मुलुकको विषम परिस्थितिमा जिम्मेवारी समालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने संशयबिच गत फागुन २१ गते स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी पनि भइरहेको छ ।
निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नु परेका समस्या, चुनौती र सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीसँग राससका कालिका खड्काले गर्नुभएको को सम्पादित अंश :
शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्रीका हैसियतले यहाँले सफल नेतृत्व गर्नुभयो । कस्तो महसुस भइरहेको छ ?
मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन तर देशको चिन्ता सबैलाई थियो । एउटा अनिश्चयबिच शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भयो । देशको बारे चिन्ता गर्ने, भलाइ चाहने सबै खुसी छन् । म पनि खुसी छु । सरकारलाई जुन जिम्मेवारी तोकेर दिइएको थियो, त्यो हामीले समयमै पूरा गर्न सक्यौँ ।
मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी समाल्नुभयो । जेनजी आन्दोलनपछिको अवस्था भएकाले पक्कै पनि चुनौती थिए । ती चुनौतीलाई कसरी सम्झनुहुन्छ ?
मैले नेतृत्व लिँदा धेरै चुनौती थिए । आफैँलाई पनि काम गर्न सकिन्छ कि सकिँदैन भन्ने लागेको थियो । समय जम्मा छ महिनाको थियो । त्यसमाथि प्रहार धेरैले गरे । अविश्वास पनि गरे । हाम्राविरुद्ध सिङ्गै पुराना दल उभिए । जेन-जी हुँ भन्नेहरूले तुरुन्तै छोड पनि भने । जेन-जीको आन्दोलनलाई अपहरण गरेर आयौँ भने । त्यसबेला हामीलाई सहयोग गर्ने मान्छे एकदम कम थिए । मन्त्रीपरिषद्का सदस्यले एकअर्कालाई सान्त्वना दिँदै काम ग¥यौँ ।
विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट्दा पनि ‘सम्भव छ र ?’ भन्ने जस्ता प्रश्न आउँथे । शान्ति र सहानुभूतिको कुरा धेरैतिरबाट आएन । हाम्रा पछाडि समर्थकको ठुलो पङ्क्ति र सङ्गठन थिएन । हामी सीमित मान्छे सरकारमा थियौँ । त्यसबिचमा धेरै हमला भयो । हामीप्रति मानिसको विश्वास पनि थिएन । त्यसमाथि एउटा महिला भन्ने खालका टिप्पणी पनि सुनियो तर एक कानबाट सुनेँ, अर्को कानबाट उडाइदिएँ । आफ्नो काम छोडिनँ ।
त्यस्तो कठिन अवस्थामा ‘नेतृत्व गर्न म सक्छु’ भन्ने आँट, साहस र भरोसा चाहिँ कहाँबाट आयो ?
‘म सक्छु’ भन्ने आँट मनभित्रैदेखि आयो । प्रधानमन्त्री हुनुभन्दा पहिले मैले अन्दाज गरेको रै’नछु । मेरो शरीर, तागत, बल १६ देखि १८ वर्षको जस्तो रहेछ । पत्रपत्रिकामा जताततै आलोचना मात्रै आउँथ्यो । मेरो त रक्तचाप बढ्नुको सट्टा घट्दै आयो । डाक्टर नै छक्क पर्नुभयो तर मेरो आत्तिने बानी छैन । त्यो भोगेर पनि आएको हो । राजनीतिको एउटा मूल्य-मान्यता हुन्छ । न्यायालयमा काम गर्ने मानिसले पनि भोगेर त आएका हुन्छन् । एउटा सकसको अवस्था मैले पनि सामना गरेरै आएको हो । अदालतमा अभिव्यक्त गर्न पाइँदैन । यहाँ अभिव्यक्त गर्न पाइन्छ ।
अर्को कुरा, सानैदेखि मलाई ‘सहनु पर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । सानैदेखि आँट गरेर केही काम ग¥यो भने जे पनि गर्न सकिन्छ भन्ने लाग्थ्यो । आत्मविश्वास पनि थियो । मैले धेरै पटक भगवान्लाई गुहारेँ । मलाई लाग्यो कि कहिले माओवादीको सशस्त्र द्वन्द्व भनेको छ, मान्छे मारेको छ । कहिले के भनेको छ । कहिलेसम्म नेपालीले ज्यान फाल्ने ? मलाई नपुग्दो केही छैन । प्रधानन्यायाधीश भएँ । प्रधानमन्त्री भएँ । छोराबुहारी छन् । नाति छ । बस्ने बास छ । सबै कुरा तृप्त छ ।
‘अब निजी कुरा केही चाहिएन, म जन्मेको, हुर्केको देशलाई त्राण देऊ भगवान्’ भनेँ । मैले जे जे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी, माताजीहरूले माथिबाट… । निर्वाचनको दिन पानी पर्दैन भनेँ, पानी परेन । हिउँ पर्दैन भनेर मैले भनेँ, परेन । मेरो आत्मविश्वासले यस्तो भनेकी थिएँ । संयोगवश मौसम राम्रो भयो । अनि प्रकृतिलाई पनि धन्यवाद भनेकी छु ।

देशको नेतृत्व गरिरहँदा सबैभन्दा कठिन मोड, अब मैले सक्दिनँ कि भन्ने कुनैबेला लाग्यो कि ?
त्यस्तो त पटक पटक लाग्यो नि । जेन-जी आन्दोलनका सहिदका बुबाआमा बालुवाटार आएर रोएको दिन हृदयाघात नै होला जस्तो भयो । पत्रपत्रिकामा ‘सक्दैन सरकारले’ भनिरहेकै देखिन्थ्यो । एउटा जेन-जीले भन्यो, ‘हामीले सरकार चलाउनुपर्ने तिमीले किन चलायौ ।’ तिनीहरूले पहिला राष्ट्रपतिसँग ‘म सक्छु भन्न सकेनन् ।
सरकारको अवधि सकिने बेलामा ‘मलाई मन्त्री बनाइदेऊ’ भन्न आइरहेका थिए तर म रिसाइनँ, ती बच्चा, केटाकेटी न हुन् । एक/दुई जनाले त ‘यसलाई असफल बनाएर आफैँ प्रधानमन्त्री बन्छु’ पनि भने । राजनीतिक दलको भनाइ चाहिँ तपाईं प्रधानमन्त्री भए पनि राजनीतिक दलको मन्त्री राखेर सरकार चलाउनु भन्ने पनि थियो । यो देशमा प्रधानमन्त्री सबैभन्दा ठुलो कुरा हुने रै’छ । मेरा लागि त त्यस्तो अमूल्य छैन । म अहिले पनि प्रधानन्यायाधीश भन्न नै मन पर्छ । न्याय क्षेत्रकै सङ्गत मन पर्छ तर मानिसलाई प्रधानमन्त्रीमा आकर्षण हुने रै’छ । ‘त्यो सुशीलाले सक्ने, हामीले नसक्ने ?’ पनि भने । अपशब्द पनि बोले । यस्तो कपडा लगाएको, चुरा यस्तो लगाएको, बाङ्गो भएर हिँडेको भन्नु नभन्नु सबै भने । जति आलोचना गरून्, मलाई केही फरक पर्दैन भन्ने ठानेँ ।

निर्वाचन अब हुन्छ भनेर ढुक्क चाहिँ तपाईंलाई कुन विन्दुबाट लाग्यो ?
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएँ । त्यसको भोलिपल्ट २८ गते शनिबार थियो । २९ गतेदेखि निर्वाचन आयोगले काम सुरु ग¥यो । हामीले सबैभन्दा पहिला जेन-जी आन्दोलनमा सहादत पाएका सहिदका परिवारको समस्यामा ध्यान दियौँ । उहाँहरूका परिवारले जे जे भन्नुभयो, त्यो सुन्यौँ र त्यसै अनुसार काम ग¥यौँ । त्यसपछि निर्वाचनमा ध्यान दियौँ ।
निर्वाचनमा सहयोगका लागि छिमेकी मुलुकलाई पनि अनुरोध ग¥यौँ । प्रहरीसँग गाडी अपुग थिए । मित्रराष्ट्र भारत र चीनबाट सहयोग पनि प्राप्त भयो । मुख्य ध्यान निर्वाचनमै केन्द्रित गरेर काम ग¥यौँ । निर्वाचन आयोगले मागेको कुरामा सहजीकरण ग¥यौँ । मानसिक वातावरण बनाउनका लागि राष्ट्रपतिसँग छलफल ग¥यौँ । जेन-जीका २१/२२ वटा समूह निस्किए । एउटाले एउटा भन्छ, अर्काले अर्को भन्छ । पार्टीको भ्रातृ सङ्गठन जस्तो भयो जेन-जी त ।
कोही कार्यकारी प्रधानमन्त्री, कोही निर्वाचित प्रधानमन्त्री र कोही संविधान संशोधन गर्न भन्छन् । संविधानले गर्न नमिल्ने कुरा पनि भनिरहेका हुन्थे । जेन-जीहरूले भनेको कुरालाई नसुने झैँ गर्न पनि भएन । राजनीतिक दल भन्छन्– यो सरकारले निर्वाचन मात्रै गराउने हो । जेन-जी भन्छन्– सबै काम गर, यो त विद्रोहबाट आएको सरकार हो । हामी त ताउमा फुलौरा उफ्रिए जस्तो भयौँ । त्यो अवस्था पनि भोग्नु प¥यो ।
विभिन्न आरोहअवरोहका बिचमा ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भयो । यसलाई कसरी हेर्नुभएको छ ?
जीवनमा एक कक्षाको परीक्षा दिइयो, पास भइयो । दुई कक्षाको परीक्षा दिइयो, पास भइयो । पढ्दापढ्दै स्नातकोत्तर पास भइयो । जीवनमा समय अनुसार परीक्षा भइरहन्छ । साँच्चै भन्नुहुन्छ भने यो जीवनको एउटा सङ्ग्राम थियो । मुलुकले राहत पायो । सुरुमा मेरो मुखबाट शब्द निस्किएको थियो, “निर्वाचनमा मान्छे मर्नु हुँदैन । एक थोपा रगत पनि झर्नु हुँदैन ।” अन्ततः त्यस्तै शान्तिपूर्ण भयो ।
आमजनतालाई धन्यवाद दिन चाहन्छु । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, निर्वाचन प्रहरीलगायत सबै सुरक्षाकर्मीको यसरी निर्वाचन सफल पार्न ठुलो योगदान छ । प्रधानमन्त्रीको हैसियतले धेरै धन्यवाद दिन चाहन्छु ।
निर्वाचन र सरकारलाई सफल पार्न कसको कस्तो सहयोग मिल्यो ?
सरकारको मूल कार्यभार निर्वाचन गराउने थियो । यसको ५० प्रतिशत श्रेय म निर्वाचन आयोगलाई दिन चाहन्छु । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीन जना आयुक्तको नेतृत्वमा भएको योगदान इतिहासले बिर्सन सक्ने छैन । आयोगमा पाँच जना पदाधिकारी हुनुपर्नेमा तीन जनाले पनि यति ठुलो काम गर्नुभयो । म प्रधानमन्त्रीका हैसियतले तिनै जना पदाधिकारीलाई र सिङ्गो आयोगलाई धन्यवाद दिन चाहन्छु । मन्त्रीपरिषद्मा सबैभन्दा धेरै धन्यवाद गृहमन्त्री ओमप्रकाश अर्याललाई दिन चाहन्छु । दिनरात मेहनत गर्नुभएको छ । अरू मन्त्रीहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।
सरकारले यो सफलता पाउनुमा प्रत्येक नागरिकको उत्तिकै योगदान छ । चार वटै सुरक्षा निकायका प्रमुखले पनि एकीकृत सुरक्षा योजना बनाउन र प्रभावकारी रूपमा लागु गरी मुलुकलाई यो ठाउँमा सुरक्षित अवतरण गर्न ठुलो भूमिका खेल्नुभएको छ । मलाई सफल पार्नका लागि मेरो निकट रहेर दुई सहयोगी व्यक्तित्व प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जीवनमा बिर्सनै नसकिने गुन लगाउनुभएको छ ।
नेपाली सेनाका प्रमुख सेनानी बालमुकुन्द विष्ट र सेनानी सुरज ओझा अत्यन्तै विद्वान् हुनुहुन्छ । उहाँहरूले संसारभरिका विषयमा मलाई अपडेट गराउनुहुन्थ्यो । उपसेनानी गोमा बूढाथोकीले मलाई छोरीले जस्तै हेरचाह गर्नुभयो । सबैलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

सचिवालयका विषयलाई लिएर विवाद पनि आयो । त्यो खास के भएको थियो ?
मेरो घर भएको क्षेत्र नेवारी क्षेत्र हो । मेरो घरायसी व्यवस्थापनमा उहाँहरूबाटै सहयोग पाइरहेको थिएँ । बालुवाटार निवास र अन्य व्यक्तिगत सर-सहयोगका निम्ति तिनै चिने-जानेका केही नेवार समुदायका मान्छे लिएर आएँ । उहाँहरूको काम कुनै राजकाजको सरकारी काम थिएन, विशुद्ध मलाई निजी कुरामा सहयोग गर्ने मात्र थियो । प्रमुख स्वकीय सचिव आदर्श पनि नेवार । पछि त सबै आदर्शका आफ्ना नातागोता भनेर ‘नेपोटिजम’ को कुरा ल्याइयो । ती आदर्शका मान्छे नभएर मेरा मान्छे थिए । त्यो आलोचना ठिक लागेन । अनि मैले खाना पकाउनेदेखि धेरैलाई हटाएँ । केही दिन आफैँले खाना पकाएँ । त्यसपछि सुरक्षाकर्मीले पनि सघाए ।
आलोचना त हुन्छ तर अचम्मचाहिँ यसअघिका प्रधानमन्त्रीहरूले सचिवालयमा ९० जनासम्म राख्दा ‘नेपोटिजम’ केही भएन । ७३ वर्षको उमेरमा सबै काम आफैँ गर्नु पर्छ भनेर मलाई बाध्य बनाइयो । मलाई सिधै आक्रमण गर्न नसकेपछि मेरो सचिवालयका कर्मचारीलाई आक्रमण गरेका थिए तर आजको दिनमा ती सबैलाई धन्यवाद नै दिन चाहन्छु ।
निर्वाचन गराउन सुरुमा राजनीतिक दलहरूसँग संवाद गर्नुपर्ने मुख्य चुनौती थियो । त्यो चुनौतीको सामना कसरी गर्नुभयो ?
मुलुकमा १२५ वटा भन्दा बढी पार्टी थिए । विविध विचारका छन् । धेरैको मुखमा राम राम, बगलीमा छुरा । केही एक्लै पार्टी चलाएका छन् । पैसा उठाएर हिँड्ने । हर प्रकृतिका मानिस छन् । कोही साम्यवादी, कोही प्रजातन्त्रवादी छन् । कोही पूर्वराजाकहाँ जाने छन् । प्रधानमन्त्री जोसुकै होस्, देश बनाऊन भन्ने कोही छैन । खाली कुर्सीको मोह मात्रै छ ।
कुर्सीमा बसेर सबैथोक हुँदैन । मुलुक बनाउने हो भने आआफ्नो क्षेत्रमा काम गरे पुग्छ । अरू केही नगरे पनि आफ्ना छोराछोरीलाई राम्रोसँग पढाए परिवार त बन्छ तर कुर्सी मोह मात्रै देखिन्छ । कानुनी क्षेत्रबाट आएको मान्छे मलाई छ महिना कटाउनै पर्छ भन्ने पनि लागेको थिएन । गाली पनि खायौँ । कति नराम्रोसँग गाली गर्ने नेतासँग भेट्यौँ ।
राष्ट्रपति कार्यालयमा जेन-जीका प्रतिनिधिसँग बस्दा अहिले नै ‘गेटआउट’ भनेको पनि सुन्यौँ । ‘तँलाई प्रधानमन्त्रीमा राख्दैनौँ’ भने । त्यो तँ तँ र मम पनि सह्यौँ । ‘तैँले भनिस्, म निस्केर गएँ’ भनेर छाडेको भए देशको जिम्मा कसले लिन्थ्यो ? म पनि यही देशको जनता हो । यो देशप्रति माया मलाई छ । मैले छोड्न मिल्दैनथ्यो ।
राजनीतक दलका मानिसलाई धेरै भेट्यौँ । प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासहित १२५ वटै पार्टीसँग पनि छलफल ग¥यौँ । त्यत्रो आन्दोलन भयो । त्यो परिस्थितिबाट अहिलेको परिस्थितमा मुलुकलाई त ल्यायौँ नि । एउटा आइजिपीले मलाई हप्काएको थियो, बोल्दाबोल्दै । यो सबै सङ्घर्ष त थियो नि ।
पुराना कर्मचारी र पुराना सचिवले त पुरानै दल खोजिरहेका थिए । नयाँले नयाँ कुरा गर्छन् । त्यो सबै सहेर अहिले शान्तिपूर्ण अवस्थामा पु¥यायौँ । त्यसका लागि अथक प्रयास गरियो । एकै दिनमा १४ वटा बैठकसम्म गरेँ । धेरै पटक राति २–३ बजेसम्म पनि बसेका छौँ । प्रत्येक दिन पाँच वटा, १० वटा बैठक गरेको छ, मान्छे भेटेको छ । वातावरण बनाउने प्रयासकै लागि थियो त्यो ।
फेरि संस्कार कस्तो भएको रै’छ भने हरेकलाई प्रधानमन्त्री भेट्नैपर्ने, फोटो खिच्नैपर्ने, त्यो पनि गरियो । किनभने, जसरी पनि चुनावी वातावरण बनाउनु थियो । निर्वाचनको दिन बेलुका ५ बजेसम्म पनि के हो, के हो भन्ने भइरहेको थियो । मतदान हुँदाहुँदै हमला हुने हो कि भन्ने अवस्थालाई रोकियो । धार्मिक साम्प्रदायिक कुरालाई लिएर ठाउँ ठाउँमा तनाव सिर्जना गरिए । ती पनि रोक्यौँ । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखेर निकम्मा बनाइएको रहेछ । अहिले त्यो गृह मन्त्रालय मातहत राखेर क्रियाशील गराइएको छ ।

निर्वाचनमा नयाँ दलले झन्डै दुई तिहाइ हैसियतमा विजय हासिल गरेको छ । पुराना स्थापित दलहरू कमजोर देखिए । यो परिणामलाई कसरी लिनुभएको छ ?
अहिलेको मत-परिणाम युवाको हो । जेन-जी आन्दोलनको असर पनि हो । परिवर्तनको चाहना पनि हो तर पुराना दलले पनि आत्तिनु पर्दैन । नयाँले मात्तिनु पर्दैन । हामीले पनि नसोचेको भयो । मैले त ओली (पूर्वप्रधानमन्त्री केपी शर्मा) हार्नुहोला भन्ने सोचेको पनि थिइनँ । उहाँको ३०÷४० वर्ष राजनीति गरेको ठाउँ, उहाँको इष्टमित्र सबै भएको ठाउँ हो ।
अन्तिममा भेट्दा मैले ओलीलाई भनेको थिएँ– राजनीतिमा कस्तो हुन्छ भने मेरा परिवारका मानिस पनि कांग्रेस छन् । वर्षभरि पार्टीलाई धारे हात लाउँछन् तर भोट दिनेबेलामा त्यसैलाई दिन्छन् । तपाईंलाई भोट दिन्छन् । त्यस्तो होला भन्ने त मलाई पनि लागेको थिएन । जनताले दिएको मतलाई सम्मान गर्नु पर्छ । रास्वपाले पाएको मतको सम्मान गर्नु पर्छ ।
विपक्षीले थोरै मत पाएको भए पनि रास्वपाले त्यसलाई सम्मान गर्नु पर्छ । राजनीतिमा निर्वाचन नभएसम्म यो पार्टी र त्यो पार्टी हुन्छ । निर्वाचनपछि अल्पमतलाई पनि जित्नेले बेवास्ता गर्नु हुँदैन । पुराना पार्टीलाई रास्वपाले सम्मान गर्नु पर्छ । सत्तापक्षले गलत गरेमा प्रतिपक्षले विरोध गर्नु पर्छ । राजनीति भनेको सामाजिक सेवा हो । भारतमा इन्दिरा गान्धीले त्यसै गरी हार्नुभएको थियो, पछि जित्नुभयो । नेपालका परिपक्व भएका नेतालाई जनताले बिर्सिंदैनन् । आज एउटा लहर आएको हो, भोलि अर्को आउन पनि सक्छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको भावनाबमोजिम अहिलेको सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि के के काम गर्न सक्यो ?
सुशासन र भ्रष्टाचार नियन्त्रणमा हामीले सक्दो प्रयास ग¥यौँ । विगतका सरकारले गर्ने जस्तो ह्वार ह्वार खर्च गरेनौँ । तलब लिइनँ । बालुवाटारमा बस्छु, त्यति मात्रै हो । केही लिन्नँ । ‘बुलेट प्रुफ’ गाडी, बाहिर यात्रा गर्दा नेपाली सेनाको हेलिकोप्टरको प्रयोग गर्नुपर्ने रहेछ । अन्य केही मन्त्रीले पनि तलब लिनुभएको छैन । केही मन्त्रीको त अर्को आयस्रोत नै छैन, लिनै प¥यो ।
हामीले अनावश्यक खर्च कटौती ग¥यौँ । निर्वाचनमा पनि जम्मा ३२ अर्ब रुपियाँ खर्चको हिसाब छ तर त्यो खर्च प्रहरी, सेना र सुरक्षा सामग्रीमा गएको समेत हो । भोलि पनि काम लाग्ने सामग्री छन् । अत्यावश्यक मात्रै खर्च भयो । निर्वाचन आयोगले पनि न्यूनतम खर्च गरेको छ, एकदम मितव्ययी भएर ।
राष्ट्रिय सभाको निर्वाचनमा चार करोड अनुमान गरेकामा रु. दुई करोड रुपियाँ मात्रै खर्च भएको छ । मलगायत केही मन्त्रीले त रातो पासपोर्ट नै बनाएनौँ । विदेश भ्रमणमा गएर राज्यकोषमा भार थपेनौँ । निर्वाचनको अवस्था बुझ्न र त्यहाँ परिचालित जनशक्तिलाई ढाडस दिन केही जिल्लामा गयौँ । मलाई लाग्छ, यति मितव्ययिता अपनाउने सरकार विगतमा थिएन । कर्मचारीतन्त्र र सुरक्षा सङ्गठनमा नियुक्ति र बढुवा गर्दा कतै चलखेलको ठाउँ नराखी ज्येष्ठता र कार्यक्षमतालाई आधार मान्यौँ । ती सङ्गठनको दीर्घकालीन मनोबल बढाउने काम ग¥यौँ ।
विश्वविद्यालय जस्ता प्राज्ञिक थलोलाई हामी उचित सम्मान दियौँ । त्यहाँका नियुक्तिमा हस्तक्षेप गरेनौँ । हामीले १९ वटा विश्वविद्यालयका सभामा हुने नियुक्ति र मनोनयनमा हाम्रा मान्छे भनेर सूची दिएनौँ । जबकि त्यहाँ ४५ जनासम्म नियुक्ति हुने रहेछ र ती सबै सदस्य रुलिङ पार्टीको मात्रै हुने रै’छ । नातागोता कसैलाई नियुक्ति गरेनौँ ।
सुरक्षा सङ्गठनका प्रमुख कार्की थरका भनेर पनि टिप्पणी गरिए तर उहाँहरू मेरो नाताका कार्की होइन । मुख्यसचिव बनाउँदा पनि ज्येष्ठतालाई ध्यान दियौँ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, सिआइबी लगायत संस्थाले अभूतपूर्व व्यावसायिक स्वतन्त्रताका साथ काम गरेका छन् । म ती संस्थाका प्रमुख तथा पदाधिकारीको उच्च प्रशंसा गर्दछु ।
जेन-जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले पनि यो सरकारका पालामा कुनै भनसुन सुन्न नपरेको भन्दै हुनुहुन्थ्यो । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग जस्ता संस्थालाई प्रधानमन्त्रीको मातहतबाट सम्बन्धित मन्त्रालयमा पठाइदिएँ । मुलुकका १९ वटा विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने रै’छ । यसमा संशोधन गर्न खोजेका थियौँ तर अध्यादेश ल्याउन सम्भव भएन । जो पायो । त्यही राख्ने होइन । विज्ञताका आधारमा राख्नु पर्छ ।

केही दिनमा नयाँ सरकार बन्दै छ । नयाँ सरकारलाई यहाँको सन्देश के हुन्छ ?
नयाँ सरकारले सबैभन्दा पहिला जेनजीले राखेका तीन वटा माग पूरा गर्नु पर्छ– सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र रोजगारीको व्यवस्था । सबैभन्दा ठुलो समस्या रोजगारीको अभाव छ । भएका अवसरमा पनि नातावाद छ । यस्तो अवस्था हटाउँदै आर्थिक स्थितिमा सुधार गर्नु पर्छ । खुलेआम भ्रष्टाचार रोक्नु पर्छ । सबैभन्दा ठुलो सुधार सिंहदरबारभित्र गर्नुपर्ने मैले देखेको छु । त्यहाँ काम गर्ने कर्मचारी राजनीतीकरण हुने गरेको देखियो । हरेक कामलाई सचिवहरू फनफनी घुमाइरहँदा रहेछन् ।
अन्त्यमा प्रधानमन्त्री कार्यकालबारे भन्नैपर्ने केही कुरा छन् ?
सरकारलाई निर्वाचन गराउने जिम्मेवारी थियो । त्यो पूरा भयो । विकासका क्षेत्रमा पनि केही प्रयास भएका छन् । नयाँ सरकारले देशका युवालाई रोजगारी दिनु पर्छ । देशमा बस्ने वातावरण बनाउनु पर्छ । विदेश गएर बाकसमा फर्कनुपर्ने अवस्थाको अन्त्य होस् । शिक्षामा सुधार जरुरी छ । देशप्रति विश्वासको वातावरण बनाउनै पर्छ । प्राकृतिक स्रोतसाधनका हिसाबले अन्यन्तै सुन्दर देश छ । अब द्वन्द्व र तनावको अवस्था नहोस् । सबै मिलेर बस्ने वातावरण बनोस् । बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु । मलाई बालेनप्रति विश्वास छ । केही होला भन्ने आशा पनि छ ।
– कालिका खड्का
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
