09/04/2026, 11:13:29
शुक्रबार, भदौ १९, २०८३

निर्माणाधीन सडकमा खाल्टै-खाल्टा, हिँडडुल गर्न र कलेज पुग्न यात्रुलाई सास्ती


धनगढी, भदौ १९ गते । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत धनगढी गाउँ–घुइँयाघाट–बेली रोड जोड्ने निर्माणाधीन सडकमा ठुला-ठुला खाल्टाखुल्टी पुर्न निर्माण कम्पनीले वास्ता नगर्दा यात्रु तथा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।

मुख्य बजार क्षेत्र ढकमक्क र राम्रो देखिए पनि भित्री तथा ग्रामीण भेगका सडकहरू बर्खाको पानीले हिलाम्मे हुनुका साथै दुर्घटनाको जोखिम बढाएका छन्। पानी भरिएका खाल्टामा सवारीसाधन फस्ने र कलेज जाने विद्यार्थीहरू समयमै पुग्न नसक्ने समस्या उत्पन्न भएको छ।

एसियाली विकास बैङ्क (ADB) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत ३.८२९ किलोमिटर लामो यो सडक केएस कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण ठेक्का पाएर काम गरिरहेको छ। नाली निर्माण र माटो फिलिङको काम सकिए पनि सडकका खाल्टा-खुल्टी नपुर्दा स्थानीयले कम्तीमा ग्राभेल हालेर हिँडडुल सहज बनाइदिन आग्रह गरेका छन्।