पर्वत, जेठ २२ गते । पर्यटनको राजधानी पोखराबाट करिब डेढ घण्टाको दुरीमा रहेको पर्वत साहसिक पर्यटनको गन्तव्य जिल्लाका रूपमा विकास भइरहेको छ । पोखराबाट दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ आउजाउ गरिरहेका हुन्छन् । यी मध्येका पर्यटक कुस्मामा रोकिएर साहसिक पर्यटनको मज्जा लिने गरेका छन् ।
केही वर्षअघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनाम अवस्थामा थियो । अहिले त्यसको परिचय फेरिएको कुस्मामा होटेल व्यवसाय गर्दै आएका अच्युतकृष्ण श्रेष्ठले बताउनुभयो । जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्विङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।
कालीगण्डकी नदीको कहालीलाग्दो भिरमा निर्माण भएका बन्जिजम्पदेखि जिपलाइन तथा नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गरेका छन् । घुम्नका लागि आएका बजार क्षेत्र र यिनी साहसिक गन्तव्यमा पुगिरहेका देखिन्छन् । बन्जी र स्विङका लागि बनाइएको झोलुङ्गे पुल तरेर कुस्मादेखि पारि बागलुङमा बनेको रिसोर्टमा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् ।


पाँच सय रुपियाँको टिकट काटेपछि मात्रै पुलको बाटो रिसोर्टपरिसरमा पुग्न सकिन्छ । त्यहाँ गुलेली पिङ, स्काइचियर, साइक्लिङ, स्काई क्याफेलगायत खेलको मज्जा लिन सकिन्छ । प्रत्येक खेलको चाहिँ बेग्लाबेग्लै पैसा तिनुपर्ने हुन्छ । रिसोर्टपरिसरमा तस्बिर खिच्नमा व्यस्त चितवनका अभिषेक रानाले भन्नुभयो, “बागलुङ दर्शन गरेर आजै चितवन फर्कन्छौँ ।”
चितवनका अभिषेक राना जस्तै अन्य पर्यटक पनि बन्जीमै मस्त देखिन्थे । “कुस्माको नजिकमा थुप्रै प्राकृतिक तथा धार्मिक महìवका आकर्षक गन्तव्य छन् ।” नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले भन्नुभयो, “स्थानीय सरकारको उदासीनता र उचित प्रचारप्रसार नहुँदा बन्जी आइपुग्ने पर्यटक त्यहाँसम्म पुग्न सकेको देखिँदैन ।”
दुर्लुङकोट र मोदीवेणी दिव्यधाम
हरियाली वनभित्रको नागबेली कालोपत्रे सडक हुँदै १५ मिनेट यात्रा गरेपछि सुन्दर गाउँ दुर्लुङ पुग्न सकिन्छ । गाउँ उक्लँदै गर्दा वरैबाट डाँडाको टुप्पोमा अवस्थित दुर्लुङकोट भूमे मन्दिर पुगिन्छ । हरेक वर्ष बडादसैँ, चैते दसैँ र उभौलीमा पूजाआजादेखि बलि दिने गरिएको छ । दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका सदस्य प्रितम गुरुङले भन्नुभयो, “धार्मिक तथा ऐतिहासिक महìवको यो ठाउँ प्राकृतिक दृष्टिले समेत अर्थपूर्ण छ ।”


दामोदरकुण्डबाट अविरल बग्दै आएको कालीगण्डकी नदी र माछापुच्छ«े हिमशृङ्खलाबाट बगेर आएको मोदीनदीको सङ्गमस्थलमा भगवान् नृसिंहको पुरानो मन्दिर छ । विसं १८९० मा निर्मित यस मन्दिर क्षेत्रलाई मोदीवेणी दिव्यधाम भनेर पनि चिनिन्छ । कालीगण्डकीमा मात्र पाइने शालीग्रामलाई नृसिंह भगवान्को अवतारका रूपमा पूजाआजा गरिँदै आइएको छ । गङ्गा स्नान गरेपछि पवित्र भइने मान्यताका कारण मोदी र कालीगण्डकीमा स्नानका लागि तीर्थालु आउने गर्छन् ।
“दाहसंस्कारका लागि पनि मोदीवेणी दिव्यधाम उत्तम मानिन्छ,” नृसिंह मन्दिर संरक्षण तथा धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष केशवदास वैरागीले भन्नुभयो, “पहिले भारतबाट आउने धेरै तीर्थालु यहाँ आइपुग्थे तर हिजोआज त्यो सङ्ख्या घटेको छ ।”
गुप्तेश्वर गुफा र अल्पेश्वर गुफा
बन्जीस्थलबाट मात्र पाँच मिनेटमा गुप्तेश्वर गुफा पुग्न सकिन्छ । यो गुफा डेढ किलोमिटरभन्दा बढी लामो र सात तला भएको अलौकिक गुफा हो । ‘धेरै गुफा ओरालो मुखतर्फ फर्किएर बनेका हुन्छन् तर गुप्तेश्वर गुफा ओरालो नभई उकालो मुख फर्किएको छ ।” गुप्तेश्वर धार्मिक पर्यटन प्रवर्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले भन्नुभयो, “शिवपार्वतीको मिलन भएको ठाउँका कारण पनि यस गुफाको महìव विशेष छ ।”


यस गुफामा बालाचतुर्दशी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघेसङ्व्रmान्तिलगायतका चाडपर्वमा विशेष मेला लाग्छ । गुफाभित्र भगवान् शिवका दसौँ पाउँ, विभिन्न देवीदेउताका मूर्ति, शिवलिङ्ग शिवपञ्चाङ्ग, नाग र पाँच पाण्डवका मूर्ति देख्न सकिन्छ ।
पहिलो नेपालकै अग्लो र लामो कुस्मा–ज्ञादी झोलुङ्गे पुलबाट पाँच मिनेटको दुरीमा जङ्गलबिचमा अल्पेश्वर गुफा अवस्थित छ । बजारबाट एकान्त मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । फराकिलो क्षेत्रफलमा रहेका हरियाली वनभित्र चराचुरङ्गीको चिरबिरले मनलाई आनन्दित बनाउने गर्छ । विसं २०६४ मा कटुवा चौपारीका केही युवाले गुफा पत्ता लगाएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































