09/02/2026, 16:24:09
बुधबार, भदौ १७, २०८३

राज्यका संयन्त्रहरूले कार्यशैली परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्री खगराज भट्ट


धनगढी, भदौ १७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताको चाहना अनुसार काम गर्न राज्यका संयन्त्रहरूले आफ्नो कार्यशैली परिवर्तन गर्न आवश्यक रहेको औँल्याउनुभएको छ।

जिल्ला समन्वय समिति डडेल्धुराको १० औँ जिल्ला सभालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले जनताको विकासप्रतिको उत्कट चाहना अझै पूरा हुन नसकेको स्वीकार गर्नुभयो। “जनताको चाहना पूरा भएको छैन, अब गम्भीर समीक्षा गर्ने बेला भएको छ,” उहाँले भन्नुभयो, “जनताको करबाट सञ्चालन हुने राज्यका संयन्त्रले अनिवार्य रूपमा जनताकै पक्षमा काम गर्नुपर्छ।

विगतका कामकारबाहीको गम्भीर समीक्षा गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन देखिने गरी विकासका योजनाहरू अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

साथै, आगामी बजेट विगतका सबै बजेटभन्दा बढी प्रभावकारी र जनमुखी हुने दाबी गर्दै मुख्यमन्त्री भट्टले जनताको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने विषयहरूलाई प्राथमिकतामा राखेर स्रोतको व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो।