

काठमाडौँ, भदौ ११ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तत्काल आवश्यक पर्ने स्रोतसाधन र आर्थिक व्यवस्थामा कुनै कमी हुन नदिने बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले अहिले सरकारको मुख्य प्राथमिकता उद्धार र राहत रहेको बताउनुभयो।
“अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ। अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटक सबैको उद्धार चलिरहेको छ,” उहाँले भन्नुभयो। मौसमले साथ दिएसम्म उद्धार कार्य जारी रहने उहाँको भनाइ छ।
अर्थमन्त्री वाग्लेका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई अर्ब ३४ करोड रुपैयाँ रहेको छ। गृह मन्त्रालयका लागि अर्थ मन्त्रालयले एक अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिसकेको उहाँले जानकारी दिनुभयो।
तत्कालका लागि साधन, स्रोत तथा आर्थिक आवश्यकतामा कमी हुन नदिई अघि बढ्न मन्त्रिपरिषद्ले आफूलाई जिम्मेवारी दिएको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
पुनर्निर्माणका लागि महाअभियान चलाउने तयारी
उद्धार तथा राहतको काम सम्पन्न भएपछि मात्रै मध्यकालीन र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
प्रभावित क्षेत्रमा पुनर्निर्माणको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले क्षतिको तथ्य तथा तथ्याङ्क प्राप्त भएपछि २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण अभियानजस्तै ठूलो पुनर्निर्माण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सरकारले पुनर्निर्माणका लागि आवश्यक स्रोतसाधन जुटाउन अन्तर्राष्ट्रिय सहयोगका लागि समेत पहल सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो।
विश्व बैंकसँगको सहकार्यबाट करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता जुटाएको उल्लेख गर्दै वाग्लेले चीन, भारत, जापान, एसियाली विकास बैंक तथा इन्टरनेसनल फेडरेसन अफ द रेडक्रसलगायतबाट समेत सहयोगको प्रतिबद्धता प्राप्त भएको बताउनुभयो।
२५ वटा पुल र ७०० मेगावाटको जलविद्युत् आयोजनामा क्षति
अर्थमन्त्री वाग्लेले बाढीका कारण करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी दिनुभयो।
उहाँले पुनर्निर्माणको अभियान सरकारको मात्रै प्रयासबाट सम्भव नहुने बताउँदै समाजका सबै पक्ष, राजनीतिक दल तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
“समाजका सबै पक्ष, दल, निकाय पुनःनिर्माणको अभियानमा लाग्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















