धनगढी, मङ्सिर ४ गते । बजेट विवादमा अल्झेको सुदूरपश्चिम प्रदेशमा दलहरूबिच सहमति जुट्न नसक्दा प्रदेश सभाको बैठक अन्योल बनेको छ। सत्तापक्षभित्रै विवाद बढ्नुका साथै प्रतिपक्ष सरकारको विरोधमा उत्रेपछि प्रदेश सभाको बैठक अन्योल बनेको हो।
बजेटसम्बन्धी विवाद निरूपणका लागि गत कात्तिक २१ गते बोलाइएको प्रदेश सभाको बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए। प्रतिपक्षले नाराबाजी गर्दै सरकारको राजीनामा मागेपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक दुई हप्ता पुग्न लाग्दासम्म सञ्चालन हुन सकेको छैन।
चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले दोस्रो पटक ल्याएको बजेट विवादित बनेपछि सरकार र सदन दुवै सुस्त बनेका छन्। बजेटका विषयमा उत्पन्न विवाद नमिल्दा प्रदेश सभाको बैठक पनि अन्योल बनिरहेको सभामुख भीमबहादुर भण्डारीले बताउनुभयो। उहाँले बजेट विवाद छानबिनका लागि संसदीय अध्ययन समिति बनी अध्ययनको काम हुन नसकेको उल्लेख गर्दै बजेटमा भएका त्रुटि पत्ता लगाउन र सच्याउन संसदीय अध्ययन समिति बनाउने कुरा भए पनि बाहिर छानबिन समिति गठन गर्ने हल्ला चलेको र समितिको काम अघि बढ्न नसकेको बताउनुभयो।
समितिले कात्तिक २० गतेसम्म प्रतिवेदन पेस गर्ने र बजेटमाथि देखिएको विवाद निरूपण गर्न सरकारले मङ्सिर १ गतेसम्म पूरक बजेट ल्याउने भनेर प्रदेश सभालाई जानकारी गराइएको थियो। अब के गर्ने भन्ने विषय प्रदेश सभाको आगामी बैठकले टुङ्गो लगाउने सभामुख भण्डारीको भनाइ छ। उहाँका अनुसार सभाको आगामी बैठक मङ्सिर ५ गते बस्न सक्ने सम्भावना छ भने प्रतिपक्षी दल विरोधमा उत्रेको र नेकपा (एमाले) को पनि आफ्नै पार्टीको कार्यक्रम भएकाले बिचमा बैठक बस्न नसकेको र चालु आवको प्रथम चौमासिक बित्दासम्म ६ पटकसम्म मात्रै बैठक बसेको जनाइएको छ।
| विवरण | तथ्य / जानकारी |
| स्थान तथा विषय | धनगढी / सुदूरपश्चिम प्रदेश बजेट विवाद र प्रदेश सभा बैठक अन्योल |
| सभामुख | भीमबहादुर भण्डारी |
| विरोध तथा अवरोध | कात्तिक २१ को बैठकमा कांग्रेस र राप्रपाको विरोध; दुई हप्ता पुग्न लाग्दासम्म बैठक अनिश्चित |
| समिति तथा पूरक बजेट | संसदीय अध्ययन समिति (कात्तिक २० को समयसीमा); पूरक बजेट ल्याउने जानकारी (मङ्सिर १ सम्म) |
| सम्भावित बैठक तथा कार्यप्रगति | मङ्सिर ५ मा बस्न सक्ने सम्भावना; चालु आव २०८३/८४ मा हालसम्म ६ बैठक |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








प्रतिक्रिया दिनुहोस्