काठमाडौँ, वैशाख २५ गते । सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
संवत् २०८३ साल वैशाख २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २८ गते सोमबार दिनको १६:०० बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग भन्नुभयो, ‘‘बैठकले यही वैशाख २८ गते सोमबार मध्यान्ह ४ बजे बस्ने सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ।’’


बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सलहरूलाई पदमुक्त गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
मन्त्रीपरिषद्ले सोही मन्त्रालयको अर्को प्रस्ताव अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ लाई पनि अनुमोदनका लागि सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । यी निर्णयहरूले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र श्रम निरीक्षण प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने सरकारको विश्वास रहेको छ ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































