08/25/2026, 09:49:35
मङ्गलबार, भदौ ०९, २०८३

अन्नपूर्ण प्रथम आधार शिविर : मौरिस हर्जोग पदमार्ग पुनः सञ्चालनमा


म्याग्दी, भदौ ९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग पदमार्ग’ र नारच्याङ-हुमखोला सडकखण्ड पुनः सञ्चालनमा आएका छन्।

वर्षाका कारण सडकका विभिन्न स्थानमा खसेको पहिरोलाई जलविद्युत् आयोजनाहरूको सहयोगमा हटाइएपछि सडक तथा पदमार्ग सुचारु भएको हो। सडक र पदमार्ग खुलेसँगै भदौ महिना सुरु भएसँगै आधार शिविरतर्फ आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ भने बन्द रहेका होटल तथा रेस्टुरेन्टहरू पनि पुनः सञ्चालनमा आउन थालेका छन्।

पर्यटकहरूको सुविधाका लागि हुमखोलादेखि आधार शिविरसम्म अस्थायी आश्रयस्थल, होटल, खानेपानी तथा शौचालयको व्यवस्था गरिएको छ। सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा निर्मित यी पूर्वाधारले पदयात्रीलाई सहजता प्रदान गर्नेछ। अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरबाट २२ किलोमिटर सवारी साधनको यात्रापछि हुमखोला पुगिन्छ, जहाँबाट २१ किलोमिटरको पैदलयात्रा गर्दै आधार शिविर पुग्न सकिन्छ।

पदमार्गमा पर्ने आकर्षक फुतफुते झरना, पञ्चकुण्ड ताल र प्राकृतिक सुन्दरताका कारण असोजदेखि मङ्सिरसम्म यहाँ पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलोपटक अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्व इतिहास रचेका थिए। तिनै प्रथम आरोहीको सम्मानमा नामकरण गरिएको यस पदमार्गको आधार शिविरमा मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिकका साथै एक खुला सङ्ग्रहालयसमेत स्थापना गरिएको छ।

वर्षात्मा आकर्षक देखिने झरनाहरू र पर्यटकीय पूर्वाधारको विकाससँगै यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षक बन्दै गएको छ।