09/10/2026, 12:38:52
बिहिबार, भदौ २५, २०८३

१४ वर्षीया बालिका आमा बनिन्: १४ महिनामा ७६ जना कम उमेरका किशोरी सुत्केरी


म्याग्दी, भदौ २५ गते । प्रदेश अस्पताल बेनी म्याग्दीमा पछिल्लो १४ महिनामा २० वर्षभन्दा कम उमेरका ७६ जना किशोरी सुत्केरी भएका छन्, जसमध्ये सबैभन्दा कान्छी १४ वर्षीया बालिका रहेकी छिन्।

अस्पतालका अनुसार २० वर्षमुनि सुत्केरी हुने ७६ जनामध्ये १८ वर्ष पूरा नभएका बालिका मात्रै ३७ जना रहेका छन्। नेपालको कानुनले २० वर्षमुनिको विवाह र १८ वर्षमुनिसँगको यौनसम्बन्धलाई गैरकानुनी माने पनि बालविवाह, गरिबी, जन-स्वास्थ्यसम्बन्धी चेतनाको कमी र सामाजिक दबाबका कारण उमेर नपुगी आमा बन्ने क्रम कायमै छ।

कम उमेरमा गर्भधारण गर्दा किशोरीहरूमा शल्यक्रिया (सिजरियन) र अन्य स्वास्थ्य जटिलताको जोखिम उच्च देखिएको छ। २० वर्षभन्दा बढी उमेरका महिलामा शल्यक्रिया दर २९.४ प्रतिशत रहँदा १८ वर्षमुनिका किशोरीहरूमा यो दर ४० प्रतिशत र १५ वर्षका सुत्केरीहरूमा त ७५ प्रतिशतसम्म पुगेको छ। परिपक्व शरीर नभई गर्भवती हुँदा उच्च रक्तचाप, अत्यधिक रक्तस्राव र बच्चा उल्टो बस्ने जस्ता जटिलताका कारण ७६ मध्ये १० जना नवजात शिशु कम तौलका जन्मिएका छन्।

बेनी अस्पतालको तथ्याङ्क अनुसार कम उमेरमा सुत्केरी हुनेहरूमा सबैभन्दा बढी ६८.४ प्रतिशत (५२ जना) दलित समुदायका किशोरी रहेका छन्। पालिकागत रूपमा म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाबाट सबैभन्दा बढी किशोरीहरू प्रसूति सेवाका लागि आएका छन्।

यस तथ्याङ्कले ग्रामीण क्षेत्रमा बालविवाह रोक्न, शिक्षाको पहुँच बढाउन र प्रसूतिपूर्वको स्वास्थ्य परामर्श प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने गम्भीर आवश्यकता औँल्याएको छ।