहाँ पुर्‍याएको हो ?

हामी त चाहन्छौँ, मानिसका चौँरी र भेडा पनि सुरक्षित रहून्, हाम्रा नाउर र हिमाली खरायो पनि सुरक्षित रहून् । मानिसको जीविकोपार्जन र हाम्रो अस्तित्वबीच द्वन्द्व होइन, सहअस्तित्व कायम होस् । तर त्यसका लागि हाम्रा बासस्थानका वनस्पति, वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण हुनुपर्छ । हामीलाई बचाउन हाम्रो जीवनको सम्पूर्ण चक्रलाई बुझ्नुपर्छ । हामीलाई माया गर्छु भनेर फोटो खिचेर मात्र पुग्दैन; हामी बाँच्ने हिमाल र हिमाली पर्यावरणलाई पनि माया गर्नुपर्छ ।

हिमाल तातिँदै छ, हाम्रो भविष्य के होला ?

संसारभरिका बाह्रवटा देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हाम्रो बासस्थान फैलिएको छ । नेपाल पनि ती देशमध्ये एक हो । नेपालको पूर्वी ताप्लेजुङदेखि पश्चिमी दार्चुलासम्मका हिमाली भूभागमा हामी बस्छौँ । ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्लातिर हाम्रो उपस्थिति तुलनात्मक रूपमा बढी रहेको बताइन्छ । नेपाल सरकारले हाम्रो सङ्ख्या करिब चार सय रहेको अनुमान गरेको कुरा हामीले पनि सुनेका छौँ । हामी आफैँलाई गन्न सक्दैनौँ, त्यसैले मानिसहरूले गरेको गणनालाई नै आधार मान्नुपर्छ । तर हाम्रो वास्तविक सङ्ख्या जति भए पनि हाम्रो भविष्यप्रतिको चिन्ता कम छैन ।

हामीलाई सबैभन्दा बढी चिन्ता लागेको विषय हो— हिमालको बढ्दो तापक्रम । मानिसहरूले हामीलाई हिउँचितुवा नाम दिएका छन् । यो नाम हाम्रो परिचय मात्र होइन, हाम्रो जीवनको आधारसँग गाँसिएको छ । हामीलाई अलिकति पनि बढी गर्मी सह्य हुँदैन । हाम्रो बाक्लो भुत्ला चिसो वातावरणमा बाँच्नका लागि अनुकूल भएको हो । हामी न्यानो हावापानीमा बस्ने सामान्य चितुवाजस्ता प्राणी होइनौँ । हिमालको हिउँ पग्लिँदै जाने, हिमरेखा माथि सर्दै जाने र हाम्रा आहारा पाइने क्षेत्र बदलिँदै जाने हो भने हाम्रो बासस्थान कहाँ बाँकी रहला ?

मानिसहरूले पृथ्वीलाई किन दिन–प्रतिदिन तातो बनाइरहेका छन्, हामीले बुझ्न सकेका छैनौँ । जथाभावी रूख काट्ने, वनमा डढेलो लगाउने, जीवाश्म इन्धनको अत्यधिक प्रयोग गर्ने, प्रदूषण बढाउने, प्राकृतिक स्रोतको अविवेकी दोहन गर्ने र वन्यजन्तुको चोरी सिकार गर्ने जस्ता गतिविधिले प्रकृतिको सन्तुलन बिगारिरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पर्ने समय, मात्रा र अवधि बदलिँदै जानु हामीजस्ता चिसो वातावरणमा निर्भर प्राणीका लागि गम्भीर चुनौती हो ।

हिमालको तापक्रम बढ्नु भनेको हिउँ मात्र पग्लिनु होइन । यो त हिमाली पारिस्थितिक प्रणाली नै प्रभावित हुनु हो । हाम्रा आहारा घट्न सक्छन्, पानीका स्रोत र वनस्पतिको स्वरूप बदलिन सक्छन्, अनि हामी बस्ने उपयुक्त भूभाग खुम्चिन सक्छ । कतिपय ठाउँमा हिमपहिरो र अन्य प्राकृतिक विपत्तिको जोखिम बढ्दा हाम्रा साथीहरू पनि प्रभावित भएका हुन सक्छन् । यस्ता घटनाको वास्तविक प्रभाव बुझ्न वैज्ञानिक अध्ययन, नियमित अनुगमन र तथ्यमा आधारित अनुसन्धान आवश्यक छ । हामीलाई कहिलेकाहीँ यस्तो लाग्छ—मानिसहरूले विकासको नाममा हिमालको मुटुमै चोट पुर्‍यारइरहेका त छैनन् ? विकास हामीलाई पनि मन पर्छ, यदि त्यसले प्रकृति र मानव जीवन दुवैलाई सहज बनाउँछ भने । तर विकासका नाममा हिमाल नै कमजोर पार्ने, प्राकृतिक सम्पदा मास्ने र वन्यजन्तुको बासस्थान नष्ट गर्ने हो भने त्यसको लाभ कसलाई हुन्छ ? हिमालमा हिउँ रहेन, वन्यजन्तु रहेनन् र प्राकृतिक सौन्दर्य हरायो भने त्यसबाट मानिसको जीवन र अर्थतन्त्र पनि अछुतो रहन सक्दैन । हामीले भन्दा यो कुरा मानिसले नै बढी बुझेका होलान्, तर मान्छेको बुझाइ र कर्म फरक छ ।

हामी जोड दिएर भन्छौँ, हिमाल हाम्रो घर हो, यही घरमा हिउँ, चट्टान, वनस्पति, वन्यजन्तु र मानिसको जीवन एकअर्कासँग जोडिएको छ । त्यसैले हाम्रो संरक्षणको अर्थ एउटा दुर्लभ जनावर बचाउनु मात्र होइन; हिमाली प्रकृतिको जीवन्त सम्बन्ध जोगाउनु पनि हो ।

हिउँचितुवा दिवस र हाम्रो साझा भविष्य

हरेक वर्ष अक्टोबर २३ तारिखका दिन मनाइने ‘अन्तर्राष्ट्रिय हिउँचितुवा दिवस’ हाम्रा लागि आफ्नो अस्तित्व र भविष्यबारे मानिसहरूलाई सम्झाउने विशेष अवसर हो । यस वर्षको दिवस नेपालीहरूको महान् चाड दशैँको चहलपहलसँगै परेको हुँदा हाम्रो विषयले अपेक्षित चर्चा नपाएको हुन सक्छ । तर प्रकृतिको संरक्षण कुनै एउटा दिनको कार्यक्रम होइन । दिवसको दिन सम्झिने र त्यसपछि बिर्सिने होइन, वर्षभरि नै हाम्रो बासस्थान र जीवनका आधारहरूको संरक्षणमा मानिसहरू जुट्नुपर्छ भन्ने हाम्रो अनुरोध हो ।

हामीलाई थाहा छ, मानिसहरूले हामीलाई हेर्न, हाम्रो फोटो खिच्न र हाम्रो जीवनशैलीबारे जान्न टाढाटाढाबाट हिमालको यात्रा गर्छन् । हामी पनि नेपालका पर्वतीय तथा हिमाली पर्यटनका महत्वपूर्ण प्राकृतिक आकर्षणमध्ये एक हौँ । हामी सुरक्षित रह्यौँ, हाम्रो बासस्थान सुरक्षित रह्यो र हाम्रो उपस्थितिबाट स्थानीय समुदायले लाभ लिन सके भने हिमाली पर्यटनलाई दिगो बनाउन सहयोग पुग्छ । तर हामीलाई देखाउनकै लागि हाम्रो प्राकृतिक जीवनमा अनावश्यक हस्तक्षेप नगर्नु होला । पर्यटकले हामीलाई देख्न पाएनन् भन्दैमा हामीलाई पछ्याउने, बासस्थानमा अनावश्यक प्रवेश गर्ने वा हाम्रो स्वाभाविक व्यवहारमा बाधा पुर्‍याउने काम उचित हुँदैन भनेर बुझिदिनुहोला ।

हाम्रो संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता र निर्णायक भूमिका सबैभन्दा महत्वपूर्ण छ । हिमाली किसानका चौँरी, भेडा र बाख्रा हाम्रा सिकारबाट सुरक्षित रहन सक्ने गोठ व्यवस्थापन, पशुधन बीमा, क्षतिपूर्तिको सहज व्यवस्था र प्राकृतिक आहारको संरक्षणमा तपाईहरूले ध्यान दिनुपर्छ । स्थानीय बासिन्दालाई संरक्षणको भार मात्र बोकाएर हुँदैन; त्यसबाट प्राप्त हुने पर्यटन तथा अन्य लाभमा उनीहरूको न्यायोचित हिस्सा सुनिश्चित पनि गर्नुपर्छ । बुझ्नुहोला, हिमाली क्षेत्रमा बस्ने मानिसको जीवन सहज नबनाई हिउँचितुवाको संरक्षण सफल हुन सक्दैन ।

सरकार, अनुसन्धानकर्ता, संरक्षणकर्मी, सञ्चारमाध्यम, पर्यटन व्यवसायी र स्थानीय समुदाय सबैले मिलेर हाम्रो भविष्यका लागि काम गर्नुपर्छ । हाम्रा बासस्थानको नियमित अध्ययन होस्, हिउँ र तापक्रममा भइरहेका परिवर्तनको अभिलेख राखियोस्, हाम्रा आहार प्रजातिको अवस्था बुझियोस् र संरक्षणका कार्यक्रम तथ्य र प्रमाणमा आधारित बनून् । जलवायु परिवर्तन न्यूनीकरणका लागि वन संरक्षण, स्वच्छ ऊर्जाको प्रयोग, प्रदूषण नियन्त्रण र प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोगलाई प्राथमिकता दिइयोस् । समुदायलाई जागरुक बनाई हिउँचितुवा जोगाउने र हिमाली पर्यटन बढाउने कार्यमा सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, स्नो लेपर्ड कन्जरभेन्सी, टेका समूह नेपाल, हिमाली विकास मञ्च, स्नो लेपर्ड ट्रस्ट, हिमाली जोश आदि संस्थाहरू केही मात्रामा लागिपरेको देखिन्छ, तर यी प्रयास साह्रै कम भएका छन् । सबैले विशेषरूपमा सोच्ने बेला आएको छ । हिउँचितुवासम्बन्धी विशेष पाठ्यक्रम र पाठ्यपुस्तक बनाई विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई हिउँचितुवासम्बन्धी जागरण पैदा गर्ने सघन कार्यमा स्नो लेपर्ड कञ्जरभेन्सी र टेका समूह नेपालको पहल राम्रो छ, तर यो प्रयास केही जिल्लामा मात्र नभएर हिमाली भेगका हरेक जिल्ला र हरेक शिक्षालयमा लागू गर्नुपर्छ भन्ने हाम्रो सिफारिस छ । यस माध्यमबाट समुदायमा पुग्न सहज र थप प्रभावकारी हुने देखिन्छ ।

र, अन्ततिर, हामी हिउँचितुवाहरू एउटा भावनात्मक प्रश्न सोध्न चाहन्छौँ । नेपाली जनजनको मनमा बसेको कविवर माधवप्रसाद घिमिरेको चर्चित गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ को भावबाट प्रेरित भएर हामी पनि भन्न चाहन्छौँ— “हिउँचितुवा हामी रहौँला कहाँ हिमालै नरहे ?”

यो प्रश्न हाम्रो मात्र होइन । हिमालमा आश्रित हरेक वन्यजन्तुको हो, हिमाली समुदायको हो, प्रकृतिलाई माया गर्ने हरेक मानिसको हो । हिमालको हिउँ जोगाउनु भनेको हाम्रो घर जोगाउनु हो; हाम्रो घर जोगाउनु भनेको जैविक विविधता जोगाउनु हो; र जैविक विविधता जोगाउनु भनेको अन्ततः मानव जीवनकै आधार सुरक्षित गर्नु हो ।

आज डा. कणेलमार्फत हामीले आफ्ना कुरा सेतोप्रेसमा राख्ने अवसर पाएका छौँ । अरु सञ्चार माध्यमहरूले पनि हाम्रो आवाजलाई मानिसहरूसम्म पुर्‍याइदिऊन् । हिउँचितुवाको संरक्षण किन आवश्यक छ भन्ने कुरा समाचार, लेख, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत निरन्तर उठाइयोस् । हामीलाई ‘दुर्लभ जनावर’का रूपमा मात्र होइन, हिमाली प्रकृतिको स्वास्थ्यको बलियो सङ्केतका रूपमा पनि बुझियोस् ।

फेरि पनि हामी मानिसहरूसँग त्यही आग्रह गर्न चाहन्छौँ— हाम्रो नाममा गर्व गर्नुअघि हाम्रो बासस्थान जोगाइदिनुहोस् । हाम्रो तस्बिर मन पराउनुअघि हामी बाँच्ने हिमालको भविष्यबारे सोचिदिनुहोस् । विकास गर्नुहोस्, तर प्रकृतिलाई विनाश गरेर होइन; पर्यटन बढाउनुहोस्, तर हाम्रो घर बिगारेर होइन । हिमाल रहे हामी रहन्छौँ, हामी रहे हिमालको प्राकृतिक सौन्दर्य र जीवन्तता अझ समृद्ध रहन्छ । त्यसैले हाम्रो पुकार सुनिदिनुहोस्— “हिउँचितुवा हामी रहौँला कहाँ हिमालै नरहे ?”

(तस्बिर स्रोतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अनिल अधिकारी– टेका समूह नेपाल/समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रम)


– डा. चेतनाथ कणेल
(लेखक डा. कणेल पर्यटनविद् तथा समुदायमा आधारित हिउँचितुवा संरक्षण कार्यक्रमका प्राविधिक सल्लाहकार)
इमेलः chetnathkanel@gmail.com