काठमाडौँ, भदौ २५ गते । काठमाडौँ उपत्यकामा जारी खाना पकाउने ग्यासको चरम अभावका कारण विशेषगरी विद्यार्थी र दैनिक ज्यालादारी गर्ने श्रमिकहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।
एउटा मात्र सिलिन्डर हुनेहरूका लागि ग्यास सकिएपछि अर्को भर्ने विकल्प नहुँदा भान्सामा चुलो बल्न छाडेको छ। साउनमै ग्यास सकिएर होटेलको खानामा निर्भर रहेका विद्यार्थीहरू समेत अहिले होटेलमै ग्यास सकिएपछि थप मारमा परेका छन्।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार पछिल्ला दिनहरूमा दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदुरहरूबाट ग्यास नपाएको व्यापक गुनासो आउने गरेको छ। विभागले प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास उद्योगीहरूलाई आग्रह गरे पनि माग र आपूर्तिबिच ठूलो असन्तुलन रहेकाले समस्या समाधान हुन सकेको छैन।


यसैबिच, नेपाल एलपी ग्यास उद्योग सङ्घले भोटेकोशी बाढीका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा आपूर्ति शृङ्खला नै बिग्रिएर स्थिति अझ जटिल बनेको जनाएको छ। उद्योगीहरूले एउटा मात्र सिलिन्डर भएका र साँचो अर्थमा समस्यामा परेका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण भइरहेको दाबी गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































