11/20/2026, 13:53:26
शुक्रबार, मङि्सर ०५, २०८३

इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य : प्रधानमन्त्री नेतान्याहु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा जोड दिइरहँदा चीनमा ट्रम्प, सी र पुटिनबीच आणविक नियन्त्रणबारे छलफल भएको छ भने इरानले अमेरिकी आरोप अस्वीकार गरेको छ।

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ४ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउनुभएको छ। इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउन प्रयासरत हुनुहुन्छ। तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वको पहलप्रति शङ्का व्यक्त गर्दै अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि राजनीतिक पद जोगाउन यस्तो पहल गरिएको हुन सक्ने आशङ्का गरेका छन्।

यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको छलफलमा आणविक हतियार प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन्। राष्ट्रपति ट्रम्पले तीनै आणविक शक्तिराष्ट्रले हतियार घटाउने र आणविक जोखिम न्यूनीकरण गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताउँदै इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता दोहोर्‍याउनुभएको छ।

यता, इरानले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समार्फत वासिङ्टनले सन् २००३ मा इराक आक्रमणअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्‍याएको टिप्पणी गर्दै इराक युद्धअघि सामूहिक विनाशका हतियारको दाबी पुष्टि नभएझैँ अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत रहनुपर्ने बताउनुभएको छ।