काठमाडौँ, मङ्सिर ४ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरमा सुधार हुन नसकेको भन्दै दुर्गम र सहरी दुवै क्षेत्रबाट गुनासो आइरहेकोमा समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिनुभएको छ ।
सबै टावरले पूर्ण क्षमतामा काम गरे-नगरेको यकिन गर्न, कुन टावरले कति ट्राफिक धान्न सक्छ भन्ने तथ्याङ्क दिन र सेवा प्रभावकारी बनाउन कुनै बहाना स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो ।
मन्त्री तिमिल्सिनाले सेवा सुधार तथा पूर्वाधार विस्तारमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ) को रकम उपयोग गर्न र आवश्यक बजेट व्यवस्थापन गर्न सरकार तयार रहेको बताउनुभयो । नयाँ टावर थप्दैमा गुणस्तर सुधारको सुनिश्चितता नहुने भएकाले पूर्वाधार विस्तारसँगै विद्यमान टावरको क्षमता, सञ्चालन अवस्था र विद्युत् अवरुद्ध हुँदा डाटा नचल्ने समस्याबारे विस्तृत प्राविधिक अध्ययन गरी प्रतिवेदन बुझाउन उहाँले निर्देशन दिनुभयो ।
नेपाल टेलिकमका अनुसार देशभर पाँच हजार टावर रहेकामा करिब ५० वटाको सेवा प्रभावित भएको र सेवा विस्तारका लागि एक हजार ६०० नयाँ टावर थप्ने बोलपत्र प्रक्रिया अघि बढाइएको छ । साथै गत वर्ष दुई हजार ८०० नयाँ ब्याट्री थप गरिएकाले विद्युत् जाँदा सहरी क्षेत्रमा चारदेखि छ घण्टा र दुर्गममा आठदेखि १० घण्टासम्म टावर सञ्चालन हुन सक्ने टेलिकमले जनाएको छ ।
जवाफमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले गुणस्तर सुधारमा टेलिकम प्रतिबद्ध रहेको बताउँदै पुराना टावरको क्षमता अभिवृद्धि, नयाँ टावर थप र नियमित गुणस्तर परीक्षण भइरहेको जानकारी दिनुभयो । छलफलमा प्रमुख सञ्चालन अधिकृत प्रेम सिलवाल, मोबाइल सेवा निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी लगायतको सहभागिता थियो ।
| क्षेत्र / बुँदा | मुख्य सार वा कारण |
| गुणस्तर र गुनासो | दुर्गम तथा सहरी क्षेत्रमा टेलिफोन र इन्टरनेट/डाटा नचल्ने गुनासो बढेकाले कमजोरी पहिचान गरी तत्काल सुधार गर्न निर्देशन । |
| प्राविधिक अध्ययन र तथ्याङ्क | टावरको ट्राफिक क्षमता, पूर्ण क्षमतामा सञ्चालन भए-नभएको अवस्था र विद्युत् अवरुद्ध हुँदाको समस्याबारे विस्तृत प्राविधिक प्रतिवेदन माग । |
| पूर्वाधार र बजेट | आरटीडिएफ कोषको उपयोग, बजेट व्यवस्थापन र एक हजार ६०० नयाँ टावर थप्ने बोलपत्र प्रक्रिया अघि बढाइएको जानकारी । |
| ब्याकअप र प्रतिबद्धता | २,८०० नयाँ ब्याट्री जडानले ४–१० घण्टासम्म धान्ने दाबी; पुराना टावर सुधार र नियमित परीक्षण जारी रहेको टेलिकमको जवाफ । |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














प्रतिक्रिया दिनुहोस्