09/09/2026, 20:04:11
बुधबार, भदौ २४, २०८३

कैलालीमा तीन वर्षीया बालिकामाथि बलात्कार: १८ वर्षीय युवक पक्राउ, घटना दबाउन चौतर्फी दबाब


धनगढी, भदौ २४ गते । कैलालीको भजनी नगरपालिका–७ मा तीन वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा स्थानीय १८ वर्षीय एक युवक पक्राउ परेका छन्।

पीडित बालिकाको यौनाङ्गमा चोट देखिनुका साथै शरीर दुखेपछि आमाले सोधपुछ गर्दा गाउँकै युवकले दुर्व्यवहार गरेको खुलेको थियो। घटना सार्वजनिक भएलगत्तै प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (DSP) योगेन्द्र तिमिल्सिनाका अनुसार अभियुक्तलाई तीन-चार दिन अगाडि नै पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमा राखेर अनुसन्धान तथा मुद्दा प्रक्रिया अगाडि बढाइएको छ। घटना संवेदनशील र मुद्दा विचाराधीन रहेकाले प्रहरीले थप विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक हुने जनाएको छ।

यसैबीच, घटना घटाए लगत्तै स्थानीय राजनीतिक दलका नेता तथा गाउँका अगुवाहरूले मुद्दा मिलापत्र गराउन दबाब दिएका कारण प्रहरीमा ढिलो गरी उजुरी पुगेको स्थानीयको आरोप छ। हाल पनि बालिकाकी आमालाई ‘खेल्ने क्रममा चोट लागेको‘ भनी प्रहरीसमक्ष बयान दिन चौतर्फी दबाब आइरहेको बताइएको छ।