11/20/2026, 18:12:11
शुक्रबार, मङि्सर ०५, २०८३
- विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह, २०२६ -

एएमआर नियन्त्रणमा बहुक्षेत्रीय सहकार्य अपरिहार्य : स्वास्थ्यमन्त्री मेहता

अस्पतालमा एन्टिमाइक्रोबियल प्रयोग सर्वेक्षण प्रोटोकल सार्वजनिक, २०२४–२०२८ को कार्ययोजना कार्यान्वयनमा जोड

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ४ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) को बढ्दो चुनौती नियन्त्रण गर्न स्वास्थ्य, कृषि, पशुपन्छी र वातावरण क्षेत्रबीच एकीकृत सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह–२०२६ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई खाद्य प्रणाली, पशुपन्छी, वनस्पति र वातावरणसँग जोडिएको साझा चुनौती भएको उल्लेख गर्नुभयो ।

एन्टिमाइक्रोबियल औषधिको अनियन्त्रित तथा अनुचित प्रयोगले सामान्य सङ्क्रमणको उपचारसमेत कठिन बनाउँदै लगेको मन्त्री मेहताले बताउनुभयो । यसले उपचार खर्च बढाउनुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक तथा व्यवस्थापकीय भार थपिरहेको भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित रूपमा राष्ट्रिय कार्ययोजना (२०२४–२०२८) कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अस्पतालहरूमा औषधि प्रयोगको अवस्था र चिकित्सकीय सिफारिसको प्रवृत्ति पहिचान गर्न ‘प्रोटोकल फर एन्टिमाइक्रोबियल युज पोइन्ट प्रिभेलेन्स सर्भे इन हस्पिटल्स अफ नेपाल, २०२६’ सार्वजनिक गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न र प्रमाणमा आधारित नीति बनाउन यो प्रोटोकल उपयोगी हुने विश्वास गरिएको छ ।

मन्त्री मेहताले नियामकीय निगरानी प्रभावकारी बनाउनुपर्ने, खोप कार्यक्रम तथा सङ्क्रमण रोकथाम र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै चिकित्सकलाई आवश्यकता अनुसार मात्र औषधि सिफारिस गर्न, नागरिकलाई सल्लाहबिना औषधि नखान र कृषि तथा पशु स्वास्थ्यमा जिम्मेवार प्रयोग तथा जैविक सुरक्षा अपनाउन उहाँले आग्रह गर्नुभयो ।

क्षेत्र / बुँदा मुख्य सार वा कारण
एकीकृत सहकार्य एएमआर स्वास्थ्य, कृषि, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा समस्या भएकाले ।
बढ्दो जोखिम र भार औषधिको अनियन्त्रित प्रयोगले सामान्य सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च र स्वास्थ्य प्रणालीमा आर्थिक/व्यवस्थापकीय भार बढाउनु ।
नीति र प्रोटोकल २०२४–२०२८ को राष्ट्रिय कार्ययोजना कार्यान्वयन र अस्पतालको तथ्याङ्क संकलन गरी प्रमाणमा आधारित नीति बनाउन २०२६ को सर्भे प्रोटोकल सार्वजनिक गरिनु ।
प्राथमिकता र सचेतना कडा नियामकीय निगरानी, खोप, सङ्क्रमण रोकथाम, सरसफाइ, सल्लाहबिना औषधि सेवन नगर्ने बानी तथा कृषि/पशु क्षेत्रमा जैविक सुरक्षा अपनाउनुपर्ने ।