08/27/2026, 17:06:35
बिहिबार, भदौ ११, २०८३

बाढी प्रभावितको उद्धार र राहतका लागि स्रोत-साधनको कमी हुन दिइने छैन : अर्थमन्त्री डा. वाग्ले


काठमाडौँ, भदौ ११ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीप्रभावितको उद्धार र राहतका लागि तत्काल आवश्यक पर्ने स्रोत तथा साधनमा कुनै कमी हुन नदिने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिले प्राथमिकताका साथ अलपत्र परेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको उद्धार भइरहेको जानकारी दिनुभयो।

अर्थमन्त्री वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने अर्थ मन्त्रालयले गृह मन्त्रालयका लागि एक अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिसकेको छ। बाढीका कारण २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको बताउँदै उहाँले राहत र उद्धार कार्य सकिएपछि २०७२ सालको भूकम्पपछिको जस्तै पुनर्निर्माणको महाअभियान सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।

दीर्घकालीन पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार लागिपरेको बताउँदै उहाँले विश्व बैंकबाट करिब २५ अर्ब रुपैयाँ बराबरको सहायता जुटाइएको जानकारी दिनुभयो। साथै चीन, भारत, जापान सरकारका साथै एसियाली विकास बैंक (ADB) र रेडक्रसबाट समेत तुरुन्तै सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएकोले सरकार पूर्ण आत्मविश्वासका साथ उद्धार र पुनर्निर्माणमा जुटेको उहाँले स्पष्ट पार्नुभयो।