05/08/2026, 16:43:46
शुक्रबार, बैशाख २५, २०८३

गोरखापत्रमा नाम छापिँदा ‘चार्म’ नै बेग्लै हुन्थ्यो : हरिवंश आचार्य


नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् ‘मह जोडी’ का रूपमा पनि उहाँका प्रस्तुति लोकप्रिय छन् । आचार्यले गाईजात्रा महोत्सवमा विसं २०३४ मा भाग लिएपछि उहाँको प्रसिद्धि बढ्यो । ‘बलिदान’, ‘लोभीपापी’, ‘फिलिम’, ‘राजामती’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘भुठान’ र ‘हरिबहादुरको जुत्ता’ उहाँका केही लोकप्रिय चलचित्र हुन् । गोरखापत्र १२६ वर्ष प्रवेश उपलक्ष्यामा उहाँसँग चलचित्र क्षेत्रको समसामयिक विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि नारद गौतम र सुकृत नेपालले गर्नुभएको कुराकानी :

तपाईंको जीवन र करियरसँग जोडिएका धेरै हास्य पात्र चर्चित छन्, तीमध्ये तपाईंको मनमा विशेष रूपले बसेका वा दर्शकले अझै सम्झिरहने कुनै पात्रबारे केही बताइदिनुहुन्छ कि ?

हामीले त्यस्तो धेरै अनगन्ति शृङ्खला र चरित्र गरेका छैनौँ । थोरै नै गरेका छौँ । भर्खर भर्खर नेपालमा टेलिभिजनको उदय हुँदा हामीले ‘पन्ध्र गते’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘दसैँ’,

‘लालपुर्जा’ र ‘सुरबेसुर’ टेलिचलचित्र बनाएका थियौँ । त्योबेला विकल्प धेरै थिएन । भारतीय दूरदर्शन र नेपाल टेलिभिजन मात्र थियो । नेपाल टेलिभिजनमा हाम्रा टेलिचलचित्र प्रसारण भयो कि यति हिट हुन्थ्यो कि शतप्रतिशत मान्छे (टेलिभिजन भएका घरका मानिस) ले हाम्रा टेलिचलचित्र हेर्नुहुन्थ्यो । टेलिभिजन भएका घरका छिमेकीसमेत आएर हेर्नुहुन्थ्यो । टेलिचलचित्र प्रसारण भएको दिनमा टेलिभिजन भएका घरका ढोकामा टोलभरिका मान्छेका जुत्ता हुन्थ्योे । धेरैका घरमा त श्यामश्वेत टेलिभिजन नै हुन्थ्यो ।

मलाई सम्झना छ, हप्ताको एक पटक जब हाम्रो टेलिचलचित्र प्रसारण हुन्थ्यो, त्यो बेला सहर नै सुनसान हुन्थ्यो । सबै मान्छे आज टेलिचलचित्र हेर्नु पर्छ भनेर बस्नुहुन्थ्यो । मैले आफ्नो टेलिचलचित्र सम्पादन गर्ने बेला धेरै पटक हेरिसकेको हुन्थेँ । म मोटरसाइकल चढेर गल्ली गल्ली घुम्थेँ र शून्य भएको देख्दा रमाइलो लाग्थ्यो । सबै पात्रलाई दर्शकले मन पनि पराउनुहुन्थ्यो । पछिल्लो समय धेरै प्रतिस्पर्धा छ । नेपालको आकाशमा धेरै विदेशी च्यानल देखिएका छन् । अहिले टेलिभिजनमा कार्यव्रmम हेर्ने फेसन पनि फरक भएको छ । पहिले टेलिचलचित्र हुन्थे भने अहिले ‘रियालिटि सो’ धेरै छन् । समय धेरै परिवर्तन भइसक्यो ।

कलाकारका रूपमा तपाईंले धेरै भूमिका निर्वाह गर्नुभएको छ तर मनमा भएर पनि विभिन्न कारणले गर्न नपाएको कुनै भूमिका छ कि ? 

त्यस्तो खासै छैन । मैले गर्न पाइरहेको छु । नेपालमा ठुलठुला ऐतिहासिक चलचित्र बन्ने वातावरण छैन । न त इतिहाससँग सम्बन्धित कथा नै बनाउन सकिएको छ । त्यस्तोमा अभिनय गर्न पाए हुन्थ्यो । हामीसँग स्रोतसाधन पनि कम छ । यो क्षेत्रमा खासै लगानी गर्नेले चासो देखाएको पनि देखिँदैन । त्यसैले ऐतिहासिक चलचित्र बने हुन्थ्यो भन्ने छ । त्यसमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने छ । नत्र अधिकांशमा मैले काम गरिसकेको छु । मेरो अभिनय भनेको हास्यव्यङ्ग्यबाट सुरु भएको हो तर पछिल्लो समय मैले केही गम्भीर भूमिका भएका चलचित्रमा पनि काम गरेँ । उमेरले गर्दा पनि होला अब मलाई हास्यभन्दा पनि अलि गम्भीर चरित्र गर्न रुचि छ ।

व्यस्त कार्यतालिकाबिच फुर्सदका क्षणमा तपाईं कसरी समय बिताउनुहुन्छ ? अहिले चलचित्रको क्षेत्रमा केही गर्दै हुनुहुन्छ कि ?

मलाई खासै फुर्सद हुँदैन । अहिले म ‘पाँच पाण्डव’ भन्ने चलचित्रमा अभिनय गरिरहेको छु । महसञ्चारको होइन, त्यसको निर्माता अरू नै हुनुहुन्छ । म त्यो चलचित्रको एउटा पात्र हुँ । चलचित्रको निर्देशक पनि अरू नै हुनुहुन्छ । म अस्ति ४० दिन झापामा बसेर आएँ । अझ १० दिन जतिको काम बाँकी छ ।

चलचित्र ‘भुठान’ को कथाभन्दा पनि तपाईको अभिनयको तारिफ धेरै भएको छ । किन होला ? 

चलचित्रमा म एकदमै फरक भूमिकामा देखिएको छु । कुनैबेला बलिदान भन्ने चलचित्रमा मेरो क्यारेक्टर भिन्न थियो । त्यसमा मैले एउटा क्रान्तिकारी युवाको भूमिका निर्वाह गरेको थिएँ । त्यसबाट मैले हास्यबाहेक अन्यमा पनि अभिनय गर्न सक्दो रहेछु भन्ने छाप बसेको थियो । ‘भुठान’ एउटा ‘आर्ट’ चलचित्र हो । चलचित्र हलमा हाउसफुल भएर एकैचोटी सय दिन मनाउने चलचित्र होइन । त्यसको प्रदर्शनीको समय निर्माणकर्ताले बिगारेको हो । त्यो चलचित्र कम्तीमा दुई/तीन वटा हलमा निश्चित समयमा प्रदर्शन भएको भए त्यसका दर्शक पक्कै हुन्थे होला । फेरि यस्तो चलचित्रका दर्शक थोरै नै हुन्छन् । यो एउटा अन्तर्राष्ट्रियस्तरको चलचित्र बनेको छ । अहिले त्यो चलचित्र अमेजोन प्राइममा पनि हेर्न पाइन्छ । त्यसमा मेरो भूमिका अन्य चलचित्रको भन्दा फरक नै छ । चलचित्रमा मैले मेरो उमेरका मान्छे, जो नेपालबाट अमेरिका गएर बसेका छन्, उनीहरूको दैनिकी कसरी बितिरहेको छ भन्ने अभिनयमार्फत दर्साउन खोजेको छु ।

आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि यहाँको छ कि ? 

मैले चलचित्र लेख्न चाहिँ लेख्छु तर निर्देशन गर्दिनँ । निर्देशक भइसकेपछि धेरै जिम्मा लिनु पर्छ । कहिलेकाहीँ रातभरि नै सुटिङ हुन्छ । मैले आफूले अभिनय गरेको चलचित्रको सुटिङ चाहिँ रातभर जागराम बसेर भए पनि गर्छु तर आफैँ निर्देशन गर्न मन छैन । निर्देशकको दायित्व एकदमै धेरै हुन्छ । अहिले हामीभन्दा पनि राम्रा राम्रा युवा निर्देशक आएका छन् । निर्देशन उहाँहरूलाई गराउने र काम चाहिँ हामी गर्ने ।

समग्र चलचित्र क्षेत्रलाई अहिले कस्तो रूपमा लिनुभएको छ ? 

नेपालमा चलचित्र चाहिनेभन्दा धेरै बनिरहेका छन् । हाम्रो बजारभन्दा एकदमै धेरै बन्यो । फेरि म बनाउँछु, तपाईंहरू नबनाउनुस् भन्न पनि मिल्दैन । यो सबैको अधिकारको कुरा हो । सबैलाई रहर पनि होला । यसमा फाइदा पनि छ किनभने मान्छेले रोजगारी पाइरहेका छन् ।

धेरै प्राविधिकले रोजगारी पाएका छन् । यति हुँदा हुँदै पनि ९५ प्रतिशत चलचित्र अभैm पनि आफ्नो लगानी सुरक्षित गर्न सकिरहेका छैनन् । एकै हप्तामा तीनदेखि चार वटा चलचित्र प्रदर्शनमा आइरहेका छन् । त्यो हाम्रो चलचित्र बजारमा धेरै नै हो । फेरि यहाँ निर्यात गर्ने ठाउँ पनि छैन ।

तपाई र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ । दुवैलाई दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । यसमा भित्रभित्रै केही हुँदै छ कि ? 

हामीले सँगै काम गरी नै रहेका छौँ । चलचित्र ‘हरिबहादुरको जुत्तामा’ पनि मदन दाइलाई अन्तमा ल्याएर जोडेका छौँ । एउटै चलचित्रमा दुई जना खेल्नै पर्छ भन्ने हुँदैन । त्यो त जबरजस्ती मिलाउनुपर्ने हुन्छ । दाइले अहिले चारदेखि पाँच वटा चलचित्रमा अभिनय गर्नुभएको छ र त्यहाँ मैले खेलेको छैन । तपाई अभिनय नगर्नुहोस् भनेर भन्ने कुरा पनि त भएन । मलाई सुहाउने क्यारेक्टर मैले पाइरहेको छु । हामीमा दुई जनासँगै काम गर्नै पर्छ भन्ने छैन । निकट भविष्यमा अवश्य नै जोडिएला ।

अबको दिनमा तपाईंलाई दर्शकले कस्तो भूमिकामा देख्न पाउने छन् ? 

अहिले एउटा ‘पाँच पाण्डव’ भन्ने चलचित्र निर्माण भइरहेको छ । त्यसमा म पाँच पाण्डवमध्ये युधिष्ठिरको भूमिकामा छु । चलचित्रमा अहिलेको समाज र त्योबेलाको समाजको ‘फ्युजन’ छ ।

नेपालको हास्यव्यङ्ग्य अहिले कस्तो छ ? 

अहिले हास्यव्यङ्ग्यमा एकदमै राम्रो अभिनय गर्ने क्षमता भएका भाइबहिनी आउनुभएको छ ।  दुई÷चार जना त एकदमै लोभ लाग्ने कलाकार हुनुहुन्छ । विशेष गरेर ‘रियालिटी सो’ हरूमा यस्तो कुरा सुन्न पाइन्छ । हास्यव्यङ्ग्य भनेको जस्तो फुटबल खेल्दा पेनाल्टीमा गोल हुने सम्भावना धेरै हुन्छ तर छक्याएर गोल हान्दाको ‘चार्म’ विल्कुलै भिन्न हुन्छ । यसैले पनि अहिले हास्यव्यङ्ग्य गर्ने चलन अलि बढेको छ ।

कला क्षेत्रमा लागेका युवापुस्तालाई यहाँको सुझाव केही छ कि ?

चलचित्रसँगै थिएटर र कला क्षेत्रको पनि उन्नति भइरहेको छ । थिएटर भनेको मान्छेको कला सिक्ने थलो पनि हो । हाम्रो पालामा हामीले पढेरभन्दा पनि परेर गरेको हो तर अहिले सबै कुरामा सुविधा छ । अहिले अभिनय पढ्ने कलेज पनि धेरै नै खुलेका छन् ।  पढेर आउन पाइन्छ । विभिन्न मञ्च फराकिला भएका छन् तर यो क्षेत्रमा जति मान्छे लाग्नुभएको छ, सबैलाई अर्थिक जोहो गर्न भने सजिलो छैन । जीवन जेनतेन चल्छ । त्यसैले यस क्षेत्रमा लाग्नेले विकल्प सोचेर आउनु पर्छ ।

नेपालको पहिलो समाचारपत्र गोरखापत्र १२६ वर्षमा प्रवेश गरेको छ, गोरखापत्रसँग यहाँको स्मरण केही छ कि ? 

हामीलाई यहाँसम्म ल्याउने पहिलो गुन गोरखापत्रले नै लगाएको हो । गोरखापत्रमा समाचार छापिसकेपछि साक्षर मान्छे सबैले पढ्ने, एउटा सूचनाको माध्यम नै त्यही थियो । मनोरञ्जनको माध्यम पनि त्यही नै थियो । भैरव अर्यालका कृति, केशवराज पिँडालीका कुरा र साहित्यकारका लेख पढिन्थ्यो । अभिनय गरेपछि गोरखापत्रमा नाम छापिँदा त्यसको चार्म नै बेग्लै हुन्थ्यो । गोरखापत्रमा एउटा फोटो छापिँदा सिएनएनमा आएको जस्तो लाग्थ्यो ।

गाईजात्रा महोत्सवमा भाग लिएदेखि नै गोल्ड मेडल प्राप्त गर्दै गएँ । गोरखापत्रमा दुर्गानाथ शर्मा हुनुहुन्थ्यो, उहाँले पहिलो पटक आफ्नो लेखमा मेरो नाम राखेर धेरै तारिफ गर्नुभएको थियो । त्यसको कटिङ निकालेर सिरानीमा टाँसेर राखेको आज पनि मलाई याद छ । त्यसलाई हेर्दा एकदमै प्रेरणा मिल्थ्यो र काम गर्ने जाँगर बढेर आउँथ्यो । पछिल्लो समयमा ‘विज्ञापन’ नाटककै कुरा गरौँ । उक्त नाटक हामीले ३७६ पटक देखायौँ । त्यसमा गोरखापत्रमा एउटा विज्ञापन छापिसकेपछि अन्त केही पनि भन्नु पर्दैन्थ्यो । सबैतिर हल्ला हुन्थ्यो । मैले राष्ट्र बैङ्कमा पनि काम गरेँ । त्यहाँ रेडियो कार्यक्रम चलाउँथे । एकै दिनमा स्व्रिmप्ट लेखेर रेकर्ड गर्थे, जुन मेरा लागि सजिलो काम थियो । पाँच दिन मेरो खासै काम हुँदैन्थ्यो र म गोरखापत्र पढेर बिताउँथेँ ।

‘लालपुर्जा’ सुटिङका लागि मुस्ताङ जाँदा गोरखापत्रको विज्ञापनको एउटा रोचक प्रसङ्ग थियो, यसको केही सम्झना छ कि ? 

त्यसमा जग्गाधनी धु्रवराम पण्डित भन्ने मेरो क्यारेक्टर थियो । त्यो समय काठमाडौँमा जग्गाधनी बढी पीडित थिए । आफ्नो जग्गा छ तर न घर बनाउन पाइन्छ न त्यहाँ गएर खेती गर्न पाइन्छ । अझ एउटै गाउँमा धेरै मोही भएको ठाउँमा त जग्गाधनी भाग्नुपर्ने स्थिति थियो । भूकम्पले घर भत्कियो बस्ने ठाउँ छैन । आफ्नो नाममा भएको लालपुर्जाको जमिन माग्दा पनि द्वैध स्वामित्वले गर्दा उसले पाउँदैन । कथाको यही प्रसङ्ग जोड्दै यो टेलिचलचित्र बनाएका हौँ । गोरखापत्रमा  जग्गाको हकदाबी गर्ने व्यक्ति कोही छ भने दाबी गर्न आउनु भन्ने सूचना निकालिन्छ । ३५ दिनभित्र कोही दाबी गर्न आएन भने जसले दाबी गरेको हो उसको नाममा जग्गा दर्ता हुन्छ । यसैलाई कथा बनाएर यो सिरियल बनाएको हो ।

गोरखापत्र परिवारलाई केही सुझाव छ कि ?

गोरखापत्र हाम्रो मौलिक पत्रिका हो । सबै पत्रपत्रिकाको अभिभावक पनि हो । यसको संरक्षण गर्नु पर्छ । त्यसको मानमर्यादा राख्नु पर्छ । गोरखापत्रले पनि अहिलेको समय निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै अगाडि बढ्नु पर्छ । गोरखापत्र पहिला पहिला सरकारको मुखपत्र हुन्थ्यो तर अहिले धेरथोर परिवर्तन भएको छ । बाहिरका सत्यतथ्य घटनालाई नलुकाई समाचार प्रकाशित गर्नु गोरखापत्रको दायित्व हो ।

– नारद गौतम र सुकृत नेपाल