09/09/2026, 13:57:19
बुधबार, भदौ २४, २०८३

भोटेकोशी र त्रिशूलीबाहेक नेपालका प्रमुख पर्यटकीय गन्तव्य सुरक्षित, भ्रमण रद्द नगर्न आग्रह


काठमाडौँ, भदौ २४ गते । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले गत भदौ १० गतेको बाढी भोटेकोशी र त्रिशूली नदी आसपासका केही सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको स्पष्ट पार्दै नेपालका अधिकांश पर्यटन क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको जनाएको छ।

पाटाले तथ्यमा आधारित भएर निर्णय लिन र भ्रमण रद्द नगर्न विश्वभरका पर्यटक तथा ट्राभल व्यवसायीहरूलाई आग्रह गरेको छ।

पाटाका अध्यक्ष हेनरी ओह र पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयु जोन्सले मङ्गलबार एक संयुक्त सन्देश जारी गर्दै काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण क्षेत्र, सगरमाथा/खुम्बु, चितवन, बर्दिया, लुम्बिनी तथा तराईका अधिकांश पर्यटकीय स्थलहरू सामान्य रूपमा सञ्चालनमा रहेको र अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख पूर्वाधारहरू सुरक्षित रहेको जानकारी दिनुभएको छ।

पाटाका मुख्य निर्णय तथा आह्वान:

  • सूचनाको समीक्षा गर्न आग्रह: अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अतिरञ्जित समाचारका आधारमा प्रभावित नभएका क्षेत्रको पनि बुकिङ रद्द भइरहेकोमा चिन्ता व्यक्त गर्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी ट्राभल एडभाइजरी र सूचनाहरूको पुनरावलोकन गर्न भनेको छ।
  • ‘नेपाल टुरिजम रिकभरी फन्ड’ को स्थापना: बाढीबाट प्रभावित साना पर्यटन व्यवसायी तथा श्रमिकहरू—जस्तै गाइड, चालक, भरिया, होमस्टे, लज, टिहाउस र साना होटल सञ्चालकहरूको पुनःस्थापना र सहयोगका लागि कोष स्थापना गरिने भएको छ।
  • आधिकारिक सूचना माध्यम: पाटाले नेपाल भ्रमण सम्बन्धी वास्तविक अवस्था थाहा पाउन नेपाल पर्यटन बोर्डको ‘नेपाल नाउ’ (Nepal Now) प्लेटफर्म, नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को आधिकारिक तथ्याङ्कमा भर पर्न आग्रह गरेको छ।