08/27/2026, 20:48:29
बिहिबार, भदौ ११, २०८३

अपुष्ट सूचना, तस्बिर र श्रव्यदृश्य सामग्री प्रसारण नगर्न सञ्चार मन्त्रालयको अपिल


काठमाडौँ, भदौ ११ गते । सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालै गएको प्राकृतिक विपद्का घटनासँग सम्बन्धित मानवीय रुपमा संवेदनशील तस्बिर, श्रव्यदृश्य तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग अपिल गरेको छ ।

मुख्य निर्देशन तथा अपिलहरू

आधिकारिक स्रोतको मात्र प्रयोग: गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाएर समाचार प्रकाशन/प्रसारण गर्ने।

संवेदनशील सामग्री पोष्ट नगर्ने: विपद्का हृदयविदारक, भयावह र विचलित बनाउने तस्बिर, श्रव्यदृश्य (भिडियो) वा विवरण सामाजिक सञ्जालमा पोष्ट वा रिपोष्ट नगर्ने।

भ्रामक तथा एआई सामग्रीमा रोक: अपुष्ट, कपोलकल्पित, अफवाह फैलाउने तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी बनाइएका भ्रामक सामग्री सम्प्रेषण नगर्ने।

मानवीय संवेदनशीलताको पालना: मृतकका आफन्त तथा परिवारजनमा थप मानसिक पीडा र विक्षिप्तता नपुगोस् भन्नाका खातिर पीडितप्रति पूर्ण संवेदनशीलता अपनाउने।

तथ्यपरक सूचना प्रवाह: त्रास फैलाउने किसिमका सामग्री छाडेर सही, तथ्यपरक र जिम्मेवार सूचना मात्र सर्वसाधारणसमक्ष पुर्‍याउने।