भक्तपुर, कात्तिक ३० गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई औपचारिक रूपमा ‘योगमय प्रदेश’ घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिसरमा आयोजित डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले प्रदेशका १३ वटै जिल्लालाई योगमय बनाउन सरकारले विशेष कार्यक्रम र कार्यविधि अघि बढाइरहेको स्पष्ट पार्नुभयो। योग साधनाको विकास र प्रवर्धनका लागि पातञ्जल, पतञ्जली तथा जीवन विज्ञान जस्ता संस्थाहरूसँग सहकार्य गर्न प्रदेश सरकार सदा तत्पर रहेको उहाँको भनाइ थियो।
सार्वजनिक भवन, विद्यालय तथा सामुदायिक हलहरूमा बिहानको समयमा योग साधना सञ्चालन गर्न सहजीकरण गरिँदै आएको जानकारी दिँदै मुख्यमन्त्री थापाले यस वर्ष जनस्वास्थ्य कार्यालयमार्फत योग विकासका लागि बजेट विनियोजन गरिएको बताउनुभयो। सो बजेट विभिन्न योग संस्थातर्फ परिचालन गरिने उहाँको प्रस्टोक्ति थियो।
डोलेश्वर क्षेत्रको भौतिक विकासप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले डोलेश्वर मन्दिरमा निर्माणाधीन धर्मशालाका लागि यस वर्ष बागमती प्रदेश सरकारबाट नौ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको र डीपीआर बन्ने क्रममा रहेको जानकारी दिनुभयो। धर्मशाला निर्माण भएपछि त्यहाँको सभाहलमा स्थायी रूपमा योग साधना गर्न थप सहज हुनेछ।
भक्तपुर जिल्लाबाट प्रदेश सरकारको नेतृत्व गर्दै गर्दा शिक्षा, स्वास्थ्य, पर्यटन र विकास निर्माणका क्षेत्रमा कुनै पनि कन्जुस्याइँ नगरिने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री थापाले धार्मिक पर्यटन प्रवर्धनमा समेत विशेष जोड दिनुभएको छ।
आफू यसअघि स्वास्थ्यमन्त्री हुँदा सिपाडोलबाट पाटी भञ्ज्याङसम्मको सडकका लागि १६ करोड रुपैयाँ र हाल डोलेश्वरबाट आशापुरीसम्म धार्मिक पर्यटन प्रवर्धन गर्न १४ करोड रुपैयाँ विनियोजन गरी ठेक्का प्रक्रियासमेत अगाडि बढाइएको उहाँले स्मरण गराउनुभयो।
प्रदेश सरकारले स्वास्थ्य, संस्कृति र पर्यटनलाई जोड्दै नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउन योग अभियानलाई प्रादेशिक स्तरमै विस्तार गर्ने नीति लिइएको छ।
| विवरण | तथ्य / जानकारी |
| मुख्य वक्ता | किरण थापा मगर (मुख्यमन्त्री, बागमती प्रदेश) |
| कार्यक्रम | डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव |
| स्थान | सिपाडोल, भक्तपुर |
| मुख्य घोषणा | बागमती प्रदेशलाई ‘योगमय प्रदेश’ घोषणा गर्ने तयारी |
| बजेट व्यवस्था | धर्मशाला निर्माणका लागि रु. ९ करोड र पर्यटन पूर्वाधारका लागि रु. १४ करोड |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













प्रतिक्रिया दिनुहोस्