मुस्ताङ, भदौ २३ गते । रसुवाको नेपाल–चीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचना तहसनहस बनाएपछि चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको पवित्र कैलाश–मानसरोवर यात्राका लागि मुस्ताङको कोरला नाका उत्तम विकल्पका रूपमा देखिएको छ।
कालीगण्डकी करिडोरमार्फत पोखरा–बेनी–जोमसोम हुँदै पुगिने यो नाका अन्य नाकाको तुलनामा सुरक्षित, सहज, छोटो र कम खर्चिलो भएकाले तीर्थयात्री तथा पर्यटकका लागि तत्काल खुला गर्न मुस्ताङवासी र स्थानीय जनप्रतिनिधिहरूले सरकारसँग जोडदार माग गरेका छन्।


उपल्लो मुस्ताङको लोमान्थाङ–४ स्थित नेचुङमा रहेको अध्यागमन कार्यालयलाई नियमित सञ्चालन गर्नुपर्नेमा जोड दिँदै गाउँपालिका अध्यक्ष टसी न्हुर्वु गुरूङले रसुवागढी–केरुङको सहज विकल्प नै कोरला भएकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि चीन सरकारसँग अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने बताउनुभयो।
हाल सीमा क्षेत्रमा मुस्ताङी नागरिकलाई मात्र प्रवेश पास उपलब्ध छ। कोरला नाकाबाट चीनतर्फ प्रवेश गरी आधुनिक सडक र सवारीसाधनको प्रयोगमार्फत सिगात्सेको झोम्वासेन हुँदै करिब ६ घण्टाको यात्रामा कैलाश–मानसरोवर पुग्न सकिन्छ।
यस विषयमा प्रतिनिधिसभा सदस्य योगेश गौचनले पनि कोरला नाकालाई धार्मिक पर्यटनका लागि खुला गराउन निरन्तर प्रयास गरिरहेको र अब परिणाममुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


समुद्री सतहबाट ६,६३८ मिटर उचाइमा रहेको कैलाश पर्वत र मानसरोवर हिन्दु, बौद्ध तथा जैन धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र हो। काठमाडौँ तथा पोखराबाट हवाई र सडक दुवै मार्गबाट सहजै पुग्न सकिने भएकाले यो रुट यात्रुहरूका लागि निकै पायक पर्ने देखिन्छ।
वि.सं. २०८० कात्तिक २७ गतेदेखि व्यापारिक रूपमा पुनः सञ्चालनमा आएको कोरला नाका गण्डकी प्रदेशलाई चीनसँग जोड्ने एक मात्र ‘लाइफलाइन’ हो।
हाल रसुवा नाका अवरुद्ध भएपछि कोरलामा व्यापारिक चाप अत्यधिक बढेको छ। तर, नेचुङस्थित अध्यागमन कार्यालयमा पूर्वाधार र पर्याप्त जनशक्तिको भने अझै अभाव रहेकाले सरकारले तत्काल आवश्यक व्यवस्थापन मिलाउनुपर्ने आवश्यकता देखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































