08/27/2026, 16:53:41
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढीको प्रभाव

सुदूरपश्चिमका ८५ जना बेपत्ता, सुदूरपश्चिम विश्वविद्यालयका परीक्षाहरू स्थगित


महेन्द्रनगर, भदौ ११ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिले सुदूरपश्चिम प्रदेशमा गम्भीर असर पारेको छ। बाढीका कारण हालसम्म सुदूरपश्चिमका ८५ जना नागरिक सम्पर्कविहीन अवस्थामा रहेका छन्। बाढीपछिको संकटपूर्ण अवस्था र देशभर उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले आवश्यक सतर्कता र निर्णयहरू लिन थालेका छन्।

यसैबीच, कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्न लागेको पुनः प्रवेश परीक्षा र छात्रवृत्ति परीक्षा स्थगित गरेको छ। विश्वविद्यालयका उपकुलपति किशनदत्त भट्टले भोटेकोशीको बाढी र त्यसपछिको विषम परिस्थितिलाई मध्यनजर गर्दै पूर्विनिर्धारित परीक्षाहरू तत्कालका लागि स्थगित गरिएको जानकारी दिनुभएको छ।

स्थगित गरिएका पुनः प्रवेश परीक्षा तथा छात्रवृत्तिसम्बन्धी परीक्षाहरूको नयाँ तालिका अर्को सूचना प्रकाशित गरी जानकारी गराइने उपकुलपति भट्टले स्पष्ट पार्नुभएको छ। बाढीका कारण धेरै क्षेत्र प्रभावित भएकाले परीक्षार्थीहरूको सहजताका लागि विश्वविद्यालयले यो निर्णय लिएको हो।