काठमाडौँ, मङ्सिर ३ गते । थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्यो। रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन बनाउँदै पूरा गरेको थियो। अन्तिम दुई बलमा विजयका लागि २ रन आवश्यक भएको अवस्थामा रत्नायकेले विजयी चौका प्रहार गरेका थिए।
सुदूरपश्चिम लगातार तेस्रो सिजन फाइनल प्रवेश गरेको हो। टोलीले शनिबार हुने उपाधि भिडन्तमा लुम्बिनी लायन्सको सामना गर्नेछ। लुम्बिनीले मंगलबार भएको क्वालिफायर १ मा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।
पहिलो उपाधिको खोजीमा रहेको सुदूरपश्चिम पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो।
लक्ष्य पछ्याउने क्रममा जर्ज मुन्से ८ रनमा आउट भए भने विनोद भण्डारीले २३ रन, स्कट कुगेलेइनले २ रन, ईशान पाण्डेले १० रन, कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन, आरिफ शेखले १० रन र फाबियन एलेनले ५ रन जोडे। चितवनका रञ्जित कुमारले २ तथा रिजन ढकाल, कमलसिंह ऐरी, उसामा मिर र सलाहुद्दिन खानले १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३३ रन बनाएको थियो। चितवनको सुरुआत निकै खराब रह्यो; अघिल्लो दिन १ सय २० रन बनाएका कामिल मिशारा ४ रनमा र अर्का ओपनर देव खनाल ६ रनमा आउट भए।
डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित ७१ रन बनाउँदै प्रतियोगितामा दोस्रो अर्धशतक पूरा गरे। कप्तान रवि बोपारा १ रन, विवेक यादव ३ रन, कुशल मल्ल १ रन र उसामा मिर २ रनमा आउट हुँदा सलाहुद्दिनले १८ रन, कमलसिंह ऐरीले १० रन र रिजन ढकालले अविजित ३ रन बनाए।
सुदूरपश्चिमको बलिङतर्फ स्कट कुगेलेइनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट तथा थारिन्दु रथ्नायकेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे र हेमन्त धामीले १–१ विकेट हात पारे। प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका रिजन ढकालको यो १७औँ विकेट रह्यो।
| विवरण | तथ्य / जानकारी |
| खेल / चरण | नेपाल प्रिमियर लिग (एनपीएल) — क्वालिफायर २ |
| नतिजा | सुदूरपश्चिम रोयल्स ३ विकेटले विजयी (१९.५ ओभरमा १३६/७) |
| चितवन राइनोजको स्कोर | १३३/९ (२० ओभर) — डेविड मलान ७१ रन |
| सुदूरपश्चिमका प्रमुख प्रदर्शन | थारिन्दु रथ्नायके ५३* रन र २ विकेट; स्कट कुगेलेइन ३ विकेट |
| फाइनल भिडन्त | शनिबार : सुदूरपश्चिम रोयल्स विरुद्ध लुम्बिनी लायन्स |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्