11/16/2026, 15:33:06
सोमबार, मङि्सर ०१, २०८३
नेपालको जेठो बैंक ‘नेपाल बैंक लिमिटेड’ को ८९औँ वार्षिकोत्सव सन्दर्भ

पर्यटन क्षेत्रमा बैंकहरूको लगानी, नबनोस् ‘बालुवामा पानी’


– डा. चेतनाथ कणेल

नेपालको पर्यटनको इतिहास त्यति धेरै लामो छैन । तर पनि यही छोटो इतिहासले समेत अपार सम्भावना, उपलब्धि र अधुरा अपेक्षाहरूको अथाह कथा बोकेको छ । सन् १९५० मा अन्नपूर्ण क्षेत्रमा भएको पदयात्रा अभियानदेखि सन् १९५३ मा सगरमाथाको सफल आरोहणसम्म आइपुग्दा नेपालले विश्व पर्यटनको नक्सामा विशिष्ट पहिचान बनायो । विश्वशान्तिका ज्योति महामानव गौतम बुद्धको जन्म नेपालमा नै हुनुले पनि नेपालको पर्यटकीय महत्ता र छवि विश्वमा नै फरक खालको र अपार छ, अवर्णनीय छ । विश्वशिखरमय हिमालहरू, अद्वितीय प्राकृतिक सौन्दर्य, अकल्पनीय जैविक विविधता, अपार सांस्कृतिक सम्पदा र अटूट आध्यात्मिक परम्पराहरूले नेपाललाई असाधारण पर्यटकीय गन्तव्य बनाएकोमा शंका छैन, तर यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले पर्यटनलाई राष्ट्रिय समृद्धिको बलियो आधार बनाउन भने सकेका छैनौँ ।

सन् २०२५ को अन्त्यसम्मको उपलब्धिलाई हेरौँ । नेपालमा ११ लाख ५८ हजार विदेशी पर्यटक आएका थिए । यो सन् २०१९ मा आएको ११ लाख ९७ हजार पर्यटकको संख्याभन्दा अझै कम हो । महामारीबाट पुनरुत्थान हुँदै पर्यटक आगमन बढ्नु सकारात्मक भए पनि हाम्रो लक्ष्य र सम्भावनाका तुलनामा यो उपलब्धि पर्याप्त छैन । पर्यटकीय पूर्वाधारको अभाव, हवाई तथा स्थल सम्पर्कका सीमितता, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्द्धनको कमी र गन्तव्यको अपर्याप्त व्यवस्थापनले अपेक्षित प्रगति रोकिइरहेका छन्। त्यसो त पर्यटकको संख्या बढाउनु मात्र पर्याप्त छैन, उनीहरूको बसाइ अवधि, खर्च र स्थानीय अर्थतन्त्रमा योगदान पनि बढाउनुपर्छ । यी सबै कुरामा नेपालले अझ धेरै मेहनत गर्नुपर्ने देखिन्छ । नत्र आउँदो दश वर्षमा नेपालमा आउने पर्यटकको संख्या ३५ लाख कसरी पुर्‍याउने, प्रति पर्यटक प्रतिदिन खर्च १०० डलर कसरी पुर्‍याउने, र औसतमा हरेक पर्यटकको बसाइँ अवधि १५ दिनभन्दा माथि कसरी पुर्‍याउने ?

पर्यटनमा गर्नुपर्ने धेरै प्रयासहरूमध्ये यस क्षेत्रमा बैंकहरूको लगानी र कर्जाको प्रश्न महत्वपूर्ण हुन्छ । होटल र रिसोर्टदेखि होमस्टे, पदयात्रा, साहसिक पर्यटन, स्थानीय उत्पादन, डिजिटल सेवा र हरित पूर्वाधारसम्म पर्याप्त वित्तीय स्रोत परिचालन नभएसम्म सम्भावनालाई वास्तविक पर्यटकीय उद्यम वा उद्योगमा रूपान्तरण गर्न कठिन हुन्छ । पर्यटनमा लगानी भनेको भवन र कोठा निर्माणमा पैसा खर्च गर्नु मात्र होइन, पर्यटक पुग्ने बाटो, भरपर्दो यातायात, सुरक्षित पदमार्ग, उद्धार सेवा, स्वच्छ खानेपानी, सरसफाइ, इन्टरनेट, स्थानीय उत्पादनको बजारीकरण र दक्ष जनशक्ति निर्माणमा लगानी गर्नु पनि पर्यटन विकासकै अभिन्न अङ्ग हुन् । यसमा सबै बैंकहरूको दिव्य दृष्टि पुग्नु जरुरी छ ।

तर लगानीको मात्रा बढाउनु मात्र सफलताको मापदण्ड होइन । बजारको वास्तविक माग नबुझी निर्माण गरिएका होटल, सम्भाव्यता अध्ययनबिनाका परियोजना, कमजोर व्यवस्थापन र अत्यधिक ऋणभारले उद्यमलाई संकटमा पार्न सक्छन्। पर्यटकको मौसमी (सिजनल) आगमनका कारण आम्दानी घट्ने समयमा पनि नियमित किस्ता तिर्नुपर्ने व्यवस्थाले व्यवसायीलाई थप दबाब दिन सक्छ । बजार, पूर्वाधार र व्यावसायिक योजनाको सुनिश्चितता बिना कर्जा प्रवाह गर्ने हो भने त्यो ‘बालुवामा पानी’ खन्याएसरह हुन्छ । बैंकले कर्जा दिनुअघि परियोजनाको सम्भाव्यता, वातावरणीय प्रभाव, बजार पहुँच, नगद प्रवाह र स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावको समग्र मूल्याङ्कन गर्नैपर्छ ।

हो, हामी नेपालको भविष्य पर्यटनमा, कृषिमा वा जलस्रोतमा छ भनेर दाबी गर्छौँ । तर सम्भावनालाई यथार्थमा बदल्ने संस्थागत तयारी, लगानी र सहकार्यमा बारम्बार चुकिरहेका छौँ । अब बैंकहरू ऋणदाता मात्र होइन, पर्यटन उद्यमका असल साझेदार नै बन्नुपर्छ । सरकारले नीतिगत स्थिरता, पूर्वाधार र स्पष्ट कार्यविधि सुनिश्चित गर्नुपर्छ । साथै, निजी क्षेत्रले व्यावसायिक दक्षता, गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्छ । बैंकहरूले उपयुक्त कर्जा, मौसमी आम्दानी अनुकूल किस्ता, हरित वित्त र जोखिम साझेदारीका नवीन उपायहरू पनि अपनाउनुपर्छ । साना उद्यमी, महिला, युवा र ग्रामीण समुदायलाई पनि बैंकिङ्ग वित्तीय पहुँचबाट वञ्चित गरिनु हुँदैन ।

यस आलेखले विश्व अनुभव र नेपालका अभ्यासका आधारमा पर्यटन विकासमा बैंकिङ लगानीका बहु-आयामिक पक्ष, सम्भावना, चुनौती र समाधानका उपायको खोजी गर्ने प्रयास गरेको छ । मूल प्रश्न कति कर्जा बाँडियो भन्ने मात्र होइन, त्यसले कति दिगो उद्यम, मर्यादित रोजगारी, स्थानीय लाभ र राष्ट्रिय समृद्धि सिर्जना गर्‍यो भन्ने हो । पर्यटनमा बैंकको लगानी सफल हुन त्यसको प्रतिफल बैंकको वार्षिक वासलातमा मात्र होइन, समुदायको जीवनस्तरमा पनि देखिनुपर्छ भन्ने यस पंक्तिकारको अनुभव र आग्रह हो ।

पर्यटन विकासमा बैंकहरूले लगानी गर्न सक्ने १२ प्रमुख क्षेत्रहरू

१. होटल, रिसोर्ट तथा आवास सेवाः ठूला होटल, बुटिक होटल, रिसोर्ट, लज, होमस्टे र सामुदायिक आवास निर्माण तथा स्तरोन्नतिका लागि दीर्घकालीन कर्जा ।
२. पदयात्रा, पर्वतारोहण तथा साहसिक पर्यटनः पदमार्ग, ट्रेकिङ लज, पर्वतारोहण सेवा, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, माउन्टेन बाइकिङ तथा आवश्यक उपकरणमा लगानी ।
३. पर्यटकीय पूर्वाधार तथा यातायातः पर्यटकीय सडक, गन्तव्यसम्मको पहुँच, विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन, केबलकार, सूचना केन्द्र, दृश्यावलोकन स्थल र पार्किङ सुविधामा वित्तीय सहयोग ।
४. प्रकृति, वन्यजन्तु तथा पर्यावरणीय पर्यटनः राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्र तथा वरिपरिका मध्यवर्ती क्षेत्रहरू, सामुदायिक वन, जैविक विविधता, पक्षी अवलोकन, प्रकृति पदयात्रा र संरक्षणमा आधारित पर्यापर्यटन तथा हरित उद्यमलाई प्राथमिकता ।
५. धार्मिक, सांस्कृतिक तथा सम्पदा पर्यटनः मठमन्दिर, गुम्बा, तीर्थस्थल, ऐतिहासिक सम्पदा, सांस्कृतिक कार्यक्रम, स्थानीय कला र परम्पराको संरक्षण तथा पर्यटकीय उपयोगमा लगानी ।
६. कृषि, खाद्य तथा स्थानीय उत्पादनमा आधारित पर्यटनः कृषि फार्म, चिया–कफी बगान, स्थानीय परिकार, रेस्टुरेन्ट, हस्तकला, स्मृति सामग्री (सोभिनियर आइटम्स) र स्थानीय उत्पादनको आपूर्ति शृङ्खला (सप्लाई चेन, भ्याल्यु चेन) मा कर्जा ।
७. स्वास्थ्य, कल्याण तथा विशेष रुचिका पर्यटनः आयुर्वेद, योग, ध्यान, स्वास्थ्य (वेलनेस टुरिजम) तथा कल्याण सेवा, चरा अवलोकन, फोटोग्राफी, अनुसन्धान र विशेष रुचिमा आधारित पर्यटन व्यवसायलाई वित्तीय सहयोग ।
८. व्यावसायिक सेवा, प्रविधि तथा डिजिटल पर्यटनः ट्राभल एजेन्सी, टुर अपरेटर, पथ-प्रदर्शक सेवा, अनलाइन बुकिङ, डिजिटल भुक्तानी, पर्यटन सूचना प्रणाली र प्रविधि (टुरिजम डिजिटल वर्ल्ड) मा आधारित नयाँ उद्यममा लगानी ।
९. सम्मेलन, कार्यक्रम तथा मनोरञ्जन (माइस) पर्यटनः सम्मेलन केन्द्र, प्रदर्शनी, व्यावसायिक बैठक, सांस्कृतिक उत्सव, विवाह समारोह र अन्य कार्यक्रम आयोजना गर्न आवश्यक पूर्वाधार तथा सेवामा कर्जा ।
१०. सीप, सुरक्षा तथा गुणस्तरीय सेवा: पर्यटनसम्बन्धी तालिम, आतिथ्य व्यवस्थापन, भाषा शिक्षण, उद्धार तथा प्राथमिक उपचार, सुरक्षा उपकरण र पर्यटन व्यवसायको गुणस्तर अभिवृद्धि आदिमा लगानी ।
११. हरित तथा जलवायुमैत्री पर्यटनः सौर्य ऊर्जा, ऊर्जा दक्षता, फोहोर व्यवस्थापन, पुनःप्रयोग, स्वच्छ खानेपानी, सरसफाइ, ढल व्यवस्थापन र जलवायु जोखिम सहन सक्ने तथा उत्थानशीलमुखी पूर्वाधारका लागि हरित–अर्थतन्त्र (ग्रीन इकोनोमी) अभिमुखित कर्जा ।
१२. समावेशी उद्यमशीलता तथा नवीन वित्तीय सेवाः महिला, नवयुवा, ग्रामीण समुदाय र सीमान्तकृत समूहका पर्यटन उद्यमलाई लक्षित कर्जाः धितोको विकल्पमा परियोजनाको सम्भाव्यता तथा नगद–प्रवाहमा आधारित ऋण, कर्जा प्रत्याभूति, उपकरण भाडा वित्त, कार्यशील पुँजी र आवश्यकता अनुसार सह–लगानी ।

लगानी कार्यान्वयनको मूल मन्त्र

माथि हामीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न सकिने १२ मुख्य क्षेत्रको छोटो चर्चा गरियो । थप छलफल गरियो भने यो सूची अझ बढ्न पनि सक्छ । विभिन्न बैंकका आआफ्नै अनुभव पनि छन् । विगतका अनुभव र आगतका सुनियोजित सोचले नै अघि बढ्ने नयाँ मार्गप्रशस्त हुनेछन् । किनकि लगानीका नयाँ अवसर र नवप्रवर्तनका सोच दैनिकजसो जन्मने गर्छन् ।

तर पनि तिनको रणनीतिक कार्यान्वयन र प्रभावमूलक प्रतिबद्धता महत्वपूर्ण पक्ष हुन् । अझ मूलरूपमा सम्झनुपर्ने कुराहरू के के हुन् भने, लगानीका सम्भाव्य क्षेत्रको सूचीलाई सूचीमा मात्र सीमित नराखी प्रत्येक क्षेत्रका लागि सम्भाव्यता अध्ययन, बजार विश्लेषण, वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन, उपयुक्त कर्जा अवधि र नियमित अनुगमनको व्यवस्था गर्नुपर्छ । फेरि पनि जोड दिऔँ, बैंकको सफलता कति कर्जा प्रवाह भयो भन्नेमा मात्र होइन, त्यसबाट कति दिगो व्यवसाय, रोजगारी र स्थानीय आर्थिक लाभ सिर्जना भयो भन्नेमा मापन गरिनुपर्छ ।

विश्व अनुभवका केही दृष्टान्त

हरेक देशका हरेक बैंक सजग हुने गर्छन् कि उद्योग व्यवसाय वा पर्यटनमा गरिएको लगानी ‘बालुवामा पानी’ नबनोस् । धितो उठाएर कर्जा उठाउने वातावरण र परिस्थिति कहीँ पनि नआओस् । ऋणी वा उद्यमीको नाम बारम्बार पत्रपत्रिकामा छाप्न पनि नपरोस् । विश्व अनुभवको मूल सन्देश यो छ कि पर्यटन वित्त (टुरिजम फाइनान्सिङ्ग) मा ऋण मात्र होइन, साझेदारी र नवप्रवर्तन मूल साँचो र मूल आधार बनिरहनुपर्छ ।

अर्थात्, पर्यटन उद्यम विकासमा बैंकिङ क्षेत्रको भूमिका कर्जा प्रवाह गर्नेमा मात्र सीमित हुनुहुँदैन । लगानीको जोखिम घटाउने, उद्यमको सम्भाव्यता बढाउने र स्थानीय अर्थतन्त्रसँग वित्तीय स्रोत जोड्ने साझेदारका रूपमा बैंकहरू अघि आउनुपर्छ । भारतमा सूक्ष्म, साना तथा मझौला उद्यमलाई धितोको अभावका कारण कर्जाबाट वञ्चित हुन नदिन ‘क्रेडिट ग्यारेन्टी फन्ड ट्रष्ट’ को व्यवस्था भएको एउटा राम्रो उदाहरण हो । यसले साना र नवसिकारु उद्यमीहरूलाई कर्जा प्रत्याभूति मिल्दछ र व्यवसायमा तुरुन्त हतोत्साही हुने प्रवृत्तिबाट बचाउँछ । यसबाट होटल, ट्राभल एजेन्सी, होमस्टे तथा अन्य साना पर्यटन व्यवसायलाई ठूलो आधार मिल्दछ ।

त्यस्तै, बेलायतमा ‘बृटिश बिजनेस बैंक’ मार्फत् सञ्चालन गरिएका कर्जा प्रत्याभूति योजनाले योग्य साना तथा मझौला व्यवसायलाई बैंकको कर्जा उपलब्ध गराउन ऋणदाताको जोखिमको केही हिस्सा बाँड्ने व्यवस्था गरेका छन्। यस्तो उपाय नेपालमा पनि पर्यटन उद्यमको व्यावसायिक सम्भाव्यता राम्रो भए तापनि पर्याप्त धितो नभएका उद्यमीका लागि उपयोगी हुन सक्छ ।

अर्को उदाहरण लिऊँ, फ्रान्समा ‘बीपीआई फ्रान्स’ जस्ता सार्वजनिक वित्तीय संस्थाले उद्यमको विकास, लगानी र नवप्रवर्तनलाई सहयोग गर्ने वित्तीय संयन्त्र परिचालन गर्छन्। यसबाट पर्यटन व्यवसायलाई छोटो अवधिको कर्जामा मात्र निर्भर नराखी होटल स्तरोन्नति, नयाँ पर्यटकीय सेवा, ऊर्जा दक्षता र गुणस्तर अभिवृद्धिका लागि आवश्यकताअनुसार दीर्घकालीन वित्त उपलब्ध गराउन सकिने शिक्षा लिन सकिन्छ । त्यसैगरी, भियतनाममा साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार र ‘हरित वित्त’ लाई प्रोत्साहन गर्ने प्रयासले पर्यटनसहितका क्षेत्रमा दिगो लगानीको सम्भावना देखाउँछन्। भियतनामले पर्यटन क्षेत्रमा गरेको विकास नेपालका लागि लोभ लाग्दो छ । यो पंक्तिकार भियतनाममा नै बसेर त्यो कुराको प्रत्यक्ष अनुभव गर्ने मौका पाएको थियो ।

अन्त्यमा,
नेपालले पनि ऊर्जा बचत गर्ने होटल, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन र जलवायुमैत्री पर्यटकीय पूर्वाधारमा सहुलियतपूर्ण हरित कर्जा विस्तार गर्न सक्छ । अबको समय हरित अर्थतन्त्र र हरित पर्यटनको समय हो । फेरि एक उदाहरण लिऊँ, कोस्टारिकाको प्रकृति तथा सामुदायिक पर्यटनको अनुभवले स्थानीय समुदाय, जैविक विविधता संरक्षण र पर्यटन उद्यमबीचको सम्बन्धलाई महत्व दिन सिकाउँछ । त्यहाँको अभ्यासबाट प्रेरणा लिँदै नेपालका सामुदायिक वन, ग्रामीण बस्ती, संरक्षित क्षेत्र वरपरका समुदाय र स्थानीय उत्पादनमा आधारित पर्यटन व्यवसायलाई बैंकिङ सेवासँग जोड्न सकिन्छ ।

माथि उल्लिखित देशका अनुभवको मूल सन्देश एउटै छ— पर्यटनमा वित्तीय सफलता सुनिश्चित गर्न कर्जा मात्र पर्याप्त हुँदैन, त्यससँग उद्यमशीलता विकास, बजार पहुँच, प्राविधिक परामर्श, जोखिम साझेदारी र प्रभावकारी अनुगमन पनि जोडिनुपर्छ । नेपालका बैंकहरूले सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी र विकास साझेदारसँग सहकार्य गर्दै यस्तो समन्वित र एकीकृत वित्तीय प्रणाली विकास गर्न सके पर्यटनमा गरिएको लगानी दिगो रोजगारी, स्थानीय आय र राष्ट्रिय समृद्धिको आधार बन्न सक्छ भन्ने कुरामा ढुक्क बन्न सकिन्छ । नेपाल राष्ट्र बैंक र नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरू यस्ता मामिलामा थप जागरुक र प्रतिबद्ध बनून् ।

भवतु सर्वमङ्गलम् !


– डा. चेतनाथ कणेल
(लेखक डा. कणेल पर्यटनविद् र हाल राष्ट्रिय विकास केन्द्रका अध्यक्ष)
सम्पर्क इमेलः chetnathkanel@gmail.com