11/18/2026, 14:24:37
बुधबार, मङि्सर ०३, २०८३

न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा सुरु: नेपालको नेतृत्व प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, भदौ २५ गते । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा बुधबारदेखि सुरु भएको छ।

‘विश्वास पुनस्र्थापना, रूपान्तरण व्यवस्थापन : सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ‘ भन्ने मुख्य विषयका साथ सुरु भएको यस महासभाको उद्घाटन नवनियुक्त अध्यक्ष तथा बङ्गलादेशका विदेशमन्त्री खलिदुर रहमानले गर्नुभएको हो।

उद्घाटन सत्रमा महासचिव एन्टोनियो गुटेर्रेसले विश्वव्यापी द्वन्द्व, जलवायु सङ्कट र बहुपक्षीय संस्थाका चुनौती समाधानका लागि कूटनीति र सहकार्यमा जोड दिनुभयो।

यस वर्षको महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री वालेन्द्र शाहले नेतृत्व गर्नुहुने तय भएको छ।

महासभामा प्रस्तुत गरिने मुख्य प्रस्ताव र नेपालको धारणा तय गर्न प्रधानमन्त्री कार्यालयसहित सम्बद्ध निकायहरूले आवश्यक गृहकार्य तीव्र पारेका छन्। महासभाअन्तर्गत दिगो विकास लक्ष्य, जलवायु परिवर्तन र समुद्री सतह वृद्धिजस्ता महत्वपूर्ण विषयमा उच्चस्तरीय सत्रहरू सञ्चालन हुनेछन्।

सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको मुख्य आम-बहस (General Debate) सञ्चालन हुने कार्यसूची रहेको छ। त्यसैगरी, सेप्टेम्बर १८ मा दिगो विकास लक्ष्यसम्बन्धी विशेष सत्र तथा सेप्टेम्बर २३ मा जलवायु परिवर्तन र विकासको अधिकारसम्बन्धी उच्चस्तरीय बैठकहरू आयोजना हुने राष्ट्रसङ्घले जनाएको छ।