09/10/2026, 09:05:48
बिहिबार, भदौ २५, २०८३

उपत्यकामा ग्यासको तीव्र अभाव: निगमलाई आफ्नै उद्योग खोल्न मन्त्रीको निर्देशन


काठमाडौँ, भदौ २५ गते । पश्चिम एसियाको तनाव, आधा सिलिन्डर वितरणको पूर्व-निर्णय र भदौ १० को बाढी-पहिरोले कृष्णभिरमा सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको आपूर्ति गम्भीर बनेको छ। तराईका उद्योगबाट वैकल्पिक मार्ग हुँदै ल्याइएका ग्यास सिलिन्डरले पनि उपत्यकाको उच्च माग धान्न नसक्दा उपभोक्ताहरूले सास्ती भोगिरहेका छन्।

समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले जुनसुकै कम्पनीको सिलिन्डर पनि साट्न सकिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। तर ग्यास उद्योगीहरूले यो व्यवस्था कार्यान्वयन गर्न नसकिने दाबी गरेका छन् भने साल्ट ट्रेडिङको एसिटिसी ग्यासले समेत कुपन बाँडेर एक महिनापछि मात्र ग्यास दिन सकिने जनाएको छ।

“५८ वटा ग्यास उद्योगले तीन/तीन हजारका दरले हरेक दिन काठमाडौँमा सिलिन्डर पठाइदिएको भए आज यो स्थिति आउने थिएन । उहाँले भन्नुभयो, तर कसैले पठाइदिँदैन । हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौँका लागि त्यहाँबाट हिँडेको छ तर १९ हजारभन्दा बढी गएको छैन । कहाँ गयो त्यो सिलिन्डर ? कसैलाई केही थाहा छैन । माग्यो भने दिँदैन ।”
– गौरीकुमारी यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

संसदीय समितिको बैठकमा मन्त्री कुमारीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै ग्यास उद्योग खोल्नुपर्ने र असहयोग गर्ने निजी उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने बताउनुभयो।

यता नेपाल एलपी ग्यास उद्योग सङ्घले भने मागअनुसार नै तराईबाट रिफिल गरी आपूर्ति मिलाइएको दाबी गर्दै उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।