काठमाडौँ, कात्तिक २१ गते । नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको आकर्षणमा उल्लेख्य परिवर्तन आएको छ।
चिकित्सा शिक्षा आयोगका अनुसार यस वर्ष स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा कुल ७७ हजार ११८ जनाले प्रवेश परीक्षाका लागि आवेदन दिएका छन्, जसमध्ये विभिन्न कारणले २३९ जनाको आवेदन रद्द भएको छ। अध्ययनका लागि जम्मा ९ हजार ६९१ सिट मात्र उपलब्ध रहेको यस क्षेत्रमा समग्रमा एउटा सिटका लागि करिब आठ जना विद्यार्थीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
विषयगत रूपमा यस वर्ष एमबिबिएसलाई पछि पार्दै बिएस्सी नर्सिङ समूहमा सबैभन्दा बढी २२ हजार ३४८ जनाले आवेदन दिएका छन्। यस समूहमा बिएस्सी नर्सिङका लागि २ हजार ६४० र मिडवाइफ्रीका लागि ४० सिट निर्धारण गरिएको छ।
त्यस्तै, २१ हजार २९३ आवेदक रहेको एमबिबिएस दोस्रो स्थानमा छ भने बिडिएसमा १२ हजार ८४० जनाको आवेदन परेको छ। नेपाल नर्सिङ संघकी महासचिव प्राडा देवकाकुमारी आचार्यका अनुसार स्वदेश तथा विदेशमा पाइने उच्च रोजगारीका अवसर, स्वास्थ्य संस्थामा जनशक्तिको निरन्तर माग र अध्ययनपश्चातको उज्ज्वल भविष्यका कारण विद्यार्थी र अभिभावकको रोजाइ नर्सिङतर्फ बढेको हो।
सिट र आवेदनको अनुपात हेर्दा बिडिएस र पफ्र्युजन टेक्नोलोजीमा प्रतिस्पर्धा झनै उच्च रहेको छ। ६२५ सिट मात्र रहेको बिडिएसमा प्रतिसिट २१ जना र मात्र १ सिट उपलब्ध रहेको पफ्र्युजन टेक्नोलोजीमा १२४ जनाको आवेदन परेको छ। यस वर्ष गत वर्षको तुलनामा चिकित्सा शिक्षाका विभिन्न विषयमा ४१८ सिट थपसहित कुल ९ हजार ६९१ सिट कायम गरिएको छ भने शिक्षण संस्थाहरूले १२ हजार ७१२ सिट माग गरे पनि आयोगको अनुगमन तथा गुणस्तर मापदण्डका आधारमा ३ हजार २१ सिट अस्वीकृत गरिएको आयोगका कार्यकारी उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो।
बढ्दो प्रतिस्पर्धा र आकर्षणका बीच चिकित्सा शिक्षाको गुणस्तर कायम राख्न वैज्ञानिक अनुगमन र मापदण्डहरूको प्रभावकारी कार्यान्वयनमा आयोगले विशेष जोड दिएको छ। यो प्रवृत्तिले आगामी दिनमा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र व्यवस्थापनमा नयाँ दिशा दिने विश्वास गरिएको छ।
| विवरण | तथ्य / जानकारी |
| कुल आवेदन संख्या | ७७,११८ जना (२३९ रद्द) |
| उपलब्ध कुल सिट | ९,६९१ सिट (गत वर्षभन्दा ४१८ ले बढी) |
| सर्वाधिक आकर्षण भएको विषय | बिएस्सी नर्सिङ (२२,३४८ आवेदक) |
| दोस्रो स्थानमा रहेको विषय | एमबिबिएस (२१,२९३ आवेदक) |
| प्रमुख वक्तहरू | प्राडा देवेन्द्रबहादुर खत्री (कार्यकारी उपाध्यक्ष, आयोग) र प्राडा देवकाकुमारी आचार्य |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










प्रतिक्रिया दिनुहोस्