11/19/2026, 16:56:59
बिहिबार, मङि्सर ०४, २०८३

पुस २ देखि एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द हुने : एक महिनाभित्र बाँकी ६८ प्रतिशत साइट हटाइँदै

पुरानो प्रविधि विस्थापन गरी फोरजी र भोल्टेलाई सुदृढ बनाउने तथा भविष्यमा फाइभजीका लागि तयार हुने उद्देश्यले एनसेलले चार चरणमा बाँकी २ हजार १ सय ३७ थ्रीजी साइट बन्द गर्न लागेको छ।


काठमाडौँ, मङ्सिर ३ गते । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। कम्पनीले अब बाँकी रहेका ६८ प्रतिशत थ्रीजी साइट पनि एक महिनाभित्रै बन्द गर्ने योजनाको कार्यान्वयन सुरु गरेको छ।

एनसेलका कुल ३ हजार १ सय २९ वटा थ्रीजी साइटमध्ये हालसम्म ९ सय ९२ वटा साइट बन्द भइसकेका छन् भने बाँकी रहेका २ हजार १ सय ३७ वटा साइटमा समेत थ्रीजी सेवा बन्द गरिनेछ। विसं २०७४ मा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुने कम्पनीले स्पष्ट पारेको छ।

थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्ने रणनीतिअनुसार एनसेलले यसलाई चार चरणमा कार्यान्वयन गरिरहेको छ। पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट बन्द गरिनेछ भने दोस्रो चरणमा मंसिर १४ गते काठमाडौँ, ललितपुर र भक्तपुरका साइटहरू बन्द हुनेछन्।

त्यसैगरी, तेस्रो चरणमा मंसिर २१ गते मधेस र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थानका साथै चितवनमा थ्रीजी सेवा बन्द गरिनेछ भने चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेस र कोशी प्रदेशका विभिन्न स्थानमा बाँकी रहेका सबै थ्रीजी साइट बन्द गरिनेछ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधिमा रूपान्तरण गर्ने तथा पुराना प्रणालीको सञ्चालन र मर्मत-सम्भार लागत घटाउने योजनाबमोजिम यो निर्णय लिइएको हो।

थ्रीजी बन्द भएपछि उपलब्ध हुने फ्रिक्वेन्सीलाई फोरजी नेटवर्क थप सुदृढ बनाउन, क्षमता अभिवृद्धि गर्न र कनेक्टिभिटी सुधार गर्न पुनः प्रयोग गरिनेछ। यसले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत स्पष्ट गुणस्तरको भ्वाइस कल, छिटो कनेक्सन र एकैसाथ डेटा चलाउन सहज बनाउनेछ भने कम्पनीलाई भविष्यमा फाइभजी प्रविधिका लागि तयार हुन समेत मद्दत पुग्नेछ।

कुनै पनि ग्राहक डिजिटल डिभाइडको जोखिममा नपरून् भन्नेमा सचेत रहँदै फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकले पनि टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा निरन्तर प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ।

एनसेलको फोरजी नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको र सक्रिय ग्राहकमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम नलिएको उल्लेख गर्दै कम्पनीले थ्रीजी सिम प्रयोगकर्तालाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको जनाएको छ।

चरण मिति प्रभावित क्षेत्र / स्थान
पहिलो चरण मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका थ्रीजी साइट
दोस्रो चरण मंसिर १४ गते काठमाडौँ, ललितपुर र भक्तपुरका साइट
तेस्रो चरण मंसिर २१ गते मधेस र गण्डकी प्रदेशका बाँकी स्थान तथा चितवन
चौथो चरण मंसिर २६ गते मधेस र कोशी प्रदेशका बाँकी सबै थ्रीजी साइट
पूर्ण बन्द पुस २ गते एनसेलको थ्रीजी सेवा पूर्ण रूपमा बन्द