08/27/2026, 16:52:08
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढीको असर

कैलालीका ४० जना नागरिक अझै सम्पर्कविहीन, खोजी तथा उद्धार जारी


कैलाली, भदौ ११ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि काम, व्यवसाय तथा अन्य सिलसिलामा त्यहाँ पुगेका कैलालीका ४० जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार प्रारम्भिक विवरणको आधारमा बेपत्ता नागरिकहरूको परिवार तथा आफन्तसँग अझै सम्पर्क हुन नसकेको हो।

बुधबार बिहान भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवासहित नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको छ भने सयौँ मानिसहरू अझै बेपत्ता छन्। बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

प्रहरीले कैलालीका बेपत्ता व्यक्तिका परिवार र आफन्तबाट प्राप्त सूचनालाई आधार बनाएर विवरण अद्यावधिक गरिरहेको छ। सम्पर्कविहीन भएका नागरिकहरूको यकिन विवरण सङ्कलन गर्दै खोजी कार्यमा सहजीकरण गर्नका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको प्रहरीले जनाएको छ।