महोत्तरी, भदौ २५ गते । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी-पहिरोका कारण पहाडी जिल्लाहरूबाट हुने आपूर्ति अवरुद्ध भएपछि मधेश प्रदेशका बजारहरूमा हरियो तरकारीको ठूलो अभाव सिर्जना भएको छ।
नुवाकोट तथा काठमाडौँको कालीमाटी हुँदै मधेशतर्फ आउने सडक सञ्जाल बिग्रिएपछि नियमित आपूर्ति रोकिएर दैनिक उपभोग्य वस्तुको पाटो नराम्ररी प्रभावित बनेको छ।
आपूर्ति शृङ्खला बिथोलिएका कारण स्थानीय बजारमा तरकारीको मूल्य अस्वाभाविक रूपमा आकासिएको छ। महोत्तरीको बर्दीबासस्थित बुधबारे हाटमा बाढीअघि २० देखि ८० रुपियाँ किलोमा पाइने गोलभेँडा, काउली, भान्टा र तोरीको सागको मूल्य बढेर प्रतिकिलो एक सयदेखि दुई सय रुपियाँसम्म पुगेको छ। धनकुटा र हिले क्षेत्रबाट केही मात्रामा तरकारी ल्याइए पनि माग धान्न नसक्दा बजारमा अभाव झन् गहराउँदै गएको व्यवसायीहरू बताउँछन्।
बर्दीबासमा मात्रै साताको करिब ८० लाख रुपियाँ बराबरको पहाडी तरकारीको कारोबार हुने गरेकोमा अहिले थोक विक्रेताहरूको व्यापार ठप्प प्रायः छ। एकातिर पहाडी क्षेत्रबाट आपूर्ति रोकिनु र अर्कोतिर भारतबाट समेत तरकारीको आयात न्यून हुनुले आगामी दिनमा आपूर्ति थप चुनौतीपूर्ण बन्ने देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































