09/05/2026, 17:53:22
शनिबार, भदौ २०, २०८३

“बजेट समृद्धिको मार्गचित्र बन्नुपर्छ, रातो किताब रकम वितरणको पुलिन्दा मात्र होइन”


धनगढी, भदौ २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको आगामी बजेटले प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ। प्रदेश सरकार र निजी क्षेत्रबिच धनगढीमा आयोजित बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले रातो किताब केवल रकम वितरण गर्ने पुलिन्दा नभई समृद्धिको वास्तविक मार्गचित्र हुनुपर्नेमा जोड दिनुभयो।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमको रूपान्तरण सम्भव रहेको बताउनुभयो। औद्योगिक क्षेत्रको विकास तथा रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइने स्पष्ट पार्दै उहाँले सुशासनमा शून्य सहनशीलताको नीति अपनाइने र बेथिति तथा अनियमितता नियन्त्रणमा सरकार निर्मम भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा निजी क्षेत्रका व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न र नीतिगत सहजीकरण गरिदिन आग्रह गरेका थिए। अन्तरक्रियामा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण प्रकाश भट्ट लगायतको उपस्थिति रहेको थियो।