08/28/2026, 08:59:35
शुक्रबार, भदौ १२, २०८३

रसुवागढी ध्वस्त भएपछि चीन व्यापारका लागि कोरला नाका विकल्प, पूर्वाधार भने अभावै अभाव


मुस्ताङ, भदौ १२ गते । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङस्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढी र तातोपानी नाका प्राकृतिक विपत्का कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दै गएको हो।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको टिमुरेस्थित भन्सार क्षेत्र ध्वस्त भएपछि सरकारले रसुवागढीबाट हुने आयात-निर्यातको कारोबार कोरला नाकाबाट गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।

यद्यपि, उच्च हिमाली क्षेत्रमा रहेको यो नाकामा भौतिक पूर्वाधारको चरम अभाव छ। नेचुङ भन्सार कार्यालय हाल एक दशकअघि निर्मित पाँच वटा सामान्य भवन र साँघुरो कोठाबाट सञ्चालन भइरहेको छ। प्रविधियुक्त जाँचका लागि आवश्यक एक्सरे स्क्यानर, विद्युतीय प्रवेश प्रणाली, वाक थ्रु गेट र मालवाहक सवारीसाधन राख्ने यार्ड नहुँदा कागजी प्रणालीमै कामकाज भइरहेको छ। रसुवा र तातोपानी नाका अवरुद्ध भई कोरलामा चाप बढ्ने निश्चित भए पनि न्यून जनशक्ति र अस्थायी संरचनाका भरमा सेवा दिनुपर्ने बाध्यता छ।

नेपाल, चीन र भारत जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीको यो नाका सञ्चालनलाई चुस्त बनाउन छुसाङ–कोरला सडक कालोपत्रे गर्ने, बेनी–जोमसोम–कोरला सडक बाह्रै महिना खुला राख्ने र आवश्यक पूर्वाधार विस्तार गर्नुपर्ने देखिन्छ। गत आवमा ६ अर्ब ९१ करोड राजस्व सङ्कलन गरेको यो नाकाबाट चालु आवमा ९ अर्ब राजस्वको लक्ष्य राखिएको छ। नाकाको महत्त्व बढेकाले सरकारले तत्काल पूर्वाधार र जनशक्ति थप्नुपर्ने स्थानीय जनप्रतिनिधि तथा भन्सार अधिकारीहरूको भनाइ छ।