11/20/2026, 21:12:29
शुक्रबार, मङि्सर ०५, २०८३

स्थानीय तह सबल भए मात्र सङ्घीयताको वास्तविक अनुभूति : अध्यक्ष ओली

स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्ने ओलीको जोड; आलोचना होइन विश्वास जित्न पोखरेलको आग्रह

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

काठमाडौँ, मङ्सिर ४ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्र जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहलाई स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्ने बताउनुभयो । स्थानीय तहको सबलीकरणले देशलाई कुनै हानि नगर्ने भन्दै उहाँले जनप्रतिनिधिहरूलाई प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना होइन, विश्वास जित्ने गरी काम गर्न आग्रह गर्नुभयो । निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने बताउँदै उहाँले जनअपेक्षाअनुसार काम भए-नभएको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न जोड दिनुभयो । देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको उक्त भेलामा सहभागिता रहेको थियो ।

क्षेत्र / बुँदा मुख्य सार वा कारण
स्थानीय तहको सबलीकरण स्थानीय तह सक्षम र सबल भए मात्र सङ्घीयताको वास्तविक अनुभूति हुने र विकास निर्माणले गति लिने ।
स्वायत्तता र अधिकार देशलाई कुनै हानि नपुग्ने भएकाले स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्ने जोड ।
विश्वास र विनम्रता जनताको आलोचना गर्नुको सट्टा विश्वास जित्नुपर्ने र चुनावको विनम्रता पदमा रहँदा पनि कायमै राख्नुपर्ने ।
मूल्याङ्कन र सुशासन जनअपेक्षाअनुसार काम गरे-नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने भएकाले सुशासनको नेतृत्व गर्नुपर्ने ।