

चितवन – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवन जिल्लामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरू अहिले भरतपुरमा संकलन र पहिचान गर्ने काम तीव्र रूपमा भइरहेको छ।
त्रिशूली र नारायणी नदीका किनारमा ती शवहरू फेला परेका हुन्। फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा शव भेटिएको एसपी पौडेलले जानकारी दिनुभयो।
लगातार शव फेला पर्न थालेपछि तिनको व्यवस्थापन र सनाखत (पहिचान) गर्न सहज होस् भन्ने उद्देश्यले चितवनमा विशेष ‘शव पहिचान कक्ष’ स्थापना गरिएको छ। भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा भरतपुरमा रहेको औद्योगिक विकास प्रतिष्ठानको भवनमा उक्त केन्द्र स्थापना गरिएको हो।
“शव संकलन भएपछि सनाखतको काम पनि सुरु गरिनेछ,” एसपी पौडेलले भन्नुभयो, “अहिलेसम्म अधिकांश शवको पहिचान हुन सकेको छैन। पहिचान भएका शवहरू आफन्तलाई बुझाउने तयारी गरिएको छ।”
उक्त केन्द्रमा २५० वटासम्म शव राख्न मिल्ने व्यवस्था छ। शवलाई नसड्ने गरी चिस्यान केन्द्र (Cold Storage) मा राखिएको छ। केन्द्र निर्माणका लागि उद्योग संघ र उद्योग वाणिज्य संघले आर्थिक सहयोग प्रदान गरेका छन्।
पीडित परिवारलाई राहत पुर्याउन नदी किनारबाट शवलाई एम्बुलेन्समार्फत निःशुल्क ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। साथै, चितवन आउने मृतकका परिवारजनका लागि निःशुल्क खाना र बस्ने व्यवस्था चितवन होटल संघले गरेको छ।
बेपत्ता आफन्तको खोजीमा रहेका परिवारजन शव पहिचानका लागि चितवन आउने क्रम सुरु भएको छ भने प्रशासनले पहिचान प्रक्रियालाई तीव्रता दिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























