काठमाडौँ, मङ्सिर ४ गते । इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ। इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार गर्ने जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का प्रवक्ता ब्रिगेडियर जनरल हुसेन मोहेबीले बिहीबार इरान सबै सम्भावित सैन्य परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताउनुभएको हो। पछिल्लो द्वन्द्वपछि सैन्य क्षमता विस्तार भएको र अमेरिकी गतिविधिमाथि निरन्तर निगरानी भइरहेको दाबी गर्दै उहाँले युद्धको विषय युद्ध-मैदानबाट टुङ्गिने वा अमेरिकाले इरानका सर्त मान्नुपर्ने बताउनुभयो।
मोहेबीका अनुसार बाह्र दिने युद्धपछि इरानले हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्दै स्वदेशमै कम्तीमा तीन नयाँ प्रणाली विकास गरेको छ, जुन घरेलु आवश्यकता पूरा गरी निर्यातसमेत भइरहेका छन्। चार हजार ५०० किलोमिटरसम्मको क्षेप्यास्त्र पहुँच प्रदर्शन गरिसकेको दाबी गर्दै उहाँले आवश्यक परे अमेरिकी सैन्य अखडालाई लक्षित गर्न सक्ने चेतावनी दिनुभयो।
पर्सियन खाडीमा अमेरिकी नौसैनिक उपस्थिति घटेको, युद्धअघिका करिब ४० युद्धपोत अहिले नरहेको, विमानवाहक जहाज ५०० देखि ७०० किलोमिटर टाढा राखिएको तथा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी भण्डारमा कमी आएको उहाँको भनाइ छ।
पुनः आक्रमणको सम्भावनालाई गम्भीर रूपमा लिएको बताउँदै मोहेबीले शत्रुको कुनै पनि कारबाहीको जवाफ कम्तीमा तीन गुणा बढी हुने चेतावनी दिनुभयो। इरानविरुद्ध आफ्नो भू-भाग प्रयोग गर्न दिने देश, साथै इरानी बाँध तथा नागरिक पूर्वाधारमाथि आक्रमण भए प्रतिशोध लिइने उहाँले बताउनुभयो, तर स्थल आक्रमण वा हेलिकप्टर छापाको सम्भावना भने उहाँले अस्वीकार गर्नुभयो।
यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाको संयुक्त आक्रमणपछि इरानले क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो। अप्रिल ८ मा युद्धविराम लागू भए पनि जुन १८ को समझदारी अनुसारको अन्तिम सम्झौता वार्तामा प्रगति नहुँदा इरानले वर्तमान अवस्थालाई स्थायी शान्ति नमानेको स्पष्ट पारेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











प्रतिक्रिया दिनुहोस्