11/20/2026, 21:12:27
शुक्रबार, मङि्सर ०५, २०८३

सुशासन र आर्थिक रूपान्तरणबाटै समृद्धि : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

भ्रष्टाचार र विचौलियामा शून्य सहनशीलता; लगानीको गियर बदल्न र चार महिनाभित्र नतिजा देखाउन निजी क्षेत्रलाई आह्वान

FILE PHOTO - SETOPRESS.COM
©FILE PHOTO - SETOPRESS.COM

विराटनगर, मङ्सिर ४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताउनुभएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा उहाँले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा सरकारले लिएको उल्लेख गर्दै सरकारी निकायमा भ्रष्टाचार वा विचौलियाको हस्तक्षेप भए जानकारी दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

मन्त्री डा. वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने र प्रतिस्पर्धा कमजोर बनाउने भन्दै विचौलिया र अनियमिततामा संलग्न जोसुकैलाई कानुनी कारबाही हुने बताउनुभयो । साथै कानुन-सम्मत निजी सम्पत्ति, उद्योग र लगानीको सुरक्षा सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले आगामी चार महिनाभित्र सुधारलाई परिणाममा बदल्ने गरी काम अघि बढाइएको जानकारी दिनुभयो ।

बेरोजगारी र मूल्य वृद्धिलाई चुनौतीका रूपमा लिइएको बताउँदै अर्थमन्त्री वाग्लेले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र विप्रेषण–आयात–उपभोगको चक्रलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने सरकारको उद्देश्य रहेको स्पष्ट पार्नुभयो । यसका लागि कृषि, उद्योग, पर्यटन, ऊर्जा र सूचना प्रविधिमा युवा तथा उद्यमशीलता प्रवर्द्धन गरिने उहाँको भनाइ थियो ।

पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई प्रतिस्पर्धाको आधार बनाउनुपर्ने मन्त्री वाग्लेले बताउनुभयो । राज्यले कार्यशैली बदल्ने समयमा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार र आधुनिक प्रविधिमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

क्षेत्र / बुँदा मुख्य सार वा कारण
सुशासन र शून्य सहनशीलता भ्रष्टाचारले लागत बढाउने र प्रतिस्पर्धा घटाउने भएकाले विचौलिया तथा अनियमिततामा कानुनी कारबाहीको चेतावनी ।
लगानी सुरक्षा र चार महिने लक्ष्य कानुनसम्मत लगानीको सुरक्षा सरकारको दायित्व भएकाले आगामी चार महिनाभित्र सुधारलाई ठोस नतिजामा रूपान्तरण गर्ने ।
आर्थिक चक्र रूपान्तरण विप्रेषण, उपभोग र आयातमाथिको निर्भरता तोडी बचतलाई लगानी, उत्पादन र निर्यातमा बदल्न तथा रोजगारी सिर्जना गर्न ।
निजी क्षेत्र र पूर्वी क्षेत्रको सम्भावना विराटनगर र पूर्वी नेपालको औद्योगिक विरासत उपयोग गर्दै कृषि प्रशोधन, ऊर्जा, पर्यटन र प्रविधिमा लगानी बढाउन ।