काठमाडौँ, कात्तिक १७ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वका विभिन्न तिथि, मिति र भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईका अनुसार आगामी कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत सबैभन्दा उत्तम रहेको छ। राज्य सञ्चालकहरूले तोकिएकै साइतमा टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणका लागि भने मध्याह्न कालमा टीका लगाउन कुनै बाधा नरहेको समितिले स्पष्ट पारेको छ।
यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ। सोही दिन धनत्रयोदशी (धनतेरस) पर्व परेको छ भने कात्तिक २१ गते शनिबार काग तिहार र धन्वन्तरी जयन्ती परेको छ। त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक स्नानसहित कुकुर तिहार रहेको छ। सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता अनुसार कात्तिक २३ गते सोमबार लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। औँशी तिथिमा गरिने स्नान तथा दान भने सोही दिन बिहान गर्नुपर्नेछ।
गाई, गोरु र आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४७ को नयाँ वर्ष भने कात्तिक २४ गते मंगलबार परेको छ। ‘कृत्यवाटिका’ ग्रन्थ र नेवार समुदायका पञ्चाङ्गकारहरू (सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी) ले प्रकाशन गरेका पात्रो अनुसार पनि प्रतिपदा तिथिको सूर्योदय र सायंकाललाई विचार गरी २४ गते नै म्ह पूजा र नेपाल संवत् मनाइनेछ।
शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा कात्तिक २५ गते बुधबार नै मनाइनेछ। शास्त्रीय ग्रन्थमा उल्लेख भएबमोजिम मध्याह्नकालमै टीका लगाउनुपर्ने भएकाले सोही दिन उत्तम साइत दिइएको हो। प्रत्येक वर्ष मनाइने यस यमपञ्चक अवधिभर यमदीपदान गर्ने परम्परा रहेको छ भने काग र कुकुरलाई समेत यमदूतका रूपमा मीठा परिकार खुसीसाथ खुवाउने वैदिक परम्परा रहिआएको छ।
| पर्व / तिथी | मिति (२०८३ साल) | विवरण / विशेष कार्य |
| धनतेरस (धनत्रयोदशी) | कात्तिक २० गते, शुक्रबार | यमपञ्चक आरम्भ |
| काग तिहार | कात्तिक २१ गते, शनिबार | धन्वन्तरी जयन्ती |
| कुकुर तिहार र लक्ष्मीपूजा | कात्तिक २२ गते, आइतबार | नरक स्नान तथा लक्ष्मीपूजा |
| म्ह पूजा र नेपाल संवत् | कात्तिक २४ गते, मङ्गलबार | गाई, गोरु र आत्मपूजा, नयाँ वर्ष ११४७ |
| भाइटीका | कात्तिक २५ गते, बुधबार | उत्तम साइत: बिहान ११ः०७ बजे |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्