11/21/2026, 09:08:48
शनिबार, मङि्सर ०६, २०८३

मधेशमा सरकार गठनको दाबी नपरेपछि प्रदेश प्रमुख परामर्शमा, शनिबार निष्कर्ष आउने

कांग्रेस, एमाले र नेकपाले धारा १६८(२) मै समय थप्न आग्रह गर्दा जसपा नेपालद्वारा १६८(३) बमोजिम ठूलो दललाई मुख्यमन्त्री नियुक्त गर्न सुझाव


जनकपुरधाम, मङ्सिर ५ गते । मधेश प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समयसीमाभित्र दाबी नपरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण आगामी प्रक्रियाबारे परामर्शमा जुट्नुभएको छ । प्रदेश प्रमुख कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै अबको प्रक्रियाबारे छलफल र परामर्श थालिएको जानकारी दिएको हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामापछि प्रदेश प्रमुख कर्णले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मङ्सिर ४ गते दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । तर निर्धारित समयमा कुनै दलले दाबी पेस गर्न सकेनन् ।

समयसीमा सकिएलगत्तै शुक्रबार दिउँसो प्रदेश प्रमुख कार्यालय पुगेका कांग्रेस, एमाले र नेकपाका नेताहरूले चाडपर्वका कारण दलहरूबीच गहन छलफल हुन नसकेको भन्दै धारा १६८(२) बमोजिम नै समय बढाउन आग्रह गरेका छन् । कामचलाउ मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले समय थप्न माग गरिएको जानकारी दिनुभयो ।

अर्कातर्फ, जसपा नेपालका नेता एवं पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरूले धारा १६८(२) अनुसार दाबी नपरेकाले धारा १६८(३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सुझाव दिनुभएको छ । फरक–फरक सुझाव आएपछि शनिबारभित्र कुनै निष्कर्ष आउने प्रदेश प्रमुख निकट स्रोतले जनाएको छ ।

पक्ष / विषय मुख्य धारणा वा अवस्था
दाबी पेसको अवस्था मङ्सिर ४ दिउँसो ४ बजेसम्मको समयसीमामा धारा १६८(२) बमोजिम बहुमतको सरकार गठनका लागि कुनै दलको दाबी परेन ।
कांग्रेस, एमाले र नेकपा चाडपर्वका कारण दलहरूबीच पर्याप्त छलफल हुन नसकेकाले धारा १६८(२) मै समयसीमा थप गर्न आग्रह ।
जसपा नेपालको सुझाव धारा १६८(२) बमोजिम दाबी नपरेकाले धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्न माग ।
प्रदेश प्रमुखको कदम शुक्रबार राति विज्ञप्तिमार्फत परामर्श जारी रहेको जानकारी; फरक सुझाव आएकाले शनिबारभित्र निष्कर्ष आउने अपेक्षा ।