08/27/2026, 17:13:02
बिहिबार, भदौ ११, २०८३
यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभाव

१९ वर्षमुनिका किशोर-किशोरीमा अपराधजन्य जोखिम बढ्दै


काठमाडौँ, भदौ ११ गते । नेपालमा किशोर-किशोरीहरूमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पर्याप्त शिक्षा र परामर्शको कमी हुँदा उनीहरू अपराधजन्य घटनामा संलग्न हुने जोखिम बढ्दै गएको सरोकारवालाहरूले बताएका छन्।

युथ लिड सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ राइट्स एड्भोकेसी नेपाल (योसान) ले आयोजना गरेको अन्तरक्रियामा सरकारी अध्ययनलाई उद्धृत गर्दै १८ वर्षमुनिका ४७ प्रतिशत किशोर-किशोरी यौनजन्य गतिविधिमा संलग्न हुने गरेको तथ्य प्रस्तुत गरिएको छ।

Photo Copyrights : Plan International Nepal
Photo Copyrights : Plan International Nepal

योसानकी निर्देशक दुर्गा सापकोटाका अनुसार देखासिकीका कारण आपसी सहमतिमा यौनसम्पर्क भए पनि कानुनतः १८ वर्षमुनिका व्यक्तिसँगको यौनसम्पर्कलाई जबरजस्ती करणी मानिने भएकाले उनीहरू कानुनी फन्दामा पर्ने गरेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका दुई हजारभन्दा बढी जबरजस्ती करणीका मुद्दामध्ये ९१ प्रतिशत घटना चिनेजानेकै व्यक्तिबाट भएको पाइएको छ।

विशेषज्ञहरूले किशोर-किशोरीलाई उमेरअनुकूल यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिनुका साथै संयुक्त राष्ट्रसंघको सुझाव अनुसार यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। अध्ययनले विशेष गरी विपन्न तथा दलित समुदायका युवा-युवतीहरू भावनात्मक रूपमा कमजोर हुँदा यौनजन्य हिंसा तथा शोषणको बढी सिकार हुने गरेको देखाएको छ।