10/09/2026, 13:33:30
शुक्रबार, असोज २३, २०८३

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, १२ घाइतेको उपचार जारी


पोखरा, असोज २३ गते । कास्कीको पोखरा महानगरपालिका–२८, माझठानास्थित ओख्लेभीरमा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

कालिका बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस ट्युसन पढ्ने विद्यार्थी बोकेर फर्किने क्रममा सडकबाट करिब पाँच सय मिटर तल भीरमा खसेको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पतालका अनुसार पाँच जनालाई मृत अवस्थामा ल्याइएको थियो भने १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये १६ वर्षीया अस्मी कँडेल सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन् ।

चार मृतकको सनाखत

दुर्घटनामा मृत्यु भएका पाँच जनामध्ये चार जनाको पहिचान खुलेको छ ।

घाइतेको अस्पतालमा उपचार

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उपचाररत घाइतेमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री, १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी र १४ वर्षीया आकृति बुढाथोकी रहेका छन् ।

त्यस्तै, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङलगायतको उपचार भइरहेको छ । अन्य घाइतेको विवरणसमेत अस्पतालमा अद्यावधिक भइरहेको छ ।

बस भीरबाट खसेपछि उद्धार टोलीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो । दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ ।