08/28/2026, 09:06:01
शुक्रबार, भदौ १२, २०८३

बाढी-पहिरोले देशैभर राजमार्ग अवरुद्ध : यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीको आग्रह


काठमाडौँ, भदौ १२ गते । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका मुख्य सडकमा यातायात प्रभावित भएको छ। काठमाडौँको नागढुंगा–मुग्लिन सडकखण्ड जोखिमका कारण पूर्णरूपमा रोक लगाइएको छ भने इलाममा मेची राजमार्ग पहिरोका कारण ठप्प भएको छ।

बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा पनि बाढी पहिरोको जोखिम बढेको छ। काभ्रेमा बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने मकवानपुरको कान्तिलोकपथ र नुवाकोटको टोखा–छहरे सडकमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ। यसैगरी रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, चितवनको मुग्लिन–नारायणगढ र धादिङस्थित पृथ्वी राजमार्गका विभिन्न स्थानमा बाढीका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोटस्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। निरन्तरको वर्षाका कारण जुनसुकै बेला थप पहिरो खस्न सक्ने भन्दै नेपाल प्रहरीले नागरिकहरूलाई यात्रा गर्नुअघि अनिवार्य रूपमा सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।