11/15/2026, 05:55:35
आइतबार, कार्तिक ३०, २०८३

हेटौँडाबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ : जाँचका क्रममा भाग्न खोजेपछि सशस्त्र प्रहरीद्वारा एक राउन्ड हवाई फायर

सशस्त्र प्रहरी बलको संयुक्त टोलीले हेटौँडा–१, चौकीटोलमा अटो जाँच गर्ने क्रममा हतियारसहित दुई युवालाई नियन्त्रणमा लिएको छ भने उनीहरूमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।


हेटौँडा, कात्तिक २८ गते । सशस्त्र प्रहरी बल, नेपालले मकवानपुरको हेटौँडाबाट पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण मकवानपुर र इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त सुरक्षा टोलीले शनिबार दिउँसो करिब १२:१५ बजे हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलमा नियमित सवारी जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो जाँच गरिरहेको बेला त्यसमा सवार व्यक्तिहरू सुरक्षा जाँच छलेर भाग्न खोजेपछि स्थिति नियन्त्रणमा लिन इन्टेलिजेन्स ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सुरक्षाकर्मीहरूको ततत्परताका कारण उनीहरूलाई पक्राउ गर्न सहज भएको थियो।

खान-तलासीका क्रममा उक्त अटोबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमि-अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने एक थान म्यागजिन र एक राउन्ड जीवित गोली बरामद गरिएको छ। यसरी अवैध हतियारसहित पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।

पक्राउ परेका दुवै जना व्यक्ति, उनीहरूले प्रयोग गरेको अटो तथा बरामद गरिएको हतियार र गोली थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

विवरण तथ्य / जानकारी
घटनास्थल हेटौँडा उपमहानगरपालिका–१, चौकीटोल (मकवानपुर)
पक्राउ पर्नेहरू सुनबहादुर तामाङ (२७ वर्ष) र विश्वराज तामाङ (२२ वर्ष)
बरामद सामग्री ७.६५ एमएम क्यालिबरको सेमिअटोमेटिक पेस्तोल, म्यागजिन र १ राउन्ड गोली
कारबाहीमा संलग्न निकाय सशस्त्र प्रहरी बल नं. १४ गण र इन्टेलिजेन्स ब्युरो
विशेष घटना जाँचका क्रममा भाग्न खोज्दा १ राउन्ड हवाई फायर