प्रजातन्त्रका सेनानी, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङ ९२ वर्ष पुग्नुभयो । यो उमेरमा पनि उहाँको स्वास्थ्य अवस्था ठिक छ । उहाँ विसं २००७ को क्रान्तिदेखि विसं २०८२ भदौ २३ र २४ मा भएको जेन-जी विद्रोहको साक्षी हुनुहुन्छ । उमेरले स्मरणशक्ति केही घट्दै गए पनि उहाँ बिपी कोइराला, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईसँगको सङ्गत र गणतन्त्र घोषणाको ऐतिहासिक दिन २०६५ जेठ १५ बिर्सनुहुन्न । नेपालको इतिहासकै सबैभन्दा ठुलो राजनीतिक परिवर्तन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणाको प्रस्ताव पारित गराउने संविधान सभाको बैठकको अध्यक्षता गर्ने अवसरलाई गुरुङ ऐतिहासिक अवसर ठान्नुहुन्छ ।
संविधान सभाका ज्येष्ठ सदस्य कुलबहादुर (केबी) गुरुङसँग गणतन्त्र दिवस र पछिल्लो राजनीतिक अवस्थाका विषयमा दिनेश लुइँटेलले गर्नुभएको कुराकानीको सम्पादित अंश :
विसं २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भयो । त्यो संविधान सभाको ऐतिहासिक बैठकको अध्यक्षता तपाईंले गर्नुभएको थियो । आज १८ वर्षपछि फर्केर हेर्दा त्यो क्षणलाई कसरी सम्झनुहुन्छ ?
त्यो एउटा महत्वपूर्ण समय थियो । त्योबेला देशमा राजा थिए । देशको अभिभावक राजा नै हुन्थे । बैठकअघि राजा नरहने कुराको चर्चा भएको थियो । राजतन्त्र फाल्नु सजिलो थिएन । बैठकबाट गणतन्त्र घोषणा गरियो । त्यो समय म ज्येष्ठ सदस्यका रूपमा संविधान सभाको अध्यक्ष थिएँ । ज्येष्ठ सदस्यको नाताले त्यो जिम्मेवारी मैले पाएको थिएँ ।
गणतन्त्र घोषणाअघि तपाईंसँग ककसले के के छलफल गरेका थिए ?
बैठकअघि गणतन्त्र घोषणाको विषयमा मसँग धेरै चर्चा, छलफल र बहस कसैले पनि गरेनन् । कागजमा जे लेखेर दिएका थिए, मैले त्यही भनिदिएँ । मैले गणतन्त्र घोषणा गर्दैगर्दा संसद् भवनको बाहिर उत्तरतर्फ नारा भने लाग्दै थियो । त्यो नारा लागेको ठाउँबाट संसद् भवन घेरिन्छ र उत्पात हुन सक्छ भन्ने कुराको डर मेरो मनमा थियो तर त्यस्तो केही भएन । गणतन्त्र घोषणा गरिसकेपछि घर पुग्छु कि पुग्दिनँ भन्ने डर पनि थियो तर बाटोमा कोही पनि थिएन । म सजिलै घर आइपुगेँ । घर पुगेपछि केही नहुने रहेछ भन्ने लाग्यो ।
गणतन्त्र घोषणा हुनुअघि र प्रस्ताव पारित भइरहँदा सदनभित्र र बाहिरको वातावरण कस्तो थियो ? सभासद्हरू र बाहिर खुसियाली मनाउन जम्मा भएका जनताको उत्साहलाई कसरी वर्णन गर्नुहुन्छ ?
गणतन्त्र घोषणा हुनुअघि केही परिवर्तन हुँदै छ भन्ने थियो । गणतन्त्र घोषणा गरेपछि हामी ठुला मान्छे बन्छौँ भन्ने धारणा त्यतिबेलाका नेतामा थियो । गणतन्त्र घोषणाको उत्साह संसद्भित्र भए पनि बाहिरको अवस्था भने के हुन्छ हुन्छ (अनिश्चित) भने जस्तो थियो । सुरक्षाकर्मीले के गर्छन् भन्ने आशङ्का पनि धेरै थियो ।
जेठ १५ गतेको बैठक बस्नुअघि दलहरूबिच सहमति जुटाउन निकै सकस परेको थियो । बैठक बस्न पनि निकै ढिला भएको थियो । गणतन्त्र घोषणा गर्नुअघि पर्दापछाडि (भित्री रूपमा) के कस्ता राजनीतिक प्रयास र रस्साकस्सी भएका थिए ?
राजा फाल्ने कुरा थियो । भित्र भित्र नेताहरूले धेरै छलफल गरे होलान् । त्यही छलफलले गर्दा बैठक ढिला गरेर राति मात्र सुरु भएको थियो तर मसँग गणतन्त्र घोषणाको विषयमा कुनै छलफल भएन । ज्येष्ठ सदस्यको नाताले मलाई दिएको जिम्मेवारी मात्र पूरा गरेँ । वास्तवमा भन्नुपर्दा मैले त मलाई कागजमा लेखेर दिएको कुरा भनेको मात्र हुँ ।


गणतन्त्र घोषणा गर्दैगर्दा तपाईंको मनमा चाहिँ उत्साह थियो कि थिएन ?
मसँग उत्साह थिएन । यसपछि के हुन्छ भन्ने डर थियो । किनकि राजतन्त्र फालिँदै थियो । राजतन्त्र फाल्नु वा फ्याँकिनु भनेको खेलाँची कुरा होइन भन्ने कुरा मनमा थियो । मनमा यो कोतपर्व भएको ठाउँ हो भन्ने थियो । मैले २००७ साल देखेको छु । परिवर्तनपछि मान्छेलाई जिउधन जोगाउन गाह्रो हुन्छ भन्ने कुरा मलाई थाहा थियो । २००७ सालमा सबै रातारात घर छोडेर भागेका थिए तर बहुमतले भएको निर्णय सबैले स्वीकार गरे । मलाई डर लागे पनि अरूमा भने उत्साह थियो ।
देशमा २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रको अन्त्य हुँदै थियो । लामो र शक्तिशाली सत्तालाई फाल्दा देशमा प्रतिविद्रोह हुने वा दरबारले सेनाको प्रयोग गर्न सक्ने खतराबारे त्यतिबेला तपाईंहरूबिच के कस्तो विचारविमर्श भएको थियो ?
देशमा अर्को विद्रोह होला कि भन्ने चाहिँ मलाई डर लागेको थियो तर अरूलाई त्यस्तो लागेको थिएन । मैले धेरै इतिहास सम्झिएकाले डर लागेको थियो । गणतन्त्र घोषणा गरेर बाहिर निस्कँदा म खुब डराएको थिएँ । मनमा त्रास थियो तर मैले सोचेभन्दा वातावरण फरक थियो ।
नेपालमा गणतन्त्र घोषणा गर्ने आन्तरिक तयारी भइरहँदा अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया कस्तो थियो ?
त्यो बैठक बस्नुअघि मलाई कसैले भेटेनन् । विदेशीले यो आन्तरिक कुरा भनेर केही भनेनन् जस्तो लाग्छ । संविधान सभाको बैठकबाट घोषणा भएको गणतन्त्रलाई सबैले स्वीकार गरेर अगाडि बढे । सोचेभन्दा सजिलै गरी राजा फालिए ।
बैठकको अध्यक्षता गरिरहँदा र गणतन्त्रको प्रस्ताव सर्वसम्मत जस्तै (चार जनाबाहेक सबैको समर्थनमा) पारित गर्दा मनमा चलेका तरङ्ग के के थिए ?
गणतन्त्र घोषणा गर्दैगर्दा बाहिर नाराबाजी हुँदै थियो । यो घोषणा भएपछि स्थिति खराब बन्छ भन्ने मलाई लागेकै थियो तर त्यो डर अरू कसैमा पनि देखिएको थिएन । त्योबेला गिरिजा न प्रचण्ड (गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’) कोही पनि डराएका थिएनन् । गणतन्त्र घोषणा भएपछि सँगसँगै मलाई पनि चिया खान लगे । यिनीहरू किन यत्तिका धेरै निडर छन् भन्ने लागेको थियो । राजा फाल्नु भनेको डरलाग्दो कुरा हो भन्ने मनमा थियो । राजा हटाउने निर्णय संविधान सभाबाट पारित भइराख्दा पनि कोही डराएका छैनन् । राजनीतिमा यस्तो हुन्छ भन्ने कसैलाई थाहा थिएन तर त्यो दिन यो कुरा सहजै सम्भव भयो ।
नेपालमा राजतन्त्रको विधिवत् अन्त्य भएको घोषणा गर्दा नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रले निकै सहज र शान्तिपूर्ण रूपमा बाहिरिने निर्णय गर्नुभयो । दरबारको त्यो शान्तिपूर्ण बहिर्गमनको पाटोलाई तपाईंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?
राजाले दरबार आफैँ छोडिदिए । त्यो उहाँको डरको निर्णय थियो । उहाँले त्यो निर्णय लिँदा जनतामा भने त्रास थियो । देशभित्रको मात्र नभएर विदेशको शक्तिले पनि साथ नदिने देखेपछि राजाले दरबार छोडेका हुन् जस्तो लाग्छ । ज्ञानेन्द्र राजासँग जनतामा जुन किसिमको घनिष्ठता हुनुपर्ने थियो, त्यो कहिल्यै भएन । राजा अलग्गै भए, जनता अलग्गै भए । राजा र जनता अलग हुँदाको परिणाम नै गणतन्त्र घोषणा भएको मान्छु । २००७ साल आउनुमा राजाको भूमिका महŒवपूर्ण थियो । त्यसपछि राजाले लगातार जनताको काम गर्नुपर्ने थियो । त्यो गर्न नसकेकै कारण जनता र राजाको सम्बन्ध राम्रो भएन । राजाले आफूले २००७ सालमा पाएको अवसरलाई उपयोग गर्न सकेनन् । त्योबेला राजतन्त्रप्रति जनताको मायालाई बिस्तारै राजाले बिर्संदै जाँदा यो परिणाम आएको हो ।


गणतन्त्र घोषणा भएको १८ वर्षसम्म आइपुग्दा यो व्यवस्थाले थुप्रै उतारचढावको सामना गरेको छ । त्यसपछिका राजनीतिक नेतृत्वलाई कसरी हेर्नुभएको छ ?
गणतान्त्रिक नेपालमा पनि राजनीति गरेर देश बनाउनु पर्छ भन्ने व्यक्ति निस्किएनन् । योजना ल्याएर देश बनाउँछु भन्ने राजनेता नहुँदा सधैँ राजनीतिक विवाद देखियो । देश बनाउने योजना बिपी कोइराला जस्ता नेतासँग भए पनि उहाँलाई कसैले साथ दिएन । गणतन्त्र घोषणापछिका नेता राजनीति गर्ने जस्ता नै देखिएनन् । बिपी जुन ढङ्गले देशका लागि सोच्न सक्नुहुन्थ्यो, त्यो ढङ्गको नेता देशमा फेरि जन्मिएन ।
देशमा गणतन्त्र कसरी कार्यान्वयन भइराखेको छ ?
गणतन्त्र घोषणापछि अराजकता धेरै फैलियो । सबै आफैँ ठुलो हुँ भन्ने नेता भएँ । राजनीतिका बारेमा कसैले राम्रोसँग सोच्न सकेनन् । गणतन्त्र घोषणा हुँदा सम्पूर्ण राजनीतिक दल एक ठाउँमा आइपुगेका थिए तर उनीहरूको सहकार्यले निरन्तरता पाउन नसक्दा यसले जनताका अपेक्षा पूरा गर्न सकेन । नेतामा त्याग, तपस्या र बलिदानी देखिएन । सबै कमाउन मात्र लागे । नेतामा देशभक्ति देखिएन । म त कमाउने भोकले सबै नेतालाई बिगारेको देख्छु ।
गणतन्त्रको भविष्य कस्तो छ ?
अहिले सबै एक से एक राजनीतिज्ञ छन् तर देशलाई कसरी अगाडि लैजाने भनेर हिसाबकिताब गर्ने खालका व्यक्ति देखिएको छैन । राजनीति गरेर अलिकति कमाउने र मोजमस्ती गर्ने बढी भए । देशका निम्ति अगाडि बढ्नु पर्छ भन्ने धारणा राख्ने नेता कम मात्र होइन, साह्रै कम भए । गणतन्त्र व्यवस्था नराम्रो होइन । दह्रो नेतृत्व भए राम्रो हुन्छ । नेतृत्वमा पुग्ने नेता त्यागी र तपस्वी भएमा देश राम्रो हुन्छ । नत्र देश अहिले पनि ढिलपिल ढिलपिल नै छ ।
जेन-जी आन्दोलन र त्यसपछि भएको चुनावमा बहुमत ल्याएर बनेको नयाँ सरकारलाई के सुझाव दिनुहुन्छ ?
जेन-जी आन्दोलनले परिवर्तन ल्याएको छ । एउटा दलले बहुमत ल्याएर सरकार बनाएको छ । लामो समयसम्म देशलाई यसरी अगाडि बढाउनु पर्छ भन्ने योजना चाहिँ कम देख्छु । देशलाई कसरी बनाउनु पर्छ भन्ने सोच हुनु पर्छ । पैसा कमाउने र मोज गर्ने नेतृत्व हुनु हुँदैन । त्याग र तपस्या युवानेतामा पनि हुनु पर्छ । अहिले पनि बलियो योजनासहितको दह्रो नेतृत्वको खाँचो छ । यो नेतृत्वले इतिहास पढ्नु पर्छ । नेपालको भूगोल छामेर देश हेर्नु पर्छ । खराब अवस्थाबाट देशलाई उठाउन विचारको दह्रो नेतृत्व चाहिन्छ ।
तपाईंको विचारमा देश बनाउन नेताले के गर्नु पर्छ ?
यो देशमा कमाउन खोज्ने नेताको अवस्था के भयो, हामीले देखेका छौँ । कतिले कमाए, कतिले खाए, हामीले देखिसकेका छौँ । अब कमाउने सोच होइन, देश बनाउने सोच आवश्यक छ । पुर्खाले देशका निम्ति के गरे भनेर योगदानको सम्मान गर्दै नयाँ सुरुवात गर्नु पर्छ । पुर्खाले देशको भूगोल जोगाएकाले हामीले नेपाल भन्न पाएका छौँ । अब यो नेपाललाई सुन्दर बनाउनु पर्छ । देश नबनेसम्म जुनसुकै नेता आए पनि उनीहरूको इतिहास सुन्दर हुँदैन । अलिकति पैसा कमाउने, पैसा कमाएपछि विदेश लाने कुराको अन्त्य हुनु पर्छ अनि मात्र देश बन्छ ।
गणतन्त्रमा सहिदको सम्मान कसरी हुन्छ ?
यो अप्ठ्यारो कुरा हो । सहिदको सोचाइ महान् थियो तर त्यो महान् सोचलाई कसैले बोक्न सकेन । सहिदले ज्यान फालेको जगमा नेता बनेका व्यक्तिले झगडा गर्दा देश नबनेका उदाहरण धेरै छन् । नेताहरू नै मिल्न नसक्दा नेपालको राजनीति धेरै पटक सङ्कटमा परेको छ । देशका लागि सहिद भएका व्यक्तिको सम्मान नेता र नेतृत्वमा पुगेका व्यक्तिले गर्नु पर्छ । अनि मात्र सहिदको सम्मान हुन्छ ।
– दिनेश लुइटेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































