09/02/2026, 11:03:08
बुधबार, भदौ १७, २०८३

जलवायु परिवर्तनको असर: अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड हिमताल ८४६ प्रतिशतले विस्तार


म्याग्दी, भदौ १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको प्रसिद्ध पञ्चकुण्ड हिमतालमा जलवायु सङ्कटको असर देखिन थालेको छ। विगतमा हिउँदबाहेक अन्य समयमा पाँचवटा छुट्टाछुट्टै कुण्ड देखिने यस तालमा पछिल्लो समय हिउँ पग्लिएर पानीको मात्रा बढेपछि एउटै ठुलो तालका रूपमा देखिन थालेको स्थानीय तथा अध्येताहरूले बताएका छन्।

पर्यापर्यटन अध्येता घनश्याम खड्काका अनुसार एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) को तथ्याङ्कले सन् २०१३ मा ०.०४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पञ्चकुण्ड हिमतालको आकार सन् २०२५ मा बढेर ०.३८८ वर्गकिलोमिटर पुगेको छ। विगत १२ वर्षका अवधिमा जलवायु परिवर्तन र तापमान वृद्धिका कारण अन्नपूर्ण हिमताल (पञ्चकुण्ड ताल) को आकार ८४६ प्रतिशतले विस्तार भएको तथ्याङ्कले देखाउँछ।

PHOTO CREDITS : ExploreHubNepaL.com
PHOTO CREDITS : ExploreHubNepaL.com

नेपाली भाषामा पञ्चकुण्ड र शेर्पा भाषामा ‘डिकिचो’ (जमेको ताल) भनिने यो ताल धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। हिन्दू धार्मिकग्रन्थ पञ्च रामायणमा यहाँ रक्त, दुग्ध, ताम्र, शुद्ध र स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल रहेको र परापूर्वकालमा कागभुसुन्दी ऋषिले तपस्या गरेको उल्लेख छ। विसं २०७७ देखि ‘मौरिस हर्जोग’ पदमार्ग सञ्चालनमा आएपछि हिमाल, आधार शिविर र ताल एकैठाउँमा अवलोकन गर्न पाइने भएकाले यहाँ पर्यटकीय चहलपहल निकै बढेको छ।

तथापि, तालको पानी बग्ने मिस्त्रीखोलाको तल्लो तटमा १५२ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजनाहरू सञ्चालनमा रहेकाले हिमतालको सम्भावित जोखिमप्रति स्थानीय तह र विज्ञहरू चिन्तित छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले तालको जोखिम र भौगोलिक अवस्थाबारे अध्ययन अनुसन्धानका लागि सङ्घीय सरकारसँग अनुरोध गर्ने तयारी भइरहेको बताउनुभयो। यस्तै, गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न यसै वर्ष कालीगण्डकी बेसिनमा ‘कालीगण्डकी जलवायु संवाद’ आयोजना गर्न लागेको जनाएको छ।