11/06/2026, 22:27:59
शुक्रबार, कार्तिक २१, २०८३

तिहारको ‘बहारशास्त्र’ र पर्यटकीय अर्थशास्त्र


डा. चेतनाथ कणेल

नेपालमा तिहार भन्नासाथ झिलिमिली बत्ती, फूलमाला, देउसीभैलो, भाइटीका र पारिवारिक जमघटको सम्झना आउँछ । नेपालीहरूको दोस्रो ठूलो चाडका रूपमा मानिने तिहार धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइन, सामाजिक सम्बन्धको नवीकरण, बजारको चहलपहल, उपभोगको वृद्धि र आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनको विशेष अवसर पनि हो ।
दशैँ र तिहारबीचको करिब बाइस दिनको अन्तरालले नेपाली समाजमा एउटा बेग्लै उत्साह र उमङ्ग थपिरहेको हुन्छ । यही उत्साह, उमङ्ग र चहलपहललाई म नेपाली समाजको एउटा विशिष्ट ‘बहारशास्त्र’ भन्न रुचाउँछु । यसभित्र समाजशास्त्र, बजारशास्त्र र अर्थशास्त्रका अनेक आयामहरू एकैसाथ चलायमान हुन्छन्, त्रियाशील हुन्छन् र ‘क्लाइमेक्स’ अर्थात् उत्कर्षमा पनि पुग्छन् ।

शारदीय बहारशास्त्र : मौसम, यात्रा र पारिवारिक पुनर्मिलन

हामीलाई थाहा छ, दशैँ कहिलेकाहीँ झरीकै बीचमा पर्छ । कतिपय ठाउँमा हिले बाटो, अवरुद्ध सडक र यातायातको असहजता झेल्नुपर्ने हुन्छ । तर तिहार आइपुग्दा वर्षा प्रायः रोकिइसकेको हुन्छ । बाटो राम्ररी बसिसकेको हुन्छ, धुलो र हिलोको समस्या हुँदैन, नदी तथा खोलाहरू क्रमशः सफा, सङ्ला र नीला देखिन थालेका हुन्छन् । मौसम पनि न धेरै गर्मी, न धेरै जाडो । आकाश खुलेको, पहाड हरियालीबाट क्रमशः शरद ऋतुको सुनौलोपनतिर प्रवेश गरेको र हिमालका दृश्य पनि अत्यन्त आकर्षक देखिने समय हुन्छ । त्यसैले दशैँभन्दा तिहार वरिपरिको मौसम नेपाल घुमफिरका दृष्टिले अझ अनुकूल मानिन्छ ।

अक्टोबर र नोभेम्बर अर्थात् कार्तिक र मंसिर महिना नेपालको पर्यटनका लागि सर्वोत्तम महिनामध्ये पर्छन् । विभिन्न तथ्याङ्कहरूले देखाउँछन्, आन्तरिक तथा बाह्य पर्यटकको आवागमन यसै समयमा सबैभन्दा बढी हुन्छ । दशैँमा घर फर्किनेहरूको चापले सार्वजनिक यातायातमा असाधारण र अनपेक्षित भीड हुने गरे पनि तिहारसम्म आइपुग्दा त्यो चाप धेरै हदसम्म घटिसकेको हुन्छ । दशैँपछि घर गएकाहरू तिहार र कतिपय अवस्थामा छठसम्मै घरमा बस्ने भएकाले पनि राजधानी तथा अन्य सहरी क्षेत्रका सडक र सार्वजनिक यातायातमा तुलनात्मक रूपमा सहजता देखिन्छ । विद्यालय तथा क्याम्पसहरू पनि कतिपय ठाउँमा बन्द रहने भएकाले सडकको चाप घट्न थप सहयोग पुग्छ । विद्यार्थी र शिक्षकहरूका लागि त दशैँदेखि तिहार र छठसम्मै लामो बिदा भइदिए हुन्थ्यो भन्ने चाहना पनि कम रोचक छैन !

यही समयमा देशभित्रका मानिसहरू अत्यधिक घुमफिरमा निस्कन्छन् भने विदेशबाट आउने पर्यटकको सङ्ख्या पनि बढ्छ । अझ नेपाली चाडपर्वलाई नजिकबाट अनुभव गर्न चाहने सांस्कृतिक पर्यटकका लागि त यो समय विशेष आकर्षणको हुन्छ । दशैँ, तिहार, छठ, म्हपूजा, नेपाल संवत्, देउसीभैलो, भाइटीका र विभिन्न जातीय तथा सांस्कृतिक उत्सवहरू विदेशी पर्यटकका लागि पनि नौलो आनन्द, भिन्न अध्ययन र विशिष्ट अनुभवका विषय बन्छन् ।

रोचक पक्ष यो छ कि, नेपाल पर्यटन बोर्डले समेत विभिन्न चाडपर्व, उत्सव र महोत्सव समेटेर हरेक वर्ष ‘फेस्टिवल क्यालेन्डर’ प्रकाशन गर्ने गरेको छ । यसले नेपाललाई हिमाल, पहाड र प्राकृतिक सौन्दर्यको अनुपम गन्तव्यका रूपमा मात्र होइन, जीवित संस्कृति र उत्सवहरूको अद्वितीय देशका रूपमा पनि चिनाउन मद्दत गर्छ ।

विदेशमा बसोबास गरिरहेका गैरआवासीय नेपाली (एनआरएन) हरूका लागि पनि दशैँ–तिहारमा स्वदेश फर्किनु एउटा विशेष चाहना र आवश्यकता हुन्छ । कतिपयले ‘यस वर्ष आउन नसके पनि अर्को वर्षको दशैँ–तिहारमा अवश्य आउने’ प्रतिबद्धता जनाइरहेका हुन्छन् । यस अर्थमा शारदीय पर्वहरू नेपाली परिवारको पुनर्मिलनका लागि बलियो समाजशास्त्र बनेका छन् । चाडपर्वले नाता सम्बन्ध, पारिवारिक आत्मीयता, पुस्तान्तरण र सामाजिक एकतालाई पुनर्जीवित गर्छन् । यही पुनर्मिलनले यात्रा जन्माउँछ र यात्राले अर्थतन्त्रलाई बहुआयामिक हिसाबले चलायमान बनाउँछ ।

दशैँ–तिहारको बजारशास्त्र : व्यापारीका लागि बहारको समय

दशैँ, तिहार र छठ नेपाली व्यापारीका लागि वर्षकै महत्वपूर्ण व्यापारिक मौसम हुन् । कतिपय व्यापारीले त यही तीन–चार महिनाको व्यापारबाट वर्षभरिका लागि आम्दानीको ठूलो हिस्सा जुटाउने गर्छन् । केहीले त दशैँ–तिहारलाई लक्षित गरेर तीन–चार महिनाका लागि मात्र टहरा, घर वा सटर भाडामा लिएर ‘मौसमी पसल’ सञ्चालन गर्ने गरेको पनि पाइन्छ । अर्थशास्त्रीय दृष्टिले यो मौसमी बजार विस्तार र अस्थायी उद्यमशीलताको एउटा रोचक उदाहरण हो ।

तिहारको समयमा फूलमाला, भाइमसला, फलफूल, मिठाई, खाद्यवस्तु, नयाँ लुगा, जुत्ता–चप्पल, उपहारका सामग्री, सुनचाँदी तथा गरगहनाको व्यापार फस्टाउँछ । घर र बजार सजाउने झिलिमिली बत्ती, विद्युतीय सामग्री र सजावटका वस्तुको माग पनि अत्यधिक बढ्छ । पटाका तथा आतसबाजीको अवैध व्यापारसमेत लुकिछिपी हुने गरेको छ, जसलाई नियन्त्रण गर्नु आवश्यक छ । देउसीभैलो, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न खेल तथा पारिवारिक जमघटले पनि स्थानीय बजारमा थप आर्थिक गतिविधि सिर्जना गरिरहेका हुन्छन् ।

अर्कोतर्फ, यातायातका टिकट, सवारीसाधन रिजर्भ, होटल, लज, होमस्टे, रिसोर्ट, रेस्टुरेन्ट, पदयात्रा र घुमफिरसँग सम्बन्धित सेवाहरूको माग तीब्ररूपमा बढ्छ । पर्यटन व्यवसायीका लागि यो राम्रो आम्दानी गर्ने समय हो । यसरी एउटा सांस्कृतिक पर्वले कृषि उत्पादनदेखि यातायात, खुद्रा व्यापार, पर्यटन र मनोरञ्जन उद्योगसम्म आर्थिक गतिविधिको उछाल, श्रृङ्खला, सञ्जाल र उत्साह विस्तार गर्छ ।

फलतः यही समयमा व्यापारीहरूको अनुहारमा छुट्टै ‘चमक–धमक’ देखिन्छ । दशैँ–तिहारको व्यापार राम्रो भयो भने छ महिनालाई पुग्ने आम्दानी जुट्छ भन्ने व्यापारी पनि प्रशस्तै भेटिन्छन् । यसलाई नेपाली बजारको ‘शारदीय बहार’ भन्नु पक्कै अतिशयोक्ति हुँदैन ।

चाडपर्वीय अर्थशास्त्र : आम्दानी, बचत र ‘रेमिट्यान्स’ को परिचालन

दशैँ–तिहारको खर्च व्यवस्थापन नेपाली परिवारका लागि सानो विषय होइन । त्यसैले वर्षको सुरुदेखि नै धेरै परिवारले चाडपर्वका लागि रकम जोहो गर्ने गर्छन् । कर्मचारीहरूले पाउने अतिरिक्त ‘चाडपर्व भत्ता’ यसैको एउटा संस्थागत व्यवस्था हो । ‘आयो दशैँ रिन बोकाई, गयो दशैँ ढोल बजाई’ भन्ने उखानले चाडपर्वको अतिरिक्त आर्थिक भार र त्यसलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता दुवैलाई प्रतिबिम्बित गर्छ । अतिरिक्त भत्ता, बोनस, वा यस्तै थप ‘इन्सेन्टिभ’ नपाउने किसान परिवारले पनि आफ्नै उत्पादन र पशुपालनबाट जसोतसो चाडपर्वको खर्च जुटाउने गरेका छन् । दशैँ–तिहारका लागि खसी–बोका, च्याङ्ग्रा, राँगा/पाडा, कुखुरा, हाँस र माछा पाल्ने र बिक्री गर्ने, घिउ लगायतका दुग्धजन्य पदार्थहरू थप उत्पादन गरी बिक्री गर्ने चलन पनि धेरै ठाउँमा पाइन्छ ।

मेरो प्रत्यक्ष अनुभव छ, पूर्वी पहाडका किसानहरूले नयाँ अलैँची तथा रुद्राक्ष बेचेर, तराईका किसानले नयाँ धान बिक्री गरेर, कर्णालीका कतिपय परिवारले यार्सागुम्बाबाट प्राप्त आम्दानी जोगाएर चाडपर्वको खर्च जुटाउँछन् । अन्य परिवारले तलब, बचत, अतिरिक्त आम्दानी र विदेशमा रहेका आफन्तले पठाएको वा लिएर आएको विप्रेषण (रेमिट्यान्स) बाट आफ्नो पारिवारिक अर्थव्यवस्था सञ्चालन गर्छन् ।

यसरी हेर्दा नेपाली चाडपर्वको अर्थशास्त्रमा कृषि, पशुपालन, व्यापार, रोजगारी, विप्रेषण र पारिवारिक बचतको विशिष्ट अन्तरसम्बन्ध देखिन्छ । मध्यम तथा उच्च आय भएका परिवारमा चाडपर्वको उपभोग र किनमेलको मात्रा उल्लेख्य हुने गर्छ । तर विपन्न परिवारका लागि भने चाडपर्वको खुसीसँगै खर्चको चाप पनि थपिन सक्छ । माथि भनेझैँ, कतिपय परिवार सकी नसकी ऋण लिएर चाडपर्व मनाउन बाध्य हुन्छन् । त्यसैले ‘बहारशास्त्र’ सबै परिवारका लागि समान रूपमा बहारमय नै हुन्छ भन्ने छैन । यथार्थ हो, चाडपर्वको वास्तविक खुसी ऋणको बोझमा नडुबोस् भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

पर्यटकीय अर्थशास्त्र : संस्कृतिबाट समृद्धितर्फ

तिहारको ‘बहारशास्त्र’ लाई पर्यटकीय अर्थशास्त्रसँग जोडेर हेर्दा यसको महत्व अझ व्यापक देखिन्छ । नेपालमा पर्यटन भन्नासाथ सामान्यतया हिमाल आरोहण, पदयात्रा र प्राकृतिक दृश्यलाई मात्र सम्झिने गरिन्छ । तर नेपाली चाडपर्व, संस्कार, संस्कृति, खानपान, भेषभूषा, लोकसङ्गीत, पारिवारिक सम्बन्ध र सामुदायिक उत्सव पनि उत्तिकै महत्वपूर्ण पर्यटकीय सम्पदा हुन् ।

PHOTO CREDITS: NEPALVUE.COM
PHOTO CREDITS: NEPALVUE.COM

विदेशी पर्यटकहरू कतिपय अवस्थामा दशैँ, तिहार र छठ जस्ता पर्वकै अवसर पारेर नेपाल आउन रुचाउँछन् । उनीहरूका लागि देउसीभैलो, फूलमाला, भाइटीका, म्हपूजा, नेवारी संस्कृति, मधेस/तराईको छठ पर्व र विभिन्न समुदायका मौलिक उत्सवहरू जीवन्त सांस्कृतिक अनुभव हुन् ।

अझ सन् २०२४ देखि वर्षेनि कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो भव्य क्रिकेट खेल प्रतियोगगिता पनि यही कार्तिक–मंसिरको समयमा पर्नु भनेको नेपाली शारदीय पर्यटनका लागि अर्को सुखद् अवसर हो । यसपटक भइरहेको तेस्रो संस्करणको खेलमा नेपालका आठ टिमले १६ देशका ३७ खेलाडीलाई सहभागी गराएका छन् । नेपालको छवि ती देशमा पुर्‍याउन पनि एनपीएल थप सहयोगी बन्ने देखिन्छ । एनपीएल प्रतियोगिताका अवसरमा नेपालमा करोडौँ रुपैयाँ चलायमान हुने कुरामा कुनै शङ्का छैन । यसको प्रख्याति दिनप्रतिदिन बढ्दै गइरहेको पाइन्छ । यी समग्र सन्दर्भले पर्यटकको संख्या बढाउन, बसाइ अवधि थप्न, स्थानीय उत्पादनको खपत बढाउन र शहरी तथा ग्रामीण समुदायमा पर्यटनबाट प्राप्त हुने लाभ विस्तार गर्न मद्दत गर्दछ ।

होटेल, होमस्टे, रेस्टुरेन्ट, यातायात, स्थानीय गाइड, हस्तकला, कृषि उपज र सांस्कृतिक प्रस्तुतिसम्म पर्यटनका आर्थिक लगायतका बहुपक्षीय लाभहरू विस्तार गर्न सकिन्छ । विशेषगरी समुदायमा आधारित पर्यटन (सीबीटी) का लागि चाडपर्व अर्थात् ‘फेस्टिवल टुरिजम’ एउटा राम्रो अवसर बन्न सक्छ । पर्यटकलाई चाडपर्व देखाउने मात्र होइन, स्थानीय परिवारसँग बसेर चाडपर्वको तयारीमा सहभागी हुने, स्थानीय/रैथाने परिकारहरू चाख्ने, फूलमाला गाँस्ने, देउसीभैलोको अर्थ बुझ्ने र मौलिक संस्कृतिबारे सिक्ने अवसर दिन सकिन्छ । यसले पर्यटनलाई मनोरञ्जनबाट अनुभव र सिकाइको यात्रामा रूपान्तरण गर्छ । अनि बल्ल ‘रूपान्तरणका लागि पर्यटन’ (टुरिजम फर ट्रान्सफर्मेसन) भन्ने हाम्रा विगतदेखि चल्दै आएका रणनैतिक नाराहरू क्रमशः यथार्थमा बदलिन थाल्नेछन् ।

PHOTO CREDITS: NEPALVUE.COM
PHOTO CREDITS: NEPALVUE.COM

यसका लागि नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार, पर्यटन व्यवसायी, समुदाय र सांस्कृतिक संस्थाहरूबीच बलियो समन्वय आवश्यक छ । चाडपर्वलाई पर्यटन बजारसँग जोड्दा संस्कृतिको मौलिकता (‘औथेन्टिसिटी’) र स्थानीय समुदायको स्वामित्व तथा सनातनीय उच्च सहभागिता भने जोगाउनुपर्छ । संस्कृति पर्यटकका लागि देखाउने वस्तु मात्र होइन, समुदायको जीवनपद्धति र पहिचान पनि हो । त्यसैले पर्यटकीय लाभ स्थानीय समुदायसम्म पुग्ने र सांस्कृतिक मूल्यहरू पुस्तान्तरण हुने व्यवस्था मिलाउनु आवश्यक छ ।

समग्रमा,

दशैँ–तिहार र छठको शारदीय मौसम नेपाली समाजको सांस्कृतिक बहार मात्र होइन, आर्थिक गतिविधिको उच्चावस्था अर्थात् उत्कर्ष पनि हो । यसले परिवारलाई जोड्छ, बजारलाई चलायमान बनाउँछ, कृषि उत्पादनलाई बजार दिन्छ, विप्रेषण र बचतलाई परिचालन गर्छ तथा पर्यटनलाई नयाँ सम्भावना प्रदान गर्दछ । नेपालको यो विशिष्ट ‘बहारशास्त्र’ लाई बुझेर व्यवस्थित गर्न सकियो भने चाडपर्वको खुसीसँगै राष्ट्रिय अर्थतन्त्रमा पनि उल्लेखनीय योगदान पुग्न सक्छ ।

PHOTO CREDITS: NEPALVUE.COM
PHOTO CREDITS: NEPALVUE.COM

अन्त्यमा, सबैको तिहार बहारमय बनोस्, सबैको छठ रौनकमय बनोस् । यही तिहारमय र दीपावलीको झिलिमिली समयमा नेपाल संवत् ११४७ ले हाम्रा घर–आँगनीमा प्रवेश गर्दैछ । यस नयाँ वर्षले सबै नेपालीमा नयाँ उत्साह, उमङ्ग, सहकार्य र समृद्धिको ऊर्जा थपोस् । सबैलाई ११४७ ‘न्हुँदया भिन्तुना’ !!


– डा. चेतनाथ कणेल
(लेखक डा. कणेल पर्यटनविद् तथा राष्ट्रिय विकास केन्द्रका अध्यक्ष)
सम्पर्क इमेलः chetnathkanel@gmail.com