08/28/2026, 09:01:17
शुक्रबार, भदौ १२, २०८३

बाढीपछि सर्वदलीय एकता : विपत् व्यवस्थापनमा १० बुँदे संयुक्त अपिल


काठमाडौँ, भदौ १२ गते । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी लगायत नदीहरूमा आएको बाढीले सङ्कट निम्त्याएपछि सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रतिपक्ष दलहरू एक ठाउँमा आएका छन् ।

रास्वपाका सभापति रवि लामिछानेले सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठकमा आठ दल सहभागी भई विपत् व्यवस्थापनका लागि १० बुँदे संयुक्त अपिल जारी गरेका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सङ्कटको घडीमा वैचारिक मतभेद छाडेर उद्धार, राहत र पुनर्निर्माणमा राज्य, दल तथा नागरिक सबै एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो ।

विपत् व्यवस्थापनमा हुने आर्थिक सङ्कलनलाई पारदर्शी र व्यवस्थित बनाउन एकद्वार प्रणाली अपनाइने संयुक्त अपिलमा उल्लेख छ । स्वदेश तथा विदेशमा रहेका नागरिक र शुभचिन्तकहरूलाई सरकारको आधिकारिक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा तोकिएको खातामा मात्र सहयोग जम्मा गर्न आह्वान गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रबाट आधिकारिक सूचना मात्र सम्प्रेषण गर्न, सामाजिक सञ्जाललाई संयमित रूपमा प्रयोग गर्न र तिब्बततर्फका हिमतालको जोखिम आकलनका लागि चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त प्राविधिक अध्ययन संयन्त्र गठन गर्न तथा सीमापार पूर्वसूचना प्रणालीलाई सुदृढ गर्न अपिल गरिएको छ ।

बाढीबाट भत्किएका संरचनाको उन्नत र सुरक्षित पुनर्निर्माणका लागि राष्ट्रिय अभियान अविलम्ब सुरु गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो । विपत्को समयमा कालोबजारी गर्ने वा राहतको दुरूपयोग गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिँदै उहाँले हाल २२ हेलिकप्टरमार्फत प्रभावित नागरिक तथा पर्यटकहरूको उद्धार भइरहेको बताउनुभयो । सरकारले विश्व बैङ्कबाट २५ अर्ब रुपियाँ जतिको आर्थिक सहायता जुटाएको र चीन, भारत, जापान, एसियाली विकास बैङ्क लगायत साझेदारबाट पनि सहयोगको प्रतिबद्धता आएको जानकारी दिँदै पुनर्निर्माण र राहतका लागि उपलब्ध बजेटको प्रभावकारी सदुपयोग गरिने स्पष्ट पार्नुभयो ।