09/01/2026, 22:27:28
मङ्गलबार, भदौ १६, २०८३

सन् २०२६ को अगस्टमा भित्रिए ८५ हजार बढी पर्यटक, भारतबाट सबैभन्दा धेरै आगमन


काठमाडौँ, भदौ १६ गते । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट कुल ८५ हजार ४४४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो आगमन गत वर्षको सोही महिनाको तुलनामा भने केही कम हो। सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए, जसको तुलनामा यस वर्ष करिब तीन हजारले पर्यटक संख्यामा कमी आएको छ।

अगस्ट महिनामा नेपाल आउने पर्यटकहरूमा सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ। कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत अर्थात् २६ हजार ३७३ जना भारतीय पर्यटक नेपाल आएका छन्। भारतपछि चीनबाट १० हजार ३०४, श्रीलङ्काबाट ८ हजार ७१०, अमेरिकाबाट ६ हजार २९३, बङ्गलादेशबाट ४ हजार ४८७ र बेलायतबाट ३ हजार ४७६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाली (SAARC) मुलुकहरूबाट ४१ हजार ४२२ जना आएका छन्। त्यसैगरी, अन्य एसियाली मुलुकबाट १८ हजार २७५, युरोपबाट १० हजार ८७५, अमेरिका क्षेत्रबाट ७ हजार ४७३ र ओसियाना क्षेत्रबाट २ हजार ५२९ जना पर्यटक नेपाल आइपुगेका हुन्।

देश (Country)पर्यटक सङ्ख्या (Number of Tourists)
भारत२६,३७३
चीन१०,३०४
श्रीलङ्का८,७१०
अमेरिका६,२९३
बङ्गलादेश४,४८७
बेलायत३,४७६