08/27/2026, 08:45:02
बिहिबार, भदौ ११, २०८३

सर्लाहीका ५ जना गोसाइँकुण्ड जाँदा नुवाकोटबाट सम्पर्कविहीन, परिवारजन चिन्तित


काठमाडौँ, भदौ ११ गते । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बेलुका रसुवाको गोसाइँकुण्ड भ्रमणका लागि निस्किएका एक बालकसहित पाँच जना बिहीबार बिहानसम्म सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा लालबन्दीका व्यवसायी चिरञ्जीवी खतिवडा, शिक्षक कृष्णप्रसाद धमला, द्वारिका डङ्गोल, काठमाडौँ बस्दै आएका माधव काफ्ले र एक बालक रहेका छन्।

परिवारका अनुसार बुधबार बिहान ९ बजे नुवाकोटको बट्टार पुगुन्जेलसम्म उनीहरूसँग कुराकानी भएको थियो। त्यसपछि उनीहरू सबैको मोबाइल फोन ‘स्विच अफ‘ रहेको छ। उनीहरूले खाजा खाएको नुवाकोटको होटल नै बाढीले बगाएको र उनीहरू त्यहाँबाट गोसाइँकुण्डतर्फ अगाडि बढिसकेको खबर प्राप्त भए पनि हालसम्म कुनै थप जानकारी प्राप्त हुन सकेको छैन।

सम्पर्कविहीन भएकाहरूको खोजी र अवस्था पत्ता लगाउन नुवाकोट तथा रसुवा क्षेत्रका स्थानीय र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको छ। यात्रामा निस्किएका आफन्तहरूसँग कुनै सम्पर्क हुन नसक्दा र उनीहरूको स्थिति अज्ञात रहँदा परिवारजनमा रुवाबासी चलेको छ।